काठमाडौं- काठमाडौं महानगरपालिकाले ७० करोड रुपैयाँ खर्च गरेर भूमिगतसहित ८ तले भवन बनाउने भएको छ। उक्त केन्द्रीय भवनको सोमबार शिलान्यास समेत गरिएको हो।
महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले टेकुमा भूमिगत तलासहितको ८ तले भवन शिलान्यास गरेका हुन्। ३ हजार ८३ दशमलव ८२ बर्गफुट क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो। यसको अधिकतम ग्राउण्ड कभरेज ४० प्रतिशत हुनेछ।
भवनमा १० जना क्षमताका दुई वटा लिफ्ट जडान हुनेछन्। भवन ०८० साल असोज मसान्तसम्ममा निर्माण सम्पन्न भइसक्नेछ । समानान्तर निर्माण सेवा प्रा.लि. ले ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रुपैयाँमा भवन निर्माणको जिम्मा पाएको छ । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ् प्रा. लि. ले तयार पारेका हुन्।
शिलान्यासपछि प्रमुख शाक्यले, आफू निर्वाचित भइसकेपछिको पहिलो कार्यपालिका बैठकले गरेका निर्णय उधुत गर्दै भने, ‘ पहिलो कार्यपालिका बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेका थियौँ।
यसअनुसार अधिकांश वडा कार्यालय नवनिर्माण र पुननिर्माण भइसकेका छन्। हामीले हरिभवनमा केन्द्रीय कार्यालय बनाउने भनेका थियौँ। मुद्दामामिलामा अल्झिनु परेकोले त्यहाँ भवन निर्माणको काम थाल्न पाएनौँ। मुद्दा किनारा लागेपछि हामी त्यो भवनलाई पुननिर्माण गर्छौँ।’
त्यस क्रममा उनले साझा लाभका योजनामा जस लिन नपाउनेले विरोध गर्ने आचरण हावी भएपछि महानगरले तर्जुमा गरेका धेरै योजना अघि बढ्न नसकेको र बढेका योजना पनि रोकिएको अनुभव सुनानाए । ‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको स्वतन्त्र अस्तित्वलाई विकासका सवालमा अन्तरसम्बन्धित बनाउन सकिएन भने लहडका भरमा योजना रोकिने रहेछन्।
रानीपोखरी, धरहरा, दरबार हाइस्कुल, कमलपोखरी पुर्ननिर्माणका सृङ्खला यसका उदाहरण हुन् ।’ शाक्यले, आगलागी नियन्त्रण गर्ने दमकल भवन निर्माण गर्ने योजनासमेत मुद्दा खेप्नु परेको नमीठो अनुभव सुनाए।
करीब ६ रोपनी क्षेत्रफलमा बन्ने भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकल पार्किङ गर्न सक्ने ठाउँ हुनेछ । मेकानिकल प्रविधिको प्रयोगबाट भूमिगत तलामा थप २५ वटा गाडी पार्किङ् गर्न सकिनेछ । ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ लागत अनुमान गरिएको छ।
सहरी योजना आयोगमा उपाध्यक्ष सरोज बस्नेतकाअनुसार भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग, वरिपरि खुल्ला ठाउँ र मौलिक वास्तु शैली भवनका मुख्य विशेषता हुन् । प्रत्येक तलामा कार्यालयहरू, बैठक हल, प्रशासन- कर्मचारी÷ आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्याइएकाेछ।
आकाशे पानी संकलन तथा संकलित पानीको शुद्धिकरण प्रणाली सहितको रिचार्ज पिट डिजाइनमा समावेश गरिएको छ। भवनको जमिन तलादेखि ७ तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौँ तलामा २ सय जना क्षमताको एउटा र १ सय जना क्षमताको एउटा गरी २ वटा छुट्टाछुट्टै सभा कक्ष निर्माण गरिनेछ।