सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

खाद्यान्न बालीमा नोक्सान व्यहोरेका परिवारलाई २० हजार नगर सहायता

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ३ २०७८
खाद्यान्न बालीमा नोक्सान व्यहोरेका परिवारलाई २० हजार नगर सहायता

पीडित परिवारलाई प्रतिव्यक्ति ५ जनासम्म सदस्य भएका परिवारमा १५ हजार रुपैयाँ र ५ जना भन्दा बढी सदस्य भएको परिवारमा २० हजार रुपैयाँ तत्काल नगदसहायता उपलब्ध गराउने निर्णय भएको छ।

काठमाडौं- बेमौसमी वर्षाका कारण खाद्यान्न बालीमा नोक्सान व्यहोरेका किसानलाई सरकारले २० हजार रुपैयाँसम्म नगद सहायता तत्काल दिने निर्णय गरेको छ। 

घर बहाल, आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमीन तथा व्यवसाय समेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्न समेत नभएका वा दुवै नभएका पीडित परिवारलाई प्रतिव्यक्ति ५ जनासम्म सदस्य भएका परिवारमा १५ हजार रुपैयाँ र ५ जना भन्दा बढी सदस्य भएको परिवारमा २० हजार रुपैयाँ तत्काल नगदसहायता उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। 

यस्तै बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई सरकारले प्रतिपरिवार दुई लाख रुपैयाँ राहत दिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले राहत घोषणा गरेको हो।

पछिल्‍लो विवरणअनुसार बाढी पहिरोबाट विभिन्न १९ जिल्लामा ५२ जनाको मृत्यु भएको छ। ३० जनाभन्दा बढी हराइरहेका छन्।

परिवारको एक जनाको मात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार दुई लाख रुपैयाँ र एक जनाभन्दा धेरै मृत्यु भएको अवस्थामा प्रतिव्यक्ति थप एक लाख रुपैयाँका दरले राहत दिने निर्णय भएको हो। 

यस्तै घाइतेको उपचार पनि निःशुल्क गर्ने सरकारले निर्णय गरेको छ।

यसअघि बुधबार नै प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले अस्थायी सेल्टर निर्माणका लागि तत्काल ५० हजार रुपैयाँ दिने विगतको कार्यविधिअनुसार काम अघि बढाइएको जनाएको छ।


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८१२:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend