काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि आफूले पहल गर्ने उद्योगी व्यवसायीलाई आश्वासन दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा देउवाले वर्तमान आर्थिक समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका हुन्।
महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डले सोमबार प्रधानमन्त्रीसँग भेट गर्दै वर्तमान आर्थिक समस्याका बारेमा जानकारी गराएको थियो। सो भेटमा प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालय तथा राष्ट्र बैंकसँग छलफल गरेर समस्याको हल खोजिने बताएका हुन्।
निजी क्षेत्रको समेत सहभागीतामा सम्बद्ध निकायको छलफलबाट समस्याको हल निकालिने उनको भनाइ थियो।
अर्थतन्त्र जोगाऔँ अभियान चलाइरहेको महासंघले चुनाव लगत्तै राजनीतिक दलका प्रमुख नेतृत्वसँग भेट गर्दै समस्याको ध्यानाकर्षण गराइरहेको छ।