मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

चिसो बढेपछि बेँसी झर्न थाले भेडीगोठ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १९ २०७९
images
images
चिसो बढेपछि बेँसी झर्न थाले भेडीगोठ

'पानी पर्‍यो भने अब माथि मात्रै होइन यहाँ पनि हिउँ पर्छ, माथि चिसो भएपछि यहाँ झरेका हौँ, यहाँ पनि चिसो बढ्दै छ, अब बेँसीमै झर्ने हो, अब एक सातामा तलै झर्छौं, भेडाका पाठा कठ्याङ्ग्रिन थाले, तल नझरे मर्छन् फेरि, गाउँमा गोठ बनाएर तयार बनाई सक्न लागे छन्।'

images
images

ढोरपाटन- 'चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो बेँसीमै बस्ने, धेरैजसो गोठाला झर्‍यौँ, अरु पनि झर्छन् अब।'

images
images
images

निसीखोला–६ का वीरबल घर्ती यतिबेला बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्ने क्षेत्रतिर छन्। खालीखोला, तिलाचनलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि उनीसहितका भेडा गोठाला तल्लो क्षेत्रमा झर्न थालेका हुन्। 

images
images

केही गोठाला बेँसी झरिसकेका छन् भने उनी पनि अब केही दिनमा बेँसीमै आउने तयारीमा छन्। उनी भन्छन्, 'पानी पर्‍यो भने अब माथि मात्रै होइन यहाँ पनि हिउँ पर्छ, माथि चिसो भएपछि यहाँ झरेका हौँ, यहाँ पनि चिसो बढ्दै छ, अब बेँसीमै झर्ने हो, अब एक सातामा तलै झर्छौं, भेडाका पाठा कठ्याङ्ग्रिन थाले, तल नझरे मर्छन् फेरि, गाउँमा गोठ बनाएर तयार बनाई सक्न लागे छन्।'

images
images
images

उनको गोठमा अहिले चार सयभन्दा बढी भेडा र पाठापाठी छन्। उनले मङ्सिर पहिलो साता झण्डै दुई सय भेडा बेचेको बताउँछन्। 'मङ्सिर महिनामा धेरैको पूजाआजा हुन्छ, यो बेलामा भेडाको खोजी निकै हुने गर्छ, यसपालि तीन जना भएर बजारतिर गएका थियौँ, तिहार सकाएर गएको व्यापार राम्रो भयो, अलि कति दुःख छ, तर पैसा पनि छ यो व्यवसायमा', किसान घर्तीले भने।

बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका अधिकांश स्थानीय पशुपालनमा आबद्ध छन्। त्यसले गर्दा उनीहरु वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन्। बर्सातको समय लेक र हिउँदको समय बेँसी गर्ने उनीहरुको परम्पराजस्तै हो। तमानखोला भेडापालक कृषक मीनबहादुर रोका पनि यति बेला बेँसीतिर झरेका छन्। उनले अब चैत पहिलो हप्ता मात्रै लेक चड्ने बताउँछन्।

'हामीहरु यहाँबाट म्याग्दी हुँदै धौलागिरि हिमालको फेदसम्म भेडा लिएर जान्छौँ, अहिले त त्यो क्षेत्रमा हिउँ परेको छ, त्यहाँ बस्न सकिन्न भेडाबाख्रा राख्न पनि सकिन्छ, दुई हप्ता जति हुन लाग्यो हामी बेँसी झरेको केही दिन सोलेडाँडामा बस्यौँ,' उनले भने, 'अब चैत महिनासम्म यहीँ हुन्छौँ, डाला घाँस काटेर खुवाउनु पर्छ यो समय, चिसोमा लेकमा बस्न सकिँदैन।' उनले पुस र माघ दुई महिना भेडीगोठ गाउँ नजिकै हुने र फागुन लागेपछि गाउँभन्दा माथिका खर्कहरुमा जाने बताए। अहिलेसम्म लेकमा बस्दा घाँस पनि सकिएको र गाउँका बारीमा डालेघाँस हुँदा दुई महिना भेडालाई डालेघाँस खुवाएर पाल्ने रोकाको भनाइ छ। 

किसान रोकाले भने, 'चिसो भनेर के गर्नु घरमा बसेर पशु अघाउँदैनन्, लेकबेँसी त गर्न पर्‍यो, नत्र भेडा भोकले मर्छन्, भेडागाठालेलाई दुःख छ, घामपानी, वर्षा झरी भन्न पाइँदैन, यी सम्पत्तिले खान खोज्छन्, मैले भेडासँग लेकबेँसी गर्न थालेको ४३ वर्ष भयो, अहिले म ५४ वर्ष भएँ, ११ वर्षको उमेरदेखि भेडा गोठालो गर्न थालेको हुँ।'

ढोरपाटन–९ का गङ्गाबहादुर पुनले ढोरपाटनको माथिल्लो क्षेत्रमा चिसो ह्वात्तै बढेको बताए। चिसो बढेपछि सबै भेडागोठाले तल्लो क्षेत्रमा झरेको पुनको भनाइ छ। उनले पानी नपरे पनि गोठनै पुरिने गरी तुसारे परेपछि भेडापालक बेँसी झरेको बताउँछन्। 'अहिले छिट्टै चिसो बढ्यो, पहिले पुस लाग्दा बल्ल गाउँ झरिन्थ्यो, अहिले पुस लाग्न १०/१२ दिन छँदै सबै गोठाला बेँसी झरिसकेका छन्, चिसोले भेडा बिरामी पर्न थाले, गोठाला पनि बिरामी हुन लागेपछि हामीहर सबै तल आएका छौँ', उनले भने, 'अहिले ढोरपाटनमा भएका पनि एक पटक पानी पर्‍यो भने सबै बोबाङ, अधिकारीचौर निसी झर्छन्।'  

किसान पुनले पछिल्लो समय भेडी गोठालेको सङ्ख्या घट्दै गएको बताए। उनले पहिले एउटै गाउँका २०/२० घरमा भेडा पाल्ने गरेकोमा अहिले १० घरले मात्रै पाल्दै आएको बताउँछन्। भेडापालनका लागि पर्याप्त चरन क्षेत्र भए पनि युवापुस्ता यो व्यवसायतिर नलाग्दा भेडा गोठाले बर्सेनि घट्दै गएको उनको भनाइ छ।

'पहिले–पहिले गाउँका धेरै मान्छेहरुले भेडा र गाईभैँसी पाल्ने गर्थे, लेकतिर जाँदा पनि रमाइलो हुन्थ्यो, सबै एकै पटक जान्थ्यौँ, नजिक नजिक गोठ बनाएर बस्ने गथ्र्यौं, अहिले हरेक वर्ष गोठाला घट्दै गएका छन्', किसान पुनले भने, 'पुराना बूढापाका नसक्ने भए, युवा केटाहरु सहर बजार बस्ने विदेशतिर जाने गर्न थालेपछि भेडा पाल्ने कम भएका छन्।'

उनले अरु व्यवसायको तुलनामा भेडापालन निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवा गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो नदिने बताए। भेडापालनबाट एक वर्षमा न्यूनतम चार लाखसम्म आम्दानी हुने उनको भनाइ छ। उनले भेडाको मासु मात्रै नभएर उनबाट बनेका कपडाको समेत राम्रो मूल्य पर्ने बताए।

'भेडापालन गरे त धेरै फाइदा छ, दुःख त कुन पेसा गर्दा हुँदैन र?, सबै पेसा व्यवसायमा परिश्रम गर्नुपर्छ, केही पेसामा अलि बढी होला केहीमा कम, तर दुःख त हुन्छ जहाँ पनि, भेडा पाल्ने हो भने दुईतिरबाट लाभ लिन सकिन्छ, मासु पनि राम्रो मूल्यमा बिक्छ, अझ बढी त्यसको रौँबाट बनेका कपडाको पर्छ, नेपालमा मात्रै होइन विदेशमा पनि रौँको कपडाको मूल्य बढी पर्छ', उनले भने।


प्रकाशित : सोमबार, मंसिर १९ २०७९०४:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend