सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आन्दोलनले अशान्त वायुसेवा निगम लयमा फर्किँदै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २६ २०७८
आन्दोलनले अशान्त वायुसेवा निगम लयमा फर्किँदै

आन्दोलनका कारण निगमका महाप्रबन्धक पौडेलले १०२ दिनदेखि कार्यालय जान पाएका थिएनन्। कर्मचारीको आन्दोलन स्थगित भएसँगै लामो समयदेखि अस्तव्यस्त बनेको निगमको काम कारबाही सहज हुने महाप्रबन्धक पौडेलको भनाइ छ । 

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा विगत १०४ दिनदेखि भइरहेको आन्दोलन स्थगित भएको छ । आन्दोलनका कारण लामो समयदेखि अशान्त रहेको निगम विस्तारै लयमा फर्किने निगमले अपेक्षा गरेको छ ।

वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि संस्थालाई निजीकरण गर्न लागिएको भन्दै निगमभित्रका ट्रेड युनियनले आन्दोलन गर्दै आएका थिए । गत असार १८ गतेदेखि असोज २५ गते सोमबारसम्म निरन्तर कार्यालय समयमा धर्ना र नारावाजी गर्दै विरोध जनाएका थिए ।

नयाँ सडकस्थित निगमको मुख्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हरेक दिन कर्मचारीले धर्नाको कार्यक्रम गर्ने गरेका थिए । झण्डै तीन महिनापछि विभागीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाएपछि निगमभित्रको समस्या किनारा लाग्ने वातावरण बनेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यही असोज २२ गते पर्यटन मन्त्रीमा प्रेम आलेलाई नियुक्त गरेका थिए। पदबहालीका क्रममा मन्त्री आलेले निगमलाई सुदृढ र प्रभावकारी ढङ्गले अघि बढाउने उद्घोष गरेका थिए। 

सोहीअनुरुप सोमबार मन्त्रालयमा पर्यटनमन्त्री आलेसँग भएको छलफलपछि कर्मचारीले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका थिए । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आफ्ना सबै आन्दोलन स्थगित गरेको मन्त्री आलेलाई जानकारी गराए ।

आन्दोलनका कारण निगमका महाप्रबन्धक पौडेलले १०२ दिनदेखि कार्यालय जान पाएका थिएनन्। कर्मचारीको आन्दोलन स्थगित भएसँगै लामो समयदेखि अस्तव्यस्त बनेको निगमको काम कारबाही सहज हुने महाप्रबन्धक पौडेलको भनाइ छ । 

'विभागीय मन्त्री आएसँगै निगमका कर्मचारीले जिम्मेवारी महसुस गरेर सङ्घर्षका कार्यक्रम स्थगित गरेका छन्, यसले निगमको सकारात्मक सन्देश गएको छ । बाँकी काम कारबाहीलाई प्रभावकारी ढङ्गले अघि बढाउँछौँ' उनले भने। निगमलाई कम्पनी लिमिटेड बनाउने कार्ययोजनाबारे पुनः छलफल गरेर मात्र निर्णय लिइने पनि महाप्रबन्धक पौडेलले बताए।  रासस


प्रकाशित : मंगलबार, असोज २६ २०७८०८:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend