सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भारतमा उत्पादन हुने १० सुरक्षित कार जो नेपाल आउँछन्

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २ २०७८
भारतमा उत्पादन हुने १० सुरक्षित कार जो नेपाल आउँछन्

ग्लोबल एनक्यापले २०१४ देखि हालसम्म भारतीय कारलाई विभिन्न ४५ सुरक्षा सूचकलाई आधारमा मानेर परीक्षण गर्दै आइरहेको छ। टाटा मोटर्सको आउँदै गरेको पन्च एसयूभीले समेत फाइभ स्टार पाएको छ। 

काठमाडौं- सुरक्षित सवारीसाधन सबैको चाहना हो। कार उत्पादक कम्पनीहरु पछिल्लो समय सुरक्षा विशेषतालाई उच्च प्राथमिकता दिँदै आएका छन्। विगतमा युरोपेली, जापानी तथा अमेरिकी कार बढी सुरक्षित मानिन्थ्यो। 

तर अब भने भारतीय कारहरु समेत युरोपेली, जापानी र अमेरिकी कारसँग सुरक्षा विशेषतामा समेत प्रतिस्पर्धी भइसकेका छन्।

विश्वभर कारको सुरक्षा मापन ‘ग्लोबल एनक्याप’ले गर्दै आएको छ। ग्लोबल एनक्यापले सार्वजनिक गरेको पछिल्लो सूची अनुसार भारतीय कम्पनीले उत्पादन गरेका १० सुरक्षित कारबारे हिस्दूस्तान टाइम्सले लेखेको छ। 

ग्लोबल एनक्यापले २०१४ देखि हालसम्म भारतीय कारलाई विभिन्न ४५ सुरक्षा सूचकलाई आधारमा मानेर परीक्षण गर्दै आइरहेको छ। टाटा मोटर्सको आउँदै गरेको पन्च एसयूभीले समेत फाइभ स्टार पाएको छ। 

ग्लोबल एनक्यापको पछिल्लो सूचीअनुसार भारतीय कार उत्पादन टाटा र महिन्द्राका कारको बाहुल्यता रहेको छ। १० सुरक्षित कारको सूचीमा ६ वटा टाटाका कार, २ वटा महिन्द्राका र फक्सवागन र रेनोका १/१ वटा कार रहेका छन्। 

टाटा पन्च

ग्लोबल एनक्यापमा फाइभ स्टार पाउने टाटा मोटर्सको यो तेस्रो कार हो। टाटा पन्च भारतीय बजारमा सार्वजनिक भएको छ भने बिक्रीका लागि केही दिनपछि बजारमा आउने छ। 

टाटा पन्च एसयूभीले ग्लोबल एनक्याप सेफ्टी रेटिङमा फाइभ स्टार (१६.४५२) पाएका छ। त्यस्तै बालबालिकाको सुरक्षामा भने यो कारले फोर स्टार (४०.८९१) पाएको छ। टाटाको अल्ट्रोजले २०२० जनवरीमा र नेक्सनले २०१८ डिसेम्बरमा ग्लोबल एनक्यापबाट फाइभ स्टार पाएको थियो। 

टाटा पन्च नेपाली बजारमा समेत आउने अनुमान गरिएको छ। टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो कार अबको केही समयपछि नेपाल ल्याउने जनाएको छ। 

महिन्द्रा एक्सयूभी३००

महिन्द्राले उत्पादन गरेको एक्सयूभी३०० ले समेत ग्लोबल एनक्याप फाइभ स्टार पाएको छ। यो कारले पहिलो पटक ‘सेफर चोइस’ पाएको छ। बलबालिकाको सुरक्षामा भने यो कारले पनि फोर स्टार नै पाएको छ। महिन्द्राको यो कार नेपालमा पनि बिक्री हुँदै आएको छ। 

टाटा अल्ट्रोज 

टाटा मोटर्सले उत्पादन गरेको अल्ट्रोज प्रिमियम ह्याचब्याक कार हो। ग्लोबल एनक्यापमा फाइभ स्टार पाएको यो कारले बालबालिकाको सुरक्षामा भने थ्रीस्टार मात्र पाएको छ। सिप्रदीले अल्ट्रोज पनि बिक्री गर्दै आएको छ। 

टाटा नेक्सन

टाटा मोटर्सले उत्पादन गरेको कम्प्याक्ट एसयूभी नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार पाउने टाटाको अर्को कार हो। बालबालिकाको सुरक्षामा भने यो कारले थ्री स्टार रेटिङ पाएको हो। टाटा नेक्सन नेपाली बजारमा कम्प्याक्ट एसयूभी सेगमेन्टमा उल्लेख्य बिक्री भइरहेको छ। 

महिन्द्रा थार

महिन्द्राको अफ रोड एसयूभी थार समेत ग्लोबल एनक्याप सेफ्टी रेटिङमा फाइभ स्टार पाएको छ। यो कार एडल्ट र चाइल्ड दुबैमा फोर स्टार पाएकाले फाइभ स्टारमा सूचीकृत भएको हो। यो कार फाइभ स्टार पाउने पहिलो भारतीय अफ रोड कार हो।

टाटा टिगोर इभी

टिगोर इभी भारतबाट ग्लोबल एनक्यापमा सेफ्टी रेटिङमा सहभागी हुने पहिलो विद्युतीय कार हो। यो कारले पनि एडल्ट र चाइल्ड सेफ्टीमा फोर स्टार पाएको हो। 

टाटा टिगोर 

टाटाले उत्पादन गरेको कम्बस्चन इन्जिन युक्त टिगोरले ग्लोबल एनक्यापमा फोर स्टार पाएको छ। चाइल्ड सेफ्टीमा भने यो कारले थ्री स्टार रेटिङ पाएको हो। 

टाटा टियागो

यो टाटाको अर्को चर्चित ह्याचब्याक कार हो। यो कारले पनि टिगोरले समान ग्लोबल एनक्याप रेटिङ पाएको छ। टिगोरले एडल्टमा फोर स्टार र चाइल्डमा थ्री स्टार रेटिङ पाएको छ। 

फक्सवागन पोलो

जर्मन कार उत्पादक फक्सवागनको भारतमा उत्पादित पोलो ह्याचब्याक कारले पनि फोर स्टार रेटिङ पाएको छ। यो कारले पनि एडल्टमा फोर स्टार र चाइल्डम थ्री स्टार ग्लोबल एनक्याप रेटिङ पाएको छ। 

रेनो ट्राइबर एमपीभी

रेनोले भारतमा बनाएको ट्राइबर एमपीभीले पनि सेफ्टी रेटिङमा फोर स्टार पाएको छ। ग्लोबल एनक्यापले गरेको रेटिङमा यो कारले एडल्टमा फोर स्टार र चाइल्डमा थ्री स्टार पाएको हो।


प्रकाशित : मंगलबार, कात्तिक २ २०७८०४:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend