काठमाडौं- राष्ट्रिय भूमि आयोगले तत्कालका लागि कुनै पनि सुकुम्बासी बस्ती नहटाउन निर्देशन दिएको छ।
आयोगले अव्यवस्थित बस्ती व्यवस्थापनका लागि आयोगले स्थानीय तहहरूसँगैको सहकार्यमा काम गरिरहेकाले तत्काल आफूखुसी नहटाउन आयोगले निर्देशन दिएको छ।
काठमाडौं महानगरले थापाथलिको सुकुम्बासी बस्ती हटाउने काम अघि बढाएपछि आयोगले यस्तो निर्देशन दिएको हो।
आयोगले स्थानीय तहसँग कार्य सहमति पत्रमा हस्ताक्षर भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्नका लगत संकलन सम्बन्धी ३५ दिने सूचना प्रकाशित गरिएको जानकारी दिएको छ।
निर्वाचन आचारसंहिताका कारणले यो काम तत्काल ढिला भएको पनि आयोगले जानकारी दिएको छ।
लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल संचालन गर्ने गरी आवश्यक तयारी गर्न र लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिका सहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै पनि कार्य नगर्न/नगराउन आयोगले निर्देशन दिएको छ।