बिहीबार , फागुन २९ गते २०८१    
बिहीबार , फागुन २९ २०८१
images
images

ऋणमा पर्‍यो प्रदर्शनी केन्द्र

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
images
images
ऋणमा पर्‍यो प्रदर्शनी केन्द्र

प्रदर्शनी केन्द्रमा ढल, बाटो, रङरोगन, जेनेरेटर, फायरफाइटिङ, साउण्ड, सचिवालय व्यवस्थापनलगायत काम गर्न बाँकी छ। ती कामका लागि ६ करोड रुपैयाँ हाराहारी खर्च हुने अनुमान छ।

images
images

चितवन- भरतपुरमा निर्माण गरिएको ‘चितवन एक्सपो सेन्टर’ प्रदर्शनी केन्द्रको निर्माण खर्च तिर्न नसकेपछि ऋण लिएर भुक्तानी गरिएको छ। उद्योग संघका जिल्ला पदाधिकारी जमानी बसी बैंकबाट लिएको ऋणबाट आधा रकम बुझाइएको छ भने बाँकीका लागि ऋण खोजी भइरहेको छ।

images
images

संघले निजी क्षेत्र र सरकारी सहयोगमा देशकै ठूलो र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण गरेको हो। संघका अध्यक्ष राजु पौडेलका अनुसार केन्द्र निर्माणका लागि हालसम्म ३२ करोड रुपैयाँ खर्च भईसकेकामा १० करोड रुपैयाँ संघका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी व्यवसायीलगायत निजी क्षेत्रबाट सङ्कलन भएको थियो भने १५ करोड रुपैयाँ नेपाल सरकारले घरेलु तथा साना उद्योगमार्फत उपलब्ध गराएको थियो। बाँकी ६ करोड रुपैयाँभन्दा बढी भुक्तान गर्न बाँकी रहेकामा तीन करोड रुपैयाँ बैंकबाट ऋणमा लिएर निर्माणकर्तालाई भुक्तानी गरिएको उनले बताए। अध्यक्ष पौडेलले भने, 'बाँकी रकम भुक्तानीका लागि ऋण थप गर्दैछौँ।'

images
images

अध्यक्ष, पूर्व अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र पाँच उपाध्यक्ष जवानी बसेर बैंकबाट ऋण लिइएको र नेपाल सरकारको संघ, प्रदेश र स्थानीय तहबाट सहयोग जुटे ऋण तिर्न सकिने अपेक्षा गरिएको जानकारी दिँदै  उनले बताए, 'काम गरेकालाई भुक्तानी दिन ढिलो भएपछि हामी आफै जवानी बसी ऋण खोजेर केही भुक्तानी गर्‍यौँ अब केही बाँकी नै छ।'

images
images

वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनी केन्द्रमा ढल, बाटो, रङरोगन, जेनेरेटर, फायरफाइटिङ, साउण्ड, सचिवालय व्यवस्थापनलगायत काम गर्न बाँकी छ। ती कामका लागि ६ करोड रुपैयाँ हाराहारी खर्च हुने अनुमान छ। बाटोको काम बाग्मती प्रदेश सरकारको एक करोड रुपैयाँको लागतमा गरिँदै छ। काम सम्पन्न गर्दा ३८ करोड रुपैयाँ हाराहारी खर्च हुने अनुमान छ।

तीन सय स्टल राख्न सकिने ६० हजार वर्गफिटको केन्द्रमा तीन ठूला बैठककक्ष छन्। ती कक्षको बीचको भाग हटाएर एउटै कक्ष पनि बनाउन सकिने गरी निर्माण गरिएको छ। पूर्णवातानुकूलित यस कक्ष नेपालकै सबैभन्दा ठूलो भएको उनले बताए।

कोभिड सङ्क्रमण देखिनु अघि १० वटा कार्यक्रम यसै कक्षमा सम्पन्न भइसकेका छन्। त्यस बखत उक्त कक्षमा कोरोना अस्थायी अस्पताल बनाइएको थियो। कोरोनाका कारण कार्यक्रम हुन नसक्दा केन्द्रले आम्दानीसमेत गर्न सकेको छैन। आउँदो पुस, फागुन र चैतमा अन्तर्राष्ट्रिय तीन वटा प्रदर्शनीका लागि कक्ष बुकिङ भइसकेका छन्। सामान्य अवस्थामा पनि वर्षमा १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनी हुने अपेक्षा गरिएको उपाध्यक्ष कँडेलको भनाइ थियो।

निजी क्षेत्रको साझेदारीमा बनाइएको यो देशकै महत्वपूर्ण परियोजना हो। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रको साझेदारीमा बनाइएको यो महत्वपूर्ण परियोजना सम्पन्न गर्न चितवन क्षेत्र नं ३ बाट निर्वाचित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सक्रियरुपमा लागेकाे जानकारी दिँदै केही दिनभित्रै नजिता दिने गरी काम हुने आफूले विश्वास लिएको बताइन्।

महानगरपालिकाले प्रदर्शनी परिसरमा ९० लाख रुपैयाँ खर्च गरेर औद्योगिक पाठशाला निर्माण गरेको छ। संघका पदाधिकारी जमानी बसेर ऋण तिर्नुपर्ने अवस्था आएको छ भन्दै उनले सरकारले यसमा चासो देखाउनुपर्ने र महानगरले आवश्यक सहयोग गर्ने बताइन्।

संघमा १ हजार २ सय सदस्य छन्। घरेलु तथा साना उद्योग कार्यालयको जग्गा २९ वर्षका लागि भाडामा लिएर प्रदर्शनी केन्द्र निर्माण गरिएको हो।

राप्तीमा सभाकक्ष र सिसी क्यामरा

पूर्वी चितवनको राप्ती नगरपालिकाले ५०० जना अटाउनसक्ने सुविधासम्पन्न सभाकक्ष निर्माण गरेको छ। नगर प्रमुख प्रभा बरालका अनुसार वडा नं २ स्थित गड्यौलीमा एक बिघा १० कट्ठा जमिनमा एक करोड चार लाख रुपैयाँको लागतमा निर्माण गरिएको सभाकक्ष परिसरमा पर्याप्त पार्किङको व्यवस्था गरिएको छ। राप्तीमा सभाकक्ष नहुँदा त्यहाँ हुने कार्यक्रमका लागि खैरहनी र सौराहा जानुपर्ने बाध्यता थियो।

उनले भने, 'अब राप्ती नगर क्षेत्रमा आफ्नो कार्यक्रम गर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ।' बरालले नगर प्रमुख भएदेखि सो क्षेत्रमा सभाकक्ष बनाउनु पर्नेमा जोड दिँँदै आएका थिए।

प्रदेश र संघबाट आवश्यक  बजेट उपलब्ध नभएपछि आन्तरिक स्रोतबाटै नगरपालिकाले सभाकक्ष बनाएको हो। सभाकक्ष घटस्थापनाका दिन शुभारम्भ गरिएको थियो। राप्तीवासीले यो कक्षलाई आफ्नो सम्पत्तिको रुपमा लिएका छन्। यसबाट चितवनको पूर्वी क्षेत्रका बासिन्दाका साथै मकवानपुर जिल्लाका केही गाउँपालिकाले समेत लाभ लिन सक्छन्।
 
राजमार्गमा सिसी क्यामरा 

नगरपालिकाको राजमार्ग क्षेत्रमा सिसी क्यामरा जडान गरिएको छ। पूर्वपश्चिम राजमार्गको खुरखुरेदेखि लोथरसम्म १० लाख रुपैयाँ खर्चेर नगरपालिकाले छ वटा सिसी क्यामरा जडान गरेको हो।

नगरप्रमुख बरालले दुर्घटना र अन्य आपराधिक गतिविधिको अनुसन्धान सहज गराउनका जडान गरिएको क्यामराको मनिटर डढुवा इलाका प्रहरी कार्यालयमा राखिएको जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, असोज २२ २०७८०७:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend