बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

अमेरिकाले दियो कोभिडविरुद्धको एक लाख खोप

सोमबार, कात्तिक ८ २०७८
अमेरिकाले दियो कोभिडविरुद्धको एक लाख खोप

अनुदान सहायतास्वरुप युनिसेफमार्फत् खरिद गरी टेकूस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा सो खोप लगाउनु अघिसम्म भण्डारण गरिनेछ।

काठमाडौं- अमेरिकाले नेपाललाई १ लाख ६ सय २० मात्राको कोभिडविरुद्धको फाइजर खोप सहयोग गरेको छ। 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालका निर्देशक सेपिडे केभान्सशाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई खोप हस्तान्तरण गरेका हुन्।

अनुदान सहायतास्वरुप युनिसेफमार्फत् खरिद गरी टेकूस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा सो खोप लगाउनु अघिसम्म भण्डारण गरिनेछ।

कार्यक्रममा बोल्दै निर्देशक केभान्शाडले कोभिड महामारीको समयमा नेपालप्रतिको हाम्रो सहयोगलाई निरन्तरता दिने कार्यक्रम अनुसार १ लाख भन्दा बढी कोभिडविरुद्धको फाइजर खोप नेपाललाई सहयोग गर्न पाउँदा अमेरिकालाई खुशी लागेको बताए।

उनले यो खोपलाई भण्डारण तथा वितरण गर्नका लागि उचित संरचना समेत सुनिश्चत गर्दै नेपाललाई थप सहयोग गर्न पाएकोमा गर्व लागेको बताए। निर्देशक केभान्शाडले अमेरिकाले यस अघि नेपाललाई असारमा एक मात्रा मात्र लगाए पुग्ने १५ लाख ३० हजार मात्राको जोन्सन एण्ड जोन्सन खोप पनि अनुदान स्वरुप उपलब्ध गराइएको स्मरण गराए। त्यसैगरी अमेरिकाले करिव १२ करोड २० लाख डलरभन्दा बढिको स्वास्थ्य सुरक्षा सामग्री नेपाललाई उपलब्ध गराइसकिएको पनि कार्यक्रममा जानकारी गराइएको छ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पोखरेलले अमेरिकाले एक लाखभन्दा बढि मात्राको कोभिडविरुद्धको फाइजर खोप उपलब्ध गराएकोमा आभार व्यक्त गरे।

अमेरिका कोभिड महामारीको अन्त्य गर्ने र सुरक्षित विश्वको निर्माण गर्ने कार्यमा नेपालसँग सहकार्य गर्न पाउँदा खुशी भएको पनि यूएसएआईडीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ।


प्रकाशित : सोमबार, कात्तिक ८ २०७८०६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend