मंगलबार, जेठ २६ गते २०८३    
मंगलबार, जेठ २६ २०८३

विद्युत प्राधिकरणले सुरु गर्‍यो कंक्रिट पोलको निर्माण 

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, साउन ३० २०७८
विद्युत प्राधिकरणले सुरु गर्‍यो कंक्रिट पोलको निर्माण 

प्लान्टबाट विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोलहरु उत्पादन हुने छन्। १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता  ३३ हजार ५ सय ८० थान रहेको छ। 

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले मोरङको टंकिसिनुवारीबाट कंक्रिट पोल उत्पादन सुरु गरेको छ। प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय अन्तर्गत कंक्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुवारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो।

प्लान्टबाट विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोलहरु उत्पादन हुने छन्। १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता  ३३ हजार ५ सय ८० थान रहेको छ। 

इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले शुक्रबार परीक्षण उत्पादनको निरीक्षण गरी नियमित रुपमा पूर्ण क्षमतामा पोल उत्पादन सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिए। 

उनले प्लान्टबाट पोल उत्पादन सुरु भएपछि टाढाबाट पोल ल्याउँदा लाग्ने ढुवानी खर्च र समय बचत हुने उल्लेख गरेका छन्। आयोजना प्रमुख परमार धीरसेनका अनुसार कोभिड-१९ महामारीको नियन्त्रण तथा रोकथाकका लागि जारी गरिएको निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाई हुँदा परीक्षण उत्पादन निर्धारित समयभन्दा ढिलो भएको हो। उनले परीक्षण उत्पादनमा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनपछि पूर्ण क्षमतामा चल्ने जानकारी दिए। प्लान्टबाट उत्पादित पोलहरु मुख्य रुपमा प्रदेश नं १ र र २का जिल्लाहरुमा आपूर्ति गरिने छ। 

प्राधिकरणले अहिले तनहुँको कोत्रे र पर्साको अमलेखगञ्जबाट कंक्रिट पोल उत्पादन गर्दै आएको छ भने कैलालीको लम्कीमा प्लान्ट निर्माणाधीन छ।


प्रकाशित : शनिबार, साउन ३० २०७८१०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend