बैंक अफ काठमाडौं र ग्लोबल आईएमई बैंकको मर्जर सम्पन्न भएसँगै अधिकांश वित्तीय सूचकहरुमा ग्लोबल आइएमई बैंक नेपालको नम्बर एक बैंक बनेको छ। हुन त यसअघि पनि हामी धेरै सूचकमा नम्बर एक नै थियौं तर आजको मर्जरपछि झनै माथि उक्लिन सफल भएका छौं। यो मर्जरसमेत गरेर हालसम्म ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनीसहित कूल २१ वटा वित्तीय संस्थाहरु एउटै संस्थाका रुपमा एकीकृत भएका छन्।
नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि त्यसलाई पछ्याउँदै अघि बढेका हामी सरकारको यो नीतिलाई कार्यान्वयनमा ल्याउने लिडर पनि हामी नै हौँ । हामी दुई प्लस दुई बराबर चार हैन पाँचको लक्ष्यसहित मर्जरमा गएकै कारणले सफल मात्र भएका छैनौँ सरकारको यो नीतिको कार्यान्वयनबाट देशका अरु बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जरमा जानको लागि उत्साहित समेत गरेका छौँ।
अर्को पक्ष के पनि छ भने सेयरधनीदेखि निक्षेपकर्ता, ग्राहक सबैले हाम्रो मर्जर अभियानलाई सफल बनाउन ठूलो सहयोग र कतिपय अवस्थामा त्याग पनि गर्नुभएको छ। आजको यस महत्वपूर्ण दिनमा म ग्लोबल आइएमई बैंकका संस्थापक सेयरधनीज्यूहरुदेखि अन्य सहयात्री बैंकका संस्थापक, साझेदार र सबै सहयोगी मित्रहरूलाई सम्मान र नमन गर्छु।
ग्लोबल आईएमई बैंक कुल पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जालगायत धेरै आधारमा देशकै सबैभन्दा ठूलो बैंक भएको छ। आकार या अंकमा ठूलो हुनुमात्रै पनि सफलता होइन। आकारको यो वृद्धिले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकोस् भन्ने हाम्रो सोच हो। सबैका लागि बैंक भन्ने मूल मन्त्रका साथ मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानोदेखि ठूलासम्म, वित्तीय सेवा पुर्याउने बैंकका रुपमा अघि बढिरहेको ग्लोबल आईएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य हामीले लिएका छौं।
अब म मर्जर पछि ग्लोबल आइएमई बैंकको व्यवसायको आकार यस्तो हुनेछ
– कुल पुँजी कोष ५७ अर्ब
– कुल निक्षेप ४ खर्ब १० अर्ब
– कुल कर्जा ४ खर्ब
– कुल सम्पत्ति ५ खर्ब
– शाखा सञ्जाल १,१००
– सेवा पुगेको जिल्ला ७७
– ३ वटा वैदेशिक सम्पर्क कार्यालय
– ४० लाख भन्दा बढी ग्राहक संख्या
– ४ हजारभन्दा बढी कर्मचारीहरू
– नेपाल राष्ट्र बैंकबाट लेटर अफ इन्टेन्ट लिएर दक्षिण कोरियामा नेपाली बैंकको पहिलो बैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा हामी रहेका छौं ।
आजको यो सफल मर्जर पश्चात मुलुकको वित्तीय क्षेत्रको कुल बजार हिस्सा नै करिव १० प्रतिशत ओगट्ने आकारमा ग्लोबल आइएमई बैंक पुग्ने देखिएको छ । एक दशक अघिसम्म कसैले पनि यो आकारको बैंकको कल्पना पनि गरिएको थिएनन् । आज ग्लोबल आईएमई बैंकको अगुवाइमा नेपालमै पनि अर्थतन्त्रको आकारको तुलनामा ठूलो बैंकको परिकल्पना साकार भएको छ।
मुलुककै पहिलो हुनु अर्थात् ठूलो हुनुका पछाडि अवसरमात्र छन् भन्ने मलाई लाग्दैन। योससँग कैयौँ चुनौती जोडिएका हुन्छन्। त्यसैले ठूलो बैंक हुनुमा पनि अवसर र चुनौती दुवै छन्। जोखिम र व्यवस्थापकीय समस्या पनि छन् । तर, हामी चुनौतीको पहिचान गरेर त्यसैबाट अवसर सिर्जना गर्नेमा केन्द्रित छौँ।
पटकपटक मर्जरको अनुभव हासिल गरिसकेकाले चुनौतीलाई कुशलतापूर्वक व्यवस्थापन गरी ग्लोबल आइएमई बैंकलाई सबल संस्थाका रुपमा विकास गर्न हामी फेरि पनि सक्षम हुनेछौं भन्ने पूर्ण विश्वास छ ।
देशको अर्थतन्त्रको आकार ठूलो भैरहेको अवस्थामा विभिन्न बैंकहरु एक आपसमा मर्ज भई ठूलो हुनु क्षमता अभिवृद्धिको हिसाबले निश्चय पनि राम्रो हो। बैंकहरु ससाना रहँदा आजको आवश्यकतानुसार एउटै परियोजनाका लागि स्रोत जुटाउन पनि बढी संख्यामा बैंकहरुको सहकार्य आवश्यकता पर्ने हुँदा कठिनाई भोग्न बाध्य उद्योग व्यवसायीहरुको लागि पनि यसले राहत दिनेछ ।
निजी क्षेत्रको एउटा सानो प्रयासबाट सुरु भएको हाम्रो आईएमई रेमिट्यान्स, आईएमई फाइनान्स, ग्लोबल बैंक हुँदै अहिले मुलुककै सबैभन्दा ठूलो बैंकको रुपमा ग्लोबल आइएमई बैंकसम्म आइपुगेको छ । यसका लागि म सिंगो आइएमई टिम र ग्लोबल आइएमई बैंक र सहयात्री सबै बैंक तथा वित्तीय संस्थाका संस्थापक धन्यवादका पात्र हुन्।
नेपालको बैंकिङ्ग क्षेत्रमा यो टिमले एउटा नयाँ इतिहास निर्माण गर्न सफल भएकाले सबै बधाईका पात्र हुनुहुन्छ । टिमवर्कमा विश्वास राख्ने मलाई पनि यो सफल यात्राले धेरै उत्साहित बनाएको छ।
खाडीमा रहेका नेपालीले दुःख जिलो गरी कमाएको दुई चार पैसा उनीहरुका घरसम्म पुर्याइदिन हामीले सुरु गरेको यात्रा आज यहाँसम्म आइपुगेको छ। तिनै नेपाली दाजुभाइको रकम इमान्दारिताका साथ घरघरसम्म पुर्याएकाले नै उहाँहरुको आशीर्वादले हामीलाई अघि बढ्न प्रेरणा दिएको हामीले महसुस गरेका छौँ।
कुनै पनि पेशा या व्यवसायको सफलताको शुत्र इमान्दारिता नै हो भन्ने मेरो विश्वास छ । त्यही इमान्दारितामा हाम्रो लगाव र मेहनत मिसाउँदा हामीलाई यो प्रतिफल प्राप्त भएको हो।साथै हाम्रो सेवा र कामप्रतिको आम नेपाली दाजुभाइ दिदी बहिनीहरुको विश्वासले पनि हाम्रो यात्रामा प्रेरणा दिइरहेकै छ । आगामी दिनमा पनि हामी हाम्रो यो इमान्दारिता र मेहनत, अनि नेपाली दाजुभाइ दिदी बहिनीहरुको विश्वासलाई अझ माथि उठाएर काम गर्नेछौँ।
हामीले कुनै पनि व्यवसाय सुरु गर्दा राज्यको प्राथमिकता, आम नागरिकलाई सेवा पुग्ने व्यवसाय र जुन व्यवसाय आर्थिक रुपमा सम्भाव्य छ त्यस्तो व्यवसाय अवलम्बन गर्ने मुख्य तीन प्राथमिकता निर्धारण गरेर गर्ने गरेका छौँ । जस्तो कि हामीले सुरु गरेको आइएमई तत्कालीन समयमा राज्यको आवश्यकता र प्राथमिकतामा थियो भने आम नागरिकले यस्तो सेवा खोजिरहेका थिए। राज्यले औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन चाहेको थियो भने सम्बन्धित व्यक्तिको घरपरिवारसम्म उनीहरुको रकम पु¥याउनु आम वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको आवश्यकता थियो ।
अहिले हामीले लगानी गरिरहेका चन्द्रागिरि केबलकार जस्ता पर्यटन पूर्वाधारहरु सातवटै प्रदेशमा विस्तार गर्ने लक्षसहित अगाडि बढेका छौ । नेपाल सरकारको डिजिटल नेपाल लक्ष्यलाई पूरा गर्ने हिसाबले सूचना प्रविधिको क्षेत्रमा लगानी विस्तार गरेका छौं । हाम्रा सबै व्यवसाय राज्यको प्राथमिकता र आम नागरिकको आवश्यकताका सेवा हुन् । यसरी हामीले निर्माण गरिरहेका भौतिक पूर्वाधार तथा व्यवसायहरु राज्य तथा आम नागरिकका समेत साझा सम्पत्ति हुन सकुन् भनेर हामीले हाम्रा हरेक व्यवसायमा स्थानीय तथा आम नागरिकको साझेदारीको मोडल अघि सारेका छौँ । यो पनि हाम्रो सफलताको एउटा शुत्र हो भन्ने मलाई लाग्दछ ।
नेपाल राष्ट्र बैंकको नियमन र सुपरिवेक्षणमा रहेर हामीले मुलुकको वित्तीय क्षेत्रलाई नयाँ दिशा र गति प्रदान गरिरहेका छौँ भन्ने मलाई लाग्दछ । वित्तीय क्षेत्रलाई सबल र सक्षम बनाउन नेपाल राष्ट्र बैंकले लिने नीतिलाई पहिलो कार्यान्वयनमा ल्याउने बैंक हामी नै हौँ । चाहे क्रस होल्डिङ्गको विषय होस् वा पूँजी बढाउने विषय वा पछिल्लो पटक आएको बिग मर्जरको विषय होस् । यी नीतिलाई सुरुमा हामीले नै कार्यान्वयनमा ल्याएका छौँ ।
(बैंक अफ काठमाडौं र ग्लोबल आईएमई बैंकबीच मर्ज भइ बनेको ग्लोबल आईएमईबैंकको एकीकृत कारोबारको औपचारिक सुरूवात कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिएको मन्तव्य)