बिहीबार , मंसिर १३ गते २०८१    
images
images

काँचुली फेर्दै मर्चवार, देखिँदैछ विकासको गति

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २३ २०७९
images
images
काँचुली फेर्दै मर्चवार, देखिँदैछ विकासको गति

स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभापछि मर्चवारमा विकासले विस्तारै काँचुली फेर्दैछ। स्थानीय तहहरूको प्रयास तथा सङ्घीय एवं प्रदेश सरकारमा रहेका सांसदहरूको प्रयासले मर्चवारमा पछिल्लो समय विकासले गति लिएको छ।

images
images

भैरहवा- रुपन्देही जिल्ला नेपालमा सम्पन्न जिल्लाहरू मध्ये एक हो। अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विशेष आर्थिक क्षेत्र, मुलुककै दोस्रो ठूलो भन्सार नाका, औद्योगिक क्षेत्र, ठूला ठूला बाटोले रुपन्देहीलाई सम्पन्नतातर्फ डोहोर्‍याएको छ।

images
images
images

रुपन्देही जिल्ला सम्पन्नउन्मुख हुँदा जिल्लाकोे दक्षिणी क्षेत्र मर्चवार अपेक्षाकृत रूपमा विकास हुन सकेको छैन। प्रधानमन्त्री, गर्भनरदेखि प्रधानन्यायाधीशसम्म रहेको मर्चवार क्षेत्रमा अपेक्षाकृत विकास नहुनुमा यहाँको राजनैतिक नेतृत्व तथा शिक्षा प्रमुख कारण रहेको यहाँका स्थानीयवासीको ठम्याइ छ।

images

मर्चवारबाट विजयी हुने तत्कालीन सांसदहरूले मर्चवारको विकासमा भन्दा सत्ता प्राप्तिमै बढी जोड दिएका थिए। फलस्वरुप अरुको तुलनामा मर्चवार समयमै उँभो लाग्न सकेन।

images

विसं २०७४ मा भएको स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि मर्चवारमा विकासले विस्तारै काँचुली फेर्दैछ। स्थानीय तहहरूको प्रयास तथा सङ्घीय एवं प्रदेश सरकारमा रहेका सांसदहरूको प्रयासले मर्चवारमा पछिल्लो समय विकासले गति लिएको छ। प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादव, प्रदेशसभा सदस्य अष्टभुजा पाठक एवं वसिउद्दीन खाँको प्रयासमा अहिले मर्चवारमा विकास देखिन थालेको छ।

निवर्तमान प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादवका अनुसार गुरवनिया–सेमरा चार लेनको बाटो, झुलनीपुर–अजमा पक्की बाटो र रमवापुर–भुवरी पक्की बाटोले अहिले मर्चवारलाई तीन तर्फबाट प्रवेशको बाटो खोलेको छ। यसले बनगाई हुँदै मर्चवार जाने एक मात्र बाटो भएकामा अहिले मर्चवारवासीलाई लुम्बिनीलगायतका स्थानमा सहज पहुँच पुर्‍याउने यादवले बताए। यसबाहेक मर्चवार क्षेत्रमा यसअघि हिलाम्य हुने प्रत्येक पालिकाका बाटोहरूलाई पक्की बाटोदेखि पिसिसी गरिएको उनले बताए। मर्चवारमा सहज पहुँचका लागि पक्की पुलहरू निर्माणको क्रममा रहेका यादवले जानकारी दिए। दानो नदीमा ठाउँ ठाउँमा झोलुङ्गे पुलको निर्माण गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनको भनाइ छ।

स्तरीय अस्पतालको अभावमा मर्चवारका जनता भैरहवा, बुटवललगायतका ठाउँमा पुग्नु पर्ने बाध्यता रहेको थियो तर अहिले सम्मरीमाईमा आँखा अस्पताल निर्माणको अन्तिम चरणमा रहेको लुम्बिनी प्रदेशका निर्वतमान प्रदेशसभा सदस्य पाठकको भनाइ छ। साथै पालिकास्तरीय हेल्थपोष्टहरू पनि निर्माण भइरहेको उनले जानकारी दिए। यसका साथै मर्चवारकै विभिन्न स्वास्थ्य संस्थाहरूमा २४ घण्टे प्रसूतिको व्यवस्था गरिएको उनले बताए।

शिक्षित मर्चवारको परिकल्पान गर्दै मर्चवारको केन्द्र मझगावामा रहेको विद्यालयमा प्राविधिक शिक्षासहितको उच्च शिक्षाको सुरुआत भएको छ। लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुदमन्त्री वसिउद्दिन खाँले इतिहासमै मर्चवार क्षेत्रमा शिक्षा क्षेत्रले अहिले उच्च प्राथमिकता पाएको बताए। 'आधुनिक कलेज भवनहरूको निर्माण गरिएको छ। यससँगै प्रत्येक पालिकामा रहेका विद्यालयको भौतिक संरचना निर्माणको साथै गुणस्तरीय शिक्षाका लागि शिक्षकको क्षमता अभिवृद्धि, आधुनिक शैक्षिक सामग्रीको व्यवस्थापन गरिएको छ', खाँले भने।

मर्चवारमा सबैभन्दा बढी समस्याको रूपमा रहेको कृषिको विकासको लागि पनि सङ्घीय सांसद यादव, प्रदेशसभा सदस्यहरु पाठक र खाँमार्फत यसको सुधार भएको स्थानीयवासी बताउँछन्। मर्चवारमा मर्चवार लिफ्ट सिँचाइ रहेकोमा अहिले यसको क्षेत्र विस्तार भएको र यसको सुविधा पनि थपिँदै गएको स्थानीयवासी मुकेश यादवले बताए।

निर्वतनमा सांसद यादवका अनुसारसुमेरगढमा पनि लिफ्ट सिँचाइको काम अगाडि बढेको छ। उनले कृषकहरूमा स्थानीय तहमार्फत कृषि बोरिङ वितरण गरिएको छ। यससँगै दीर्घकालीन सिँचाइका लागि बुटवलबाट आएको नहरलाई मर्चवारको मूल नहरमा जोड्न पनि सफल भएको बताए। यादवले मर्चवारको धार्मिक पर्यटनमा महत्व राख्ने महत्वपूर्ण स्थानहरु मर्चवारी मन्दिर, कोटहीमाई मन्दिर, देउरवा बाबालगायत दर्जन बढी स्थलहरूलाई पुनः निर्माणसँगै यसको विकासमा पनि पर्याप्त लगानी गरेको बताए। 

'मर्चवारमा रहेका धार्मिक एवं पर्यटकीय स्थलहरूको विकास तथा पुनः निर्माणमा यसअघिका सांसदहरूले पर्याप्त ध्यान दिन सक्नुभएन', यादवले भने, 'मर्चवारी देवीकै नामबाट मर्चवारको नाम रहेको छ। तर यसका भवनहरु जीर्ण छन्। अहिले यसको गुरुयोजना बनाई बहुवर्षीय योजनाअन्तर्गत बृहत् काम हुने क्रममा रहेको छ। यज्ञशाला, धर्मशाला निर्माण गरिएको छ। सुनसान हुने मर्चवारी मन्दिरमा चहलपहल हुने गरी काम गरेका छौँ।' 

मर्चवारी देवीसँगै यस क्षेत्रमा रहेका विभिन्न मठमन्दिर, मस्जिदमा आवश्यकताअनुसारको सहयोग गरेको उनले बताए। अहिले प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसबाट उम्मेदवारसमेत रहेका यादव सङ्घ र प्रदेशको निर्वाचनको केही समयपछि नै कोभिडको सन्त्रासका कारण जुन अनुपातमा काम हुनु पर्ने हो त्यो हुन नसकेको बताउँछन्। तर कोभिडपछिको डेढ वर्षमा नै मर्चवारको समग्र विकास देखिने गरी काम गरेको उनको दावी छ। रासस


प्रकाशित : बुधबार, कात्तिक २३ २०७९०३:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend