काठमाडौं- संसारकै ठूलो खेल प्रतियोगिता फिफा विश्वकप २०२२ कतारमा भोलिदेखि सुरु हुँदैछ।
संसारका अर्बौ मान्छेले हेर्ने, लाखौ मान्छे मैदानमै गएर हेरिने फुटबल विश्वकप यो वर्ष खाडी मुलुक कतारमा हुँदैछ। खेल पारखीदेखि व्यापारीसम्म सबैको नजरमा पर्ने यो प्रतियोगितासँगै व्यापार र अर्थतन्त्र पनि जोडिन्छ।
अर्बौ डलरको परिचालन हुने यो प्रतियोगिता आयोजना गर्ने राष्ट्रले के लाभ पाउँछ? के लगानी अनुसारको आर्थिक प्रतिफल पाउँछ?
अझ कतारका लागि त झनै यो मुख्य प्रश्न भएको छ। किन भने कतारले विश्वकप आयोजनाका लागि अहिलेसम्म कुनै पनि राष्ट्रको भन्दा धेरै लगानी गरेको छ।
सामान्यतया आयोजक राष्ट्रले पूर्वाधार तयारीका लागि अर्बौ डलर खर्च गर्छन्। खेल मैदानदेखि होटलसम्म, सडकदेखि अन्य पूर्वाधार निर्माणमा आयोजकको ठूलो स्रोत साधानको परिचालन हुन्छ। स्रोत साधानसँगै राष्ट्रकै समग्र क्षमता त्यसमै केन्द्रित हुन्छ।
यति धेरै लगानी गर्दा पनि बयोजक राष्ट्रले सोही अनुसारको आर्थिक प्रतिफल पक्कै पनि पाउँदैनन्। त्यसमाथि कतारले त झन् एकदमै थोरै मात्र प्रतिफल पाउँदैछ।
विश्वकपमा विश्व फुटबल महासंघले सबैभन्दा धेरै आम्दानी प्रत्यक्ष प्रसारणको अधधिकार बिक्रीबाट गर्छ। संसारका विभिन्न देशमा प्रसारण गर्ने संस्थाले फीफालाई निश्चित मूल्य तिरेर अधिकार लिन्छन्। उनीहरूले प्रायोजनबाट कमाउनेगरि यस्तो अधिकार फिफाबाट खरिद गर्छन्। सन् २०१८ मा फिफाले यसबाट ४ अर्ब ६० करोड अमेरिकी डलर आम्दानी गरेको थियो। त्यस्तै टिकट बिक्रीबाट १ अर्ब डलर आम्दानी गरेको थियो। तर यो सब रकमबाट फिफाले आयोजना सञ्चालनको सामान्य लागत बाहेक केही पनि बेहोर्दैन।
विश्वकप आयोजनाको तयारीमा २ सय अर्ब अमेरिकी डलर खर्चिएको कतारका लागि यो इभेन्टबाट हुने आर्थिक लाभ जति भए पनि न्यून हुन्छ। यद्यपि यसका बाबजुद कतारले केही आम्दानी गर्छ। जस्तो एक महिनासम्म चल्ने प्रतियोगितामा १० लाख विदेशी दर्शकले सहभागिता जानउने छन्। यी दर्शक बस्दा होटलमा तिरेको रकमबाट कतारले आम्दानी गर्छ। यद्यपि दर्शकले खाने तथा पिउने अधिकांश पदार्थ फिफाकै प्रायोजक साझेदारकै हुन्छन्।
पूर्वाधार निर्माणमा गरिएको खर्च दीर्घकालीन भएकाले तत्कालीन आम्दानीबाट लगानीको पूर्ति हुँदैन।
कतारलाई आर्थिक रुपमा लाभको साटो नोक्सान भएपनि यो प्रतिष्ठा हो। अन्तर्राष्ट्रिय समुदायमा हुने ब्रान्डिङ, कुटनीतिमा सफ्ट पावरको पहिचान जस्ता कुरासँग जोडिएको हुन्छ।