सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सार्वजनिक खरिद र निर्माणको काम दुई सिफ्टमा गर्ने अर्थमन्त्रीको घोषणा 

आइतबार, असोज २४ २०७८
सार्वजनिक खरिद र निर्माणको काम दुई सिफ्टमा गर्ने अर्थमन्त्रीको घोषणा 

सरकारी कार्यालयहरुले गर्ने खरिद प्रक्रियासँगै निर्माणको काम पनि दुई सिफ्टमा गर्नुपर्ने उनको भनाइ छ। निर्माण कम्पनीको कामको अनुगमन पनि सोहीअनुसार गर्नुपर्नर्ने उनको भनाइ छ। 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक खरिदको काम दुई सिफ्टमा गर्ने घोषणा गरेका छन्। 

आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका सन्दर्भमा राष्ट्रिय योजना आयोगसँगको छलफल कार्यक्रममा बोल्दै शर्माले खरिदको काम दिउँसो र रातिको सिफ्ट बनाएर काम गर्नुपर्ने शर्त राखिने बताएका हुन्। 

आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै शर्माले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका दुई प्रशासनिक तयारीको काममा तीव्रता ल्याउनुपर्ने बताए। 

'दिनमा एक सिफ्टमात्र काम गरेर पूँजीगत खर्च बढाउन सकिँदैन । पूँजीगत खर्च भएन भने आर्थिक वृद्धिको लक्ष हासिल गर्न कठिन हुन्छ । विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन' उनले भने'रात्री सिफ्टमा बत्ती बालेर भएपनि काम गर्नुपर्‍यो। हामीले पनि बेला बेला नसुतेरै भएपनि अनुगमन गर्नुपर्‍यो।' 

सरकारी कार्यालयहरुले गर्ने खरिद प्रक्रियासँगै निर्माणको काम पनि दुई सिफ्टमा गर्नुपर्ने उनको भनाइ छ। निर्माण कम्पनीको कामको अनुगमन पनि सोहीअनुसार गर्नुपर्नर्ने उनको भनाइ छ। 

ठेक्का सम्झौता गर्दा नै सोही शर्त राख्नुपर्ने उनले बताए। 

निर्माण व्यवसयीको क्षमताभन्दा धेरै ठेक्का लिन नपाउनेगरी कानूनी सुधारको काम सरकारले गरिरहेको र यसपछि क्षमता अनुसारको ठेक्कामात्र पाउने व्यवस्था हुने उनको भनाइ छ। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले निर्माण व्यवसायीहरुको वास्तविक क्षमता जाँचेर मात्र ठेक्का दिने प्रणाली बसाल्नुपर्ने बताए। 

सीमित निर्माण व्यवसायीहरुको हातमा मात्र ७० प्रतिशत आयोजनाहरु सुम्पने प्रचलनको अन्त्य नगरेसम्म विकासले गति नलिने उनको भनाइ थियो। 

‘भएभरका आयोजनाहरू सीमित ठेकेदारहरुको हातमा सुम्पने, उनीहरुले सरकारलाई समेत नटर्ने, वर्षौंसम्म आयोजनाहरु नबनाएर बस्ने, अनि कसरी बढ्छ त पुँजीगत खर्च ?’ उनले प्रश्न गरे। 


प्रकाशित : आइतबार, असोज २४ २०७८०८:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend