मंगलबार, असोज १ गते २०८१    
images
images

वर्षाले पर्यावरण र किसानलाई राहत

images
मंगलबार, चैत ७ २०७९
images
images
वर्षाले पर्यावरण र किसानलाई राहत

यो सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आउने सिजन पनि हो। यही समय सर्वाधिक सङ्ख्यामा स्वदेशी तथा विदेशी आरोही आरोहणमा जाने गर्छन्। 

images
images

काठमाडौं- लामो समयपछिको वर्षाले पर्यावरण र किसानलाई राहत मिलेको छ। वर्षापछि हिमपात हुँदा हिमाल हिउँले भरिएका छन् भने सुक्खापनले खङ्ग्रिएका डाँडामा हरियाली देखिन थालेको छ। 

images
images
images

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले लामो समयको खडेरीपछिको वर्षाले वातावरण सफा हुनका साथै किसानलाई ठूलो राहत मिलेको बताइन्। 

'पाँच महिनापछि फागुनको अन्तिममा भएको हिउँदे वर्षाले केही पर्यावरण राम्रो भएको छ भने किसानलाई ठूलो राहत भएको छ', उनले भनिन्, 'अहिले हिउँदे वर्षा सकिएर प्रि-मनसुन सुरु भइसकेको छ।' वर्षका कारण सहरी क्षेत्रमा बढेको प्रदूषण न्यूनिकरणमा पनि ठूलो सहयोग पुगेको छ। 

चैतको पहिलो साता भएको वर्षाबाट खासगरी मकै, चैतेधान र हिमाली क्षेत्रमा आलुलगायत बालीनाली लगाउन लागि किसानलाई सहज भएको उनको भनाइ छ। 

images

'कात्तिकदेखि फागुनसम्म वर्षा नहुँदा सुक्खापन र खडेरी बढेको थियो। खडेरीपछिको वर्षाले किसान खुसी भएका छन्। वातावरण सफा भएको छ', वरिष्ठ मौसमविद् कँडेलले भनिन्। 
    
वातावरणविद् भुषण तुलाधरले वर्षाले वातावरणलाई स्वच्छ र सफा बनाएको बताए। 'वर्षाले पर्यावरणमा सकारात्मक प्रभाव पार्छ, वातावरण सफा बनाउनुका साथै जलवायु परिवर्तनलाई कम गराउँछ',  उनले भने, 'साधारणतया यो सिजनमा प्रदूषण बढी हुन्छ। लामो समयदेखि वर्षा नभइरहेको अवस्थामा भएको वर्षाले वायु प्रदूषण नियन्त्रणमा सहयोग पुग्नुका साथै कृषि क्षेत्रलाई ठूलो राहत मिलेको छ।'
 
मार्च, अप्रिल र मेमा हुने वर्षालाई प्रिमनसुन मानिन्छ। यो सिजनमा बिहान र दिउँसो मौसम सामान्यतया सफा रहेपनि अपरान्ह्पछि मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए।

'वर्षाले वातावरण सफा भएको छ, प्रदूषण कम हुनका साथै किसानलाई पनि राहत भएको देखिन्छ। हिमाली भूभागमा हिमपात भइरहेकाले पनि मौसम सफाल भएको छ', उनले भने। 

यो सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आउने सिजन पनि हो। यही समय सर्वाधिक सङ्ख्यामा स्वदेशी तथा विदेशी आरोही आरोहणमा जाने गर्छन्। 

पछिल्ला दिनमा भइरहेको वर्षाका कारण देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ। हिमपातका कारण कालापत्थर जस्तै देखिन थालेका हिमाल सेताम्मे भएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका वर्षाका कारण पूर्वदेखि पश्चिमसम्मको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भएको छ। गए राति भएको वर्षासँगै ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ। 

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा आज पनि सामान्य हिमपात भएको छ। तीन हजार सात सय ९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको तल्लो फेदी काफ्ले पाटीसम्मै हिउँ परेको उनले जानकारी दिए। उच्च हिमाली क्षेत्रमा निकै बाक्लो हिउँ परेको छ। हिउँ परेसँगै यहाँ पर्यटकको सङ्ख्या पनि बढेको छ। 

यस्तै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा एक फिट बढीसम्म हिउँ परेको स्थानीयको भनाइ छ। 

अनुकूल मौसमले देशका पर्यटकीय गन्तव्यमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता मिलेको छ। पर्यटन विभागका अनुसार वसन्त ऋतुमा हिमाल आरोहणका लागि यतिखेर विभिन्न मुलुकका आरोहीले धमाधम आरोहण अनुमति लिइरहेका छन्।

बुधबारदेखि मौसम सुधार
 
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ। जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् लामिछानेका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। 

देशका पहाडी भूभाग र तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाकोे सम्भावना छ। भोलिदेखि क्रमिक रुपमा मौसम सुधार हुनेछ भने क्षणिक बदली र वर्षा भए पनि निरन्तर मौसम प्रतिकुल भने हुने छैन। 

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना छ। रासस


प्रकाशित : मंगलबार, चैत ७ २०७९०८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend