बिहीबार , चैत १५ गते २०८०    
images
images

राजनीतिक परिवर्तन गर्न सफल गठबन्धन आर्थिक समृद्धिका लागि लामो समय जान्छ : पम्फा भुसाल [अन्तर्वार्ता]

images
images
राजनीतिक परिवर्तन गर्न सफल गठबन्धन आर्थिक समृद्धिका लागि लामो समय जान्छ : पम्फा भुसाल [अन्तर्वार्ता]
images
images

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल यसपटक पनि ललिपुर क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी छिन्। नेकपा माओवादी केन्द्रकी उपमहासचिव रहेकी भुसालसँग आसन्न प्रतिनिधि सभा निर्वाचनसँग केन्द्रित रहेर गरिएको कुराकानी : 

images
images
images

पछिल्ला १५ दिनदेखि मतदाताको घरदैलोमा पुगिराख्नुभएको छ। जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ?

images

जनतामा मैले एक प्रकारको उत्साह र उमङ्ग देखेको छु। जति निर्वाचनको दिन नजिकिँदै छ, त्यतिनै सिङ्गो मुलुक र जनतामा निर्वाचन लागेको छ। जनता र मतदातामा निर्वाचनप्रतिको आकर्षण छ। नेताहरुलाई घरदैलोमा जाँदा आफ्नो मनमा लागेका कुरा भन्ने, स्थानीयको समस्या सुनाउने र उम्मेदवारसँग नजिकबाट साक्षात्कार गर्ने क्रम अघि बढेको छ। यसअर्थमा हेर्दा निर्वाचनप्रति जनतामा उत्साह छ।

images
images

म यस क्षेत्रबाट दुई पटक विजयी भएको छु। म २०६४ सालमा संविधानसभा निर्वाचनमा विजयी भएँ। निर्वाचनमा विजयी भएपछि संविधान बनाउने प्रमुख कार्यभार थियो। मैले जनताको पक्षमा संविधान बनाउँछु भनेर मत मागेको थिएँ। पहिलो संविधानसभा असफल भए पनि दोस्रो संविधानसभाको निर्वाचनबाट नेपालमा संविधान जारी भयो। हामीले जनताको पक्षमा उत्कृष्ठ संविधान बनायौँ। त्यसपछि २०७४ सालमा स्थिरताको एजेण्डा लिएर वाम गठबन्धनसहित निर्वाचनमा गएको थिएँ। ललितपुरको हकमा मैले १२ बुँदे प्रतिबद्धतापत्रसहित मतदाताको बीचमा गएको थिएँ। त्यसलाई मतदाताले अनुमोदन गर्नुभयो।

हामीले स्थिरताको प्रतिबद्धता विभिन्न कारणले पूरा गर्न सकेनौँ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार हुँदा प्रधानमन्त्री एवं नेकपामा अध्यक्ष केपी शर्मा ओलीले गैरसंवैधानिक तबरले दुई÷दुई पटक संसद् विघटन गर्नुभयो। हामी सडक आन्दोलनदेखि अदालतसम्म जानुपर्ने अवस्था बन्यो। त्यसले गर्दा स्थिरताको प्रतिबद्धता पूरा गर्न सकिएन। विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीलगायत कारणले पनि केही अप्ठ्यारो पार्‍यो।

यद्यपि, प्रतिकूलताका बाबजुद मैले सांसद हुँदै गर्दा जनता र ललितपुरवासीको पक्षमा विभिन्न काम गरेँ। यहाँको पर्यटन प्रवर्द्धन, खानेपानी, सडकलगायत जनताको मागलाई सम्बोधन गर्न अधिकतम् प्रयत्न गरेँ। पछिल्ला समय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएपछि पनि मैले ललितपुर क्षेत्र र समग्र देशका लागि महत्वपूर्ण काम गरेँ। यसअर्थमा मतदाताले मलाई विजयी नबनाउनुपर्ने कुनै कारण छैन। मतदाता मप्रति सन्तुष्ट देख्छु। मेरो प्रतिबद्धता पूर्णरुपमा पूरा गर्न नसक्नुमा संसद् विघटन, कोरोना महामारीलगायत कारणलाई जनताले बुझ्नुभएको छ।

अत्यधिक बहुमतबाट विजयी हुन्छु भन्ने यहाँको दाबी हो?

मसँग जति समय र अवसर थियो, त्यसलाई मैले अधिकतम् रुपमा देश जनता र ललितपुरवासीका लागि प्रयोग गरेको मतदाताले बुझेको पाएको छु। यसअर्थमा ललितपुर क्षेत्र नं ३ का मतदाताले मलाई अत्यधिक बहुमतले विजयी गराउनुहुनेछ। मतदाताले मलाई तपाईं जतिको उम्मेदवार कुनै पार्टीमा पनि छैन भनेर भन्नुहुन्छ। तपाईं भोलि पार्टी र देशको नेतृत्व गर्न सक्ने अवस्थामा पुग्दै हुनुहुन्छ भनेर मतदाताले भनिराख्नुभएको छ। उहाँहरुले तपाईं जस्तो उम्मेदवारलाई छाडेर अन्यलाई विजयी गराउन सक्दैनौँ भनेर स्पष्ट रुपमा भन्नुभएको छ।

मतदाताले आफूले जिताएको जनप्रतिनिधि जहिले पनि भेट्न सक्ने, सहज पहुँच भएको खोज्नुहुन्छ। त्यो सहजता म जत्तिको अन्य उम्मेदवारसँग छैन भन्ने मेरो दाबी हो। यो मेरो दाबी मात्र होइन जनताको पनि विश्वास हो। मैले सांसद्, मन्त्री हुँदा वा नेतृत्वदायी भूमिकामा हुँदा जे गर्न सकेँ, सक्छु त्यो अन्य उम्मेदवारले गर्न सक्दैनन् भन्ने आम मतदाताको भनाइ छ। यसअर्थमा मतदाताले अन्य उम्मेदवारभन्दा मलाई नै रोज्नुहुन्छ भन्नेमा ढुक्क छु।

तपाईंले ‘अबको भिजन, गुणस्तरीय जीवन’ भन्ने दृष्टिकोण अगाडि सार्नुभएको छ। के अबको पाँच वर्षमा ललिपतुरवासीले गुणस्तरीय जीवनयापन गर्न पाउँछन्?

पक्कै पनि पाउनुपर्छ। हाम्रो देश जुन प्रकारको राजनीतिक अवस्थाबाट गुज्रियो। पविर्तनका लागि विभिन्न खालका सङ्घर्ष भए। त्यो सबैलाई हामीले जनताका प्रतिनिधिबाट संविधान बनाएर संस्थागत गर्‍यौँ। अब हाम्रो प्रमुख कार्यभार भनेर समृद्धि र आर्थिक विकास हो। यसलाई हासिल गर्न हामी अघिल्लो पटकदेखि नै आर्थिक विकासमा जाने भनेका थियौँ।

विभिन्न कारणले हामी त्यसतर्फ जान सकेनौँ। ललितपुरवासी मात्र होइन सम्पूर्ण नेपालीले गुणस्तरीय जीवनयापन गर्न पाउने अधिकार छ। जनताको यो अधिकारलाई हामी राजनीतिक दल र उम्मेदवारले पूरा गर्नै पर्छ। अबको पाँच वर्षमा ललितपुरवासीको मात्र होइन, सम्पूर्ण नेपालीको जीवन गुणस्तरीय हुने बाटोमा हामी देशलाई अगाडि बढाउछौँ।

घरदैलोका क्रममा प्रत्येक टोलमा पुग्नुभएको छ। पूर्वाधार, खानेपानी, स्वच्छ वातावरणको समस्या रहेको मतदाताको भनाइ छ। यसलाई कसरी सम्बोधन गर्नुहुन्छ?

मुलुकका अन्य क्षेत्रका तुलनामा यो क्षेत्र विकासमा केही अगाडि रहेको मान्न सकिन्छ। यद्यपि, यहाँ खानेपानी, सडकका समस्या छन्। विकास निर्माणका कामले पर्यावरणमा ठूलो असर पारिरहेको छ। खानेपानीको प्रमुख समस्या देखिन्छ। यसअघिका निर्वाचनमा म घरदैलोमा हिँड्दा महिलाहरुले खानेपानीको कुरा उठाउनुभएको थियो।

यसपटक पुरुष मतदाताले पनि खानेपानीको समस्या उठाइराख्नुभएको छ। यसअर्थमा पनि खानेपानीको ठूलै समस्या छ। तर हामीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमार्फत मेलच्चीको पानी जनताको घरघरमा पुर्‍याइरहेका छौँ। मेलम्चीबाहेक अन्य खानेपानी स्रोतको उचित व्यपस्थापन गरी वितरणलाई प्रभावकारी बनाउँदै छौँ। धेरै ठाउँमा पाइपलाइनको विस्तार भइसकेको छ। चाँडै नै घरघरमा खानेपानी पुर्‍याउछौँ। खानेपानी, ढल, सडक, धुँवाधुलोको समस्या हामी समाधान गर्छौँ।

चुनावको बेलामा सबैले विभिन्न एजेण्डाहरु बोकेर जनताको घरदैलोमा आउने र चुनाव जितेपछि पूरा गर्दैनन् भन्ने जनगुनासो छ नि?

पक्कै पनि, जनताको गुनासो छ। यसलाई दुई किसिमले हेर्नुपर्छ। एकातर्फ जनअपेक्षा पूरा भएका छैनन्। अर्कातर्फ केही व्यक्ति तथा समूह अर्को पक्षलाई दोषी देखाएर बसिरहेको छ। समस्या मात्रै छ। समाधान भएको छैन भनेर समस्या मात्रै देखाएर अहिलेको व्यवस्था, राजनीतिक नेतृत्वप्रति आक्रमण गर्ने र हल्लाको व्यापार गर्ने, विषयलाई अतिरञ्जित गर्ने खालका विषय पनि आएको छ। ठ्याक्कै समस्यैसमस्या मात्र त होइन, समाधान पनि छ। तर जुन जनताको अपेक्षा थियो, हामी राजनीतिक दल र नेतृत्वको प्रतिबद्धताअनुसार नभएको चै हो।

विपक्षी गठबन्धन, स्वतन्त्र उम्मेदवारले पनि विभिन्न एजेण्डा प्रस्तुत गरेका छन्। मतदाताले तपाईंलाई विश्वास किन गर्ने र मत किन दिने?

निर्वाचनमा जोजो उम्मेदवार भएर प्रस्तुत हुन्छन्, उनीहरुले यो-यो कारणले हामीलाई मत दिनुस् भनेर भन्छन्। आआफ्नो अवधारणासहित राजनीतिक प्रतिबद्धता जाहेर गर्ने र जनतामा जाने कुरा निर्वाचनको सुन्दर पक्ष हो। मेरा प्रतिस्पर्धीले आआफ्नो प्रतिबद्धता पेश गरेर जनतामा जानुभएको छ। मलाई नै मत किन दिने त भन्ने प्रसङ्गमा मैले यस क्षेत्रको अधिकांश घर-घरमा पटकपटक पुगेको छु। यसअर्थमा प्रत्येक मतदाताले मलाई प्रत्यक्षरुपमा सम्पर्क गर्ने, भेट्ने र आफ्ना कुरा राख्न निकै सहज छ।

आर्थिक विकास र समृद्धिको एजेण्डालाई लिएर यहाँका मतदातासँग म भिजेको छु। परिचित छु। त्यति अन्य उम्मेदवार भिज्नु भएको छैन। केही दिनभित्र हुने निर्वाचनका लागि म प्रतिनिधिसभा सदस्यका रुपमा खडा भएको छु। अहिलेको व्यवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित व्यक्ति सांसद्, मन्त्री र प्रधानमन्त्री हुने अवस्था छ। राजनीतिक परिवर्तनका साथै मुलुकको आर्थिक सामाजिक अवस्था परिवर्तन गर्न मैले निर्वाह गरेको नेतृत्वदायी भूमिकालाई मतदाताले बुझ्नु भएको छ। मैले आजसम्म महिला भनेर कुनै पनि सुविधा लिएको छैन। नेपालमा दुई पटक निर्वाचित भएको र तेस्रो पटक निर्वाचित हुँदै गरेको म मात्रै महिला उम्मेदवार हो। अन्य त्यस्तो उम्मेदवार छैनन्।

तपाईंले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहनुभएको छ। जनतालाई सहुलियत दिन के के काम गर्नुभयो?

विशेष खालको राजनीतिक परिस्थितिमा छोटो समयका लागि मैले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेँ। योजनावद्धरुपमा लामो समयसम्म नेतृत्व गरेको पनि होइन। केपी ओलीले संविधानमाथि कु गर्दै प्रतिगमनतर्फ जाने जुन प्रयत्न गर्नुभयो। त्यो प्रतिगमनलाई सच्याउन, ओलीको असंवैधानिक कदमलाई सच्याएर देशलाई संवैधानिक रुपमा सही बाटोमा ल्याउनका निम्ति वाम-लोकतान्त्रिक शक्तिबीच गठबन्धन गर्‍यौँ। आन्दोलन गर्‍यौँ। त्यो विशेष परिस्थितिमा वर्तमान सरकार बनेको हो। यो सरकारले छाटो समयमा निर्वाचन गर्नुपर्ने अवस्था थियो।

कोरोना महामारी नियन्त्रण गर्न खोप अभियान सञ्चालन गर्नुपर्ने प्राथमिकताका बीच पनि मैले मन्त्रालय सम्हालेपछि केही महत्वपूर्ण काम गरेँ। मैले गरिब, सर्वाहारा, किसान, श्रमजीवि, महिला, दलित, मुस्लिम, पछाडि पारिएका क्षेत्र र वर्गका निम्ति मेरो जीवन समर्पण गरेँ। त्यो अर्थमा गरिब जनतालाई केही राहत दिनुपर्छ भनेर मासिक २० युनिट विद्युत् खपत गर्ने ग्राहकलाई निःशुल्क विजुली दिने निर्णय गरेँ। त्यो निर्णयले नेपाल विद्युत् प्राधिकरण मातहतका २० लाख र सामुदायिक विद्युतीकरण आयोजनाका पाँच लाख ५० हजार गरी २५ लाख बढी ग्राहक लाभान्वित भएको अवस्था छ। एउटा ग्राहक भनेको एउटा परिवार हो। २५ लाख परिवारले राहत प्राप्त गरेका छन्। यसअर्थमा सरकारको यो निर्णयबाट झण्डै एक करोड जनता लाभान्वित भएका छन्।

देशको आर्थिक विकासको मेरुदण्ड कृषि, पर्यटन र ऊर्जा नै हो। कृषिमा आत्मनिर्भर गराउन तथा जनतालाई कृषि क्षेत्रमा आकर्षित गर्न सिचाइका लागि विद्युत् महसुलमा ७५ प्रतिशत सहुलियत दिइएको छ। सिँचाइ सुविधा नपुगेका स्थानमा भूमिगत पानीको प्रयोग गरी सिँचाइ सुविधा उपलब्ध गराउने निर्णय गरेको छु। विभिन्न स्थानमा डिप बोरिङ, स्यालो ट््युबेल, डिप ट्युबेल राखेर सिँचाइ सुविधा उपलब्ध गराइएको छ। सतही र भूमिगत पानीबाट सिँचाइको सम्भावना नभएका स्थानमा लिफ्टिङ गरेर सिँचाइको व्यवस्था गरिएको छ।

विद्युत्को क्षेत्रमा मैले जुन सहुलियत दिएँ। समग्र बिजुलीको मूल्य नै ६ प्रतिशत घटाएको छु। हामीले ‘विदेशी ग्यास छाडौँ, स्वदेशी विजुली जोडौँ’ भन्ने नारा ल्याएका छौँ। मासिक २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क दियौँ। ग्यास छाडेर इन्डक्सन चलाउँदा हुने बिजुलीको खर्च प्रतियुनिट १ रुपैयाँ घटाइएको छ। यसर्थ विद्युत् खपत बढाउन प्रोत्साहन गरेँ, विद्युत्को महसुल घटाएँ। विभिन्न स्थानमा सिँचाइको सुविधा पुर्‍याएँ।

सिँचाइ आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाएँ। नयाँ र ऐतिहासिक काम मैले मेरो पालामा गरेँ। त्यो काम भनेको के हो भने नेपालमा विद्युत् आयात हुन्थ्यो। लामो समयदेखि प्रयास गर्दा पनि नेपालको विद्युत् भारतीय बजारमा निर्यात हुन सकेको थिएन। मैले मन्त्रालयको नेतृत्व लिएपछि भारत सरकारसँग कुरा गरेर, प्रधानमन्त्रीको तबरमा पनि कुरा गराएर यो गाठो फुकाएँ। नेपालले अहिले दैनिक ३६४ मेगावट विद्युत् भारतलाई बिक्री गरिरहेको छ। नेपालले थप २२ मेगावाट विद्युत् बिक्री गर्ने सुविधा पाएको छ। यसबाट मासिक झण्डै रु तीन अर्ब बराबरको विद्युत् निर्यात गर्न सफल भएका छौँ। खर्बौको व्यापार घाटा भइरहेको मुलुकमा विद्युत्को व्यापारबाट सानो आशाको किरण जगाएको छ। व्यापार घाटा न्यूनीकरण गर्नसमेत सघाउ पुगेको छ। ३६४ मेगावाट भनेको धेरै ठूलो परिमाण त होइन, तर नेपालका विद्युत् भारतमा बेच्न सक्छौँ र ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउन सक्छौँ भन्ने स्थापित भएको छ। ‘पहिले विद्युत् उज्यालोका लागि, अहिले विद्युत् उज्ववल भविश्यका लागि’ भन्ने नारा ल्याएर नेपालमै विद्युत्को खपत बढाउने र नेपालमा खपत नभएको बिजुली भारतीय वा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने बाटो खोलेँ।

यसका साथै विद्यु्त प्राधिकरणको सुधार, नेतृत्व परिवर्तनलगायतका विभिन्न काम यसबीचमा सम्पादन गरेको छु। यसबाट देशले सकारात्मक परिणाम हासिल गरेको छ। ऊर्जा क्षेत्रले देशको समृद्धि हासिल गराउँछ भन्ने मार्गको निर्देश पनि गरेको छ। साथसाथै नेपालको आफ्नै लगानीमा नेपाल सरकारले ‘गेम चेन्जर’ परियोजनाका रुपमा जलाशययुक्त बूढीगण्डकी आयोजना बनाउने निर्णय पनि मैले गरेँ। बूढीगण्डकी आयोजना बनाउने कम्पनी स्थापना भइसकेको छ। आठ वर्षभित्र बूढीगण्डकी आयोजना बन्छ। यसले देशको समृद्धिमा महत्वपूर्ण योगदान दिन्छ। छोटो समयमा गर्व गर्न लायक काम गरेँ भन्ने लाग्छ।

निर्वाचनपछि वर्तमान गठबन्धनको निरन्तरताका बारेमा आशंका पैदा हुन थालेको छ। गठबन्धन कायमै हुन्छ?

अहिलेको निर्वाचनमा मुख्यतः दुई वटा गठबन्धनबीचको लडाईं छ। एउटा प्रतिगमनतर्फ जाने, यो व्यवस्थालाई उल्ट्याउने, संविधानलाई च्यात्ने र देशलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने गठबन्धन छ। जुन नेकपा ९एमाले०ले नेतृत्व गरिरहेको छ। यो व्यवस्थलाई सुदृढ गरेर देशलाई समृद्धिको बाटोमा लैजाने, आर्थिक हिसाबले सम्पन्न बनाउने, जनताको जीवन गुणस्तरीय बनाउने हामी वाम-लोकतान्त्रिक गठबन्धन आएका छौँ। देशव्यापी रुपमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नै विजयी हुन्छन्।

यस निर्वाचन प्रणालीबाट निर्वाचनपछि एउटै दलको सरकार बन्ने अवस्था सिर्जना हुन कठिन छ। निर्वाचनपछि पनि यही गठबन्धनले सरकार बनाउने हो। यसअर्थमा एमाले नेतृत्वको गठबन्धन प्रतिगामी हो भन्ने हाम्रो दाबी हो। एमालेले यसअघि गरेको व्यवहारले पनि त्यसलाई पुष्टि गर्छ। संविधानलाई कार्यान्वयन नगर्ने, गैरसंवैधानिक तबरबाट संसद् विघटन गर्ने, सत्ता कब्जा गरी देशलाई निरङ्कुशतातर्फ लैजाने कुचेष्टा गर्ने प्रतिगामी चरित्रविरुद्ध यो गठबन्धन बनेको हो। यो गठबन्धन टुटोस् भन्ने विपक्षीलाई लागेको छ।

अहिले यो संविधान उल्टयाउनुपर्छ, देशलाई पहिलेकै अवस्थामा फर्काउनुपर्छ भन्ने शक्तिलाई टाउको दुखेको छ। यसअर्थमा यी शक्तिहरुको साठगाँठ एमालेसँग देखिएको छ। एमालेसहितको गठबन्धनभित्र ती तत्व पनि छन्। उनीहरुले यो गठबन्धन भत्कन्छ, निर्वाचनपछि यही गठबन्धन रहँदैन भनेर गरेको कुप्रचार मात्रै हो। पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले यो गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यसलाई जनताले विश्वास गर्नुभएको छ।

यो गठबन्धन निरन्तर अगाडि बढ्छ। आम जनता भ्रममा नपर्नुहोला। वाम र लोकतान्त्रिक शक्ति एक भएको अवस्थामा मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएका छन्। मुलुकको आर्थिक समृद्धिका लागि वाम-लोकतान्त्रिक शक्ति एक भएका छौँ। त्यो विषयलाई बुझेर वाम-लोकतान्त्रिक गठबन्धनका देशैभरका उम्मेदवारलाई  विजयी गराउन म अपिल गर्दछु।

images

प्रकाशित : बिहीबार , मंसिर १ २०७९०६:४०

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ