सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पोखरामा च्याङ्ग्राको भाउ बढेपछि खसीबोकाको माग बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २६ २०७८
पोखरामा च्याङ्ग्राको भाउ बढेपछि खसीबोकाको माग बढ्यो

विगतमा दसैँमा च्याङ्ग्रा खानेहरू यस वर्ष खसीबोकाको व्यवस्था गरेका छन् । पोखरा–११ फूलबारीका नवराज पौडेलले यस वर्ष च्याङ्ग्राको मूल्य छोइसक्नु नभएकाले दसैँका लागि स्थानीय खसीको व्यवस्था गरेको बताए। 

कास्की- दसैँ सुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ । पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेम्जाको विभिन्न स्थानमा च्याङ्ग्राको हुल बिक्रीका लागि राखिएको हुन्छ । च्याङ्ग्रा खरिदबिक्रीको मेला लाग्छ।

व्यवसायीले मुस्ताङ, डोल्पा, रोल्पा, बैतडी, बझाङलगायतका जिल्लाबाट दुई–तीन साता लगाएर हिँडाएर च्याङ्ग्रा बिक्री गर्न पोखरा ल्याइ पुर्‍याउँछन् । बजारमा च्याङ्ग्रा देखिन थालेसँगै सर्वसाधारणमा दसैँ आएको छनक आउँछ । हिमाली चिसो मौसममा हुर्केका, जडीबुटी खाएकाले च्याङ्ग्राको मासु दसैँमा उपभोक्ताको विशेष रोजाइमा पर्छ । स्वादिलो हुने भएकाले सकभर दसैँमा धेरैको भान्सामा च्याङ्ग्राको मासु पाक्छ । पोखरालगायत यस क्षेत्रमा बढी रुचाइएको च्याङ्ग्राको भाउ भने यस वर्ष आकाशीएको छ । व्यापारीले रोज्जा च्याङ्ग्राको मूल्य  ५० हजारसम्म बिक्री गरेका छन् ।

मासु प्रतिकेजी  दुई हजारदेखी दुई हजार ५०० सम्म मूल्य पर्ने गरेको छ । गत वर्षको तुलनामा २० देखि २५ प्रतिशतसम्म मूल्यवृद्धि भएपछि सामान्य र मध्यम आर्थिक अवस्थाका उपभोक्ताले भने खरिद गर्न सक्ने अवस्था छैन । च्याङ्ग्राको मूल्य आकाशिएपछि उपभोक्ताको रोजाइ अहिले खसीबोकामा छ । अधिकांशले दसैँका लागि गाउँघरमै स्थानीय खसीबोका व्यवस्था गरेका छन् ।

पोखरा–१४ चाउथेस्थित खसीबजारमा एक साताअघि बाटै ग्राहकको भीड बढेको छ । यस क्षेत्रको मुख्य बजार भएकाले यहाँ धेरै ठाउँबाट ग्राहक आउने गर्दछन् । विगतमा दसैँमा च्याङ्ग्रा खानेहरू यस वर्ष खसीबोकाको व्यवस्था गरेका छन् । पोखरा–११ फूलबारीका नवराज पौडेलले यस वर्ष च्याङ्ग्राको मूल्य छोइसक्नु नभएकाले दसैँका लागि स्थानीय खसीको व्यवस्था गरेको बताए। 

खसीबजारमा भेटिएका उनले भने 'विगतका दसैँमा जहिले पनि च्याङ्ग्रा नै किन्ने गरिन्थ्यो तर अहिले भाउ छोइसक्नु छैन । त्यसैले खसीको व्यवस्था गरेको छु । मिल्यो भन्ने फ्रेस हाउसबाट एक–दुई केजी किनेर च्याङ्ग्राको स्वाद लिनुपर्ला, सिङ्गै किन्न सकिएन।'

पोखरा खसीबजार बजार व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्षको दसैँमा खसीको माग बढेको बताए।  रासस


प्रकाशित : मंगलबार, असोज २६ २०७८०४:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend