शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

फूल खेतीमा बढेको आकर्षण

images
बिजनेस न्युज
images
images
फूल खेतीमा बढेको आकर्षण

अजय यादव र सागर कार्कीले संयुक्तरूपमा एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएर २१ कठ्ठा जग्गामा फूलखेती गरेका छन्। अहिले उनीहरूको बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन्।

images
images

चितवन- जिल्लामा पछिल्लो समय पुष्प व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ। यो व्यवसायमा यहाँका युवा आकर्षित भएका छन्। भरतपुर महानगरपालिका-७ मा दुई युवा मिलेर जग्गा भाडामा लिई पुष्प व्यवसाय गर्दै आएका छन्।

images
images
images

अजय यादव र सागर कार्कीले संयुक्तरूपमा एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएर २१ कठ्ठा जग्गामा फूलखेती गरेका छन्। अहिले उनीहरूको बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन्। कृषि अध्ययन गरेका यादव र इञ्जीनियरीङ पढेका कार्की विगत चार वर्षदेखि पुष्पखेतीमा लागेका हुन्। सुरुआती वर्ष प्रयोगका लागि १०० वटा बिरुवा रोपेर व्यवसाय सुरु गरेका यादव र कार्की अहिले एक बिघाभन्दा बढी क्षेत्रफलमा पुष्पखेती गर्दै आएका छन्।

images

भाडामा लिएको जग्गामध्ये २१ कठ्ठामा उनीहरूले व्यावसायिकरूपमा सयपत्री पुष्प व्यवसाय गरेका छन् भने अन्यमा नर्सरी र अध्ययनका लागि काम गरिरहेका छन्। यादवका अनुसार माली दाइ एग्रो इनोभेशन प्रालि नाम दिएर उनीहरूले कुन मौसममा सयपत्री फूललाई कसरी लगाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेका छन्। यादवले भने, 'व्यावसायिकरूपमा खेती गर्दा अध्ययन आवश्यक भएकाले अध्ययनको काम पनि सँगै अघि लगिएको छ।'

images

अध्ययन गर्ने क्रममा करोडौँको फूल नेपाल भित्रने भन्ने सुनेपछि आफूहरूले त्यसको बजार प्रतिस्थापनका लागि यो व्यवसाय अँगालेको उनले बताए। उनले सम्झिए, 'एक सय बिरुवाबाट सुरुआतीमा १० हजार रुपैयाँ नाफा भएको थियो। त्यसैको प्रेरणाले अहिले व्यावसायिकरूपमा गरियो।' उनीहरूले दोस्रो वर्ष तीन कठ्ठा जग्गामा र तेस्रो वर्ष छ कठ्ठा जग्गामा पुष्प व्यवसाय गरे। दोस्रो वर्षमा एक लाख र तेस्रो वर्षमा दुई लाख रुपैयाँ नाफा भएपछि उनीहरूलाई यो व्यवसाय गर्न प्रोत्साहन मिलेको यादवले बताए।

images
images

कार्कीका अनुसार सयपत्री फूलमा  अहिलेको चार महिनामात्रै व्यापार हुने गरेको छ। यसलाई १२ महिना नै व्यवसाय कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको छ। यस कम्पनीले अहिले १० हजार मालाको व्यापार गर्ने लक्ष्य लिएको उनीले जानकारी दिए। यहाँबाट फूलका बिरुवासमेत बिक्री वितरण गरिएको थियो। पुष्प व्यवसायमा शीतभण्डार नहुँदा यसलाई लामो समयसम्म राख्न नसक्नु मुख्य समस्याका रूपमा रहेको व्यवसायीले बताएका छन्।

फ्लोरिकल्चार एशोसिएशन नेपाल चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठ अहिले यो व्यवसायमा युवापुस्ताको आकर्षण बढेको बताउँछन्। विगत आठ वर्षदेखि उज्ज्वल नर्सरीको नाममा पुष्प व्यवसाय गर्दै आएका श्रेष्ठले अहिले तीन बिघा क्षेत्रफलमा फूलखेती गरेका छन्। उनले भने, 'अहिले व्यावसायिकरूपमा भन्दा पनि मौषमीरूपमा यो खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ।' अहिले आफ्नो थोरै बारीमा समेत तिहारलक्षित गर्दै पुष्पखेती गर्नेहरूको सङ्ख्या बढेको भन्दै उनले यो व्यवसायमा युवापुस्ता अघि सरेको बताए। उनले भने, 'चार दिनका लागि फूल लगाउने धेरै भए। अब यसलाई निरन्तरता दिनसके हुन्थ्यो।'

एशोसिएशनका अध्यक्ष अमर घलेले तिहारलाई लक्ष्य गर्दै जिल्लामा अहिले ४० बिघा क्षेत्रफलमा पुष्पखेती भइरहेको बताए। यसमा अहिले नियमित यही व्यवसायमा लागेका भन्दा आंशिकरूपमा खेती गर्ने बढेको उनले बताए। उनले भने, 'लामो समयदेखि व्यावसायिकरूपमा गर्ने ५५ जना कृषक हुनुहुन्छ। अरु सबै आंशिकरूपमा हो।'

गत वर्षभन्दा अहिले फूलखेतीको क्षेत्रफल र खेती गर्नेको सङ्ख्या पनि बढेको उनको भनाइ छ। खेती गर्ने अधिकांश युवा रहेका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले पनि समूह बनाएर तिहारलक्षित फूलखेती गर्दै आएका छन्। जिल्लामा अहिले १० लाख बिरुवा लगाइएको भन्दै उनले भने, 'हामीले चितवनको बजारमा अहिले दुई लाख माला पुर्‍याउने लक्ष्य लिएका छौँ।' यहाँ पाँच लाख माला खपत हुने उनको अनुमान छ। जसमध्ये एक लाख ५० हजार माला भारतबाट आयात हुने उनले जानकारी दिए। अन्य छिमेकी जिल्लाबाट आउने उनले बताए।

आंशिकरूपमा व्यवसाय गर्नेका कारण बजार मूल्यमा एकरुपता नआउने डर बढेको उनको भनाइ छ। अहिले बजारमा मालाको मूल्य ८० र एक किलो फूलको २५० रुपैयाँभन्दा माथि नजाने उनले जानकारी दिए। अहिले व्यावसायिकरूपमा खेती गरेका व्यवसायीले बिक्री वितरणका लागि आफ्नै स्टल खोलेर बिक्री वितरण गर्ने योजनामा रहेका छन्। यहाँको फूलको बजार चितवन, काठमाडौँ, पोखरालगायतका ठूला सहर छन्। रासस

images

प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८०६:०२
प्रतिक्रिया दिनुहोस