काठमाडौं- विश्वले पेट्रोलियम पदार्थबाट चल्ने आईसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त सवारीको विकल्प अपरिहार्य रहेका निष्कर्ष निकालेको छ। त्यहीअनुसार आईसी इन्जिन सवारीको विकल्पका रुपमा विद्युतीय सवारीलाई उच्च प्राथमिकता दिएको छ।
त्यतिमात्र होइन गत वर्ष ग्लास्गोमा भएको कोप २६ सम्मेलनबाट २०३५ देखि ४० भित्रमा कार र भ्यान पूर्ण रुपमा शून्य प्रदूषणवाला मात्र उत्पादन तथा दर्ता गर्न संसारका १ सयभन्दा बढी देश राजी भएका हुन्। सोहीअनुसार देशहरुले उत्पादन, उपयोगलाई बढाउन छुट, सहुलियत तथा अनुदान दिने नीति बनाइरहेको र कार्यान्वयन गरिरहेका छन्।
तर हाल जुन अनुपातमा विद्युतीय सवारीको उत्पादन, त्यसको स्वीकार्यता, विद्युतीय सवारी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको उपलब्धता र उत्खनन्लगायतलाई आधार मान्दा त्यो लक्ष्य पूरा हुन नसक्ने देखिएको छ।
२०२१ को उक्त तथ्यांकलाई विश्लेषण गर्दा २०४० सम्ममा ब्याट्रीमा आधारित विद्युतीय सवारीको बजार हिस्सा ३८ प्रतिशतमात्र हुने भिजुअल क्यापिटालिस्टले लेखेको छ। विश्वले लिएको लक्ष्य भेट्न अहिले जुन संख्यामा विद्युतीय सवारी बिक्री भइरहेको छ त्यसमा ६५ प्रतिशतका दरले वृद्धि हुनेपर्ने देखिएको छ।
२०२१ मा अघिल्लो वर्षको तुलनामा विश्वभर विद्युतीय सवारीको बिक्री दोबर भएको थियो। तर यसमा निश्चित क्षेत्र जस्तो चीन, युरोपलगायतको बढी योगदान छ भने अन्यत्रको निक्कै कम रहेको तथ्यांक छ। चीन, युरोप र अमेरिका विश्वको दुई तिहाइ विद्युतीय सवारीको बजार हो भने २०२१ मा यी तीन क्षेत्रमा विश्वमा बिक्री भएका मध्ये ९५ प्रतिशत विद्युतीय सवारी त्यहीँ बिक्री भएको थियो। २०२० मा विश्वमा जति कार बिक्री भएको थियो त्यो संख्या बराबरको विद्युतीय कार २०२१ मा चीनमा मात्रै बिक्री भएको थियो।
गत वर्ष संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २६)मा विश्वका १ सय देशले २०३५-२०४० मा कार र भ्यान शतप्रतिशत शून्य प्रदूषण कार्यान्वयन गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। २०२१ कै अनुपातमा विद्युतीय सवारी उत्पादन, स्रोतसाधनको उपलब्धता हुने हो भने त्यो पूरा नहुने मुख्य तीन आधारहरु रहेका छन्।
लक्ष्य भेट्न कठीन हुने तीन आधारमा पहिलो रिसोर्स (लिथियम, निकल, कच्चा पदार्थको संशोधन, क्याथोडको उत्पादन, ब्याट्री सेल उत्पादन र कार उत्पादन)को उपलब्धता र सप्लाइको निरन्तरता, दोस्रोमा विद्युतीय सवारीको मूल्य र तेस्रोमा विद्युतीय सवारीका लागि आवश्यक पर्ने पूर्वाधार। यी कारणले २०२१ को तथ्यांकले २०४० को लक्ष्य पूरा हुन ज्यादै कठीन रहेको अन्तर्राष्ट्रिय इनर्जी एसेन्सी (आईईए)ले पनि उल्लेख गरेको छ।
खनिज पदार्थ खानीबाट निकालेर प्रशोधन गर्दै त्यसको उत्पादन व्यवसायीक रुपमा बजारमा ल्याउन ४ देखि २० वर्षसम्म लाग्छ। त्यसैले पनि विद्युतीय सवारीको ‘मास’ उत्पादन हुन अझै केही वर्षहरु लाग्नेछ।
ब्राजिल, भारत र इन्डोनेसियामा २०२१ मा विश्वभर बिक्री भएको विद्युतीय सवारीको ०.५ प्रतिशतमात्र हिस्सा रहेको छ। यस्तो दयनीय तथ्यांक हुनुको मुख्य कारक विद्युतीय सवारी उपलब्धता कम हुनु र मूल्य धेरै हुनुलाई नै मानिएको छ। तथापी विद्युतीय सवारीको मूल्य क्रमिक रुपमा घट्दै गइरहेको छ।
अर्को कारकको विद्युतीय सवारीको पूर्वाधार। विद्युतीय सवारीमा भएको ब्याट्रीले निश्चित किलोमिटरमात्र रेन्ज दिन्छ र त्यसलाई चार्ज गर्नुपर्ने हुन्छ। लामो यात्रा गर्नका लागि रेन्जअनुसार निश्चित स्थानमा चार्जिङ स्टेसनको जरुरत पर्छ। विद्युतीय सवारीको पछिल्लो युग नै ढिलो सुरु भएको र त्यसको स्वीकार्यता अझै ढिलोमात्र भएकाले चार्जिङ पूर्वाधार बन्ने लोमै समय र ठूलो लगानी आवश्यक पर्नेछ।