बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

निगम नेतृत्वले बिर्सियो मलेसिया उडानको अनुमति, चार्टर्ड उडानमार्फत कमाउने दाउ

सोमबार, चैत १३ २०७९
निगम नेतृत्वले बिर्सियो मलेसिया उडानको अनुमति, चार्टर्ड उडानमार्फत कमाउने दाउ

काठमाडौं- नेपाल वायुसेवा निगमले मलेसियामा समर सिजनको लागि उडान अनुमति नै नलिएको खुलेको छ। मलेसियाको क्वालालम्पुर विमानस्थलसँग प्रत्येक वर्षको दुई पटक समर र विन्टर सिजनको सेडुअल अनुमति लिनुपर्ने हुन्छ। तर निगम नेतृत्वले अप्रिल १ देखि उडानका लागि लिनुपर्ने अनुमति नै नलिएको हो। 

नियमित उडानको अनुमति नलिइ निगमले चार्टर्ड उडानको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको पाइएको छ। एक महिनाअगाडि नै उडान स्वीकृत गराएर टिकट काट्नु पर्नेमा निगमले उडानका लागि तीनदिन बाँकी हुँदा बल्ल सेडुअलको अनुमतिका लागि मलेसियामा पत्र पठाएको पाइएको छ। उता अुनमति आउन ढिला हुने भएपछि यता चार्टर्ड उडान गर्न खोजेको खुलेको छ। 

मलेसियामा नियमित उडान छाडेर चार्टर्ड उडान गर्ने तयारी गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पाष्टीकरण सोधेको छ।

निगम नेतृत्वले कमिसन खान र यात्रुसँग बढी रकम असुल्ने गरी नियमित उडान छाडेर चार्टर्ड उडानको अनुमति माग गरेको हो। सोही विषयमा प्राधिकरणले निगम नेतृत्वलाई स्पाष्टीकरण सोधेको हो।

निगमले हाल दैनिक रुपमा मलेसिया उडान गर्दै आएको छ। वैदेशिक रोजगारीमा जानेहरू बढिरहेका बेला यात्रुसँग भाडा बढी असुल्ने नियतले निगमले चार्टर्ड उडान गर्न खोजेको बुझिएको छ। 

निगमले अहिले पनि यात्रुसँग मलेसिया एकतर्फी उडानको ३५ हजार रुपैयाँ भाडा लिँदै आएको छ। चार्टर्ड उडान गर्न पाएमा दोबर असुल्ने गरी निगमले प्रक्रिया अगाडि बढाएपछि प्राधिकरणले स्पष्टीकरण मागेको हो। 

हाल नेपालबाट सबैभन्दा बढी कामदार मलेसियामा नै वैदेशिक रोजगारीमा जाने गरेका छन्। वैदेशिक रोजगार विभागका अनुसार, गत माघमा ६४ हजार २ सय ८४ जना नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्। जसमा ५८ हजार ४ सय ४७ पुरुष र ५ हजार ८ सय ३७ जना महिला रहेका छन्। यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो।

यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार १ सय २४ जना रहेको छ। जसमा ४ हजार २ सय ६६ जना महिला र ३४ हजार ८ सय ५८ जना पुरुष रहेको विभागले जनाएको छ। जसमा सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १९ हजार ७ सय ८३ जना रहेको छ।

निगमले मलेसियाको नियमित उडान छाडेर चार्टर्ड उडान गर्न खोजेपछि प्राधिकरणले माग्यो स्पष्टीकरण निगमले मलेसियाको नियमित उडान छाडेर चार्टर्ड उडान गर्न खोजेपछि प्राधिकरणले माग्यो स्पष्टीकरण


प्रकाशित : सोमबार, चैत १३ २०७९०८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend