आईटी र स्टार्टप क्रान्तिमा गोल्छा परिवारको ‘नयाँ पुस्ता’

आईटी र स्टार्टप क्रान्तिमा गोल्छा परिवारको ‘नयाँ पुस्ता’

नेपालमा प्रविधिको जुन विकास भएको छ यसले धेरै सम्भावनाको उजागर गरेको उनको विश्वास छ। उनका बुबा सुरेन्द्रले किरानालाई लक्षित गरेर एप विकास गर्न दिएको सुझावअनुसार लोक्ताको जन्म भएको हो।

इटहरी- नेपालमा औद्योगिक साम्राज्य विस्तार गरेको गोल्छा परिवारको नयाँ पुस्ता आईटी र स्टार्टपको क्रान्तिमा होमिएका छन्। नेपालमा औधोगिकीकरणको सुरुवात गर्ने रामलाल गोल्छाका सन्तानहरू नयाँ प्रविधिको विस्तारमा उत्तिकै अब्बल देखिएका छन्। 

सर्वप्रथम प्रविधिसँग नजिकिए रामलालका नाति सुरेन्द्र गोल्छा। नेपालमा पहिलोपटक गाडी उत्पादन गरेर उनले नयाँ क्रान्ति नै गरे। विश्वमै विद्युतीय गाडीको भर्खरै विस्तार भइरहेको बेला सुरेन्द्रले हुलास मोटर्समार्फत विद्युतीय गाडीको आविष्कार गरे। अहिले सोही उद्योगबाट तिनपांग्रे विद्युतीय रिक्सामात्र उत्पादन हुन्छ। 

सुरेन्द्रका छोरा मुदित गोल्छा आईटी क्षेत्रमा सक्रिय भएर लागेका छन्। मुदितले विकास गरेको ‘लोक्ता’ किराना पसलको हिसाब किताब र स्टक राख्न महत्त्वपूर्ण एप हो। बजारको अनुसन्धान गरेर एप विकास गरेको बताउँछन् उनी। अहिले विश्व नै डिजिटल भइसकेको अवस्थामा विद्युतीय भुक्तानीसँगै विद्युतीय स्टक र मार्केट सर्भे पनि सोहीअनुसार हुनुपर्ने उनको भनाइ छ। 

नेपालमा प्रविधिको जुन विकास भएको छ यसले धेरै सम्भावनाको उजागर गरेको उनको विश्वास छ। उनका बुबा सुरेन्द्रले किरानालाई लक्षित गरेर एप विकास गर्न दिएको सुझावअनुसार लोक्ताको जन्म भएको हो।

कक्षा १२ को अध्ययन सकेका मुदित आईटीमा धेरै सम्भावना भएको ठान्छन्। सुरेन्द्रले उनलाई आईटीकै सम्भावनाबारे र नयाँ इन्नोभेसनबारे सोध्ने र जानकारी दिने गर्छन्। नयाँ प्रविधिसँग नजिकिएर मात्र आर्थिक विकास हुने बुबाछोराको बुझाइ छ।

Mudit Golchha.jpg
मुदित गोल्छा।

मुदितले भने, ‘लोक्ताले किराना पसलको समस्या समाधान गर्छ। मार्केट सर्भे गर्दा ससाना खर्च र आम्दानीको रेकर्ड नगर्ने बानी धेरै रहेको पाइयो। त्यही कारणले धेरैको व्यापारीक चेन बिग्रिएको देखिन्छ। अब ससाना कुरालाई कसरी समेट्ने र व्यापारको खास स्वरूप के छ भन्ने जानकारी गराउन लोक्ताले काम गर्छ। सामानको बिक्रीको अवस्था र आगामी दिनमा धेरै चल्ने सामानको बारेमा एपले अगाडि नै जानकारी दिन्छ। व्यापारीलाई पूर्वतयारीको लागिसमेत एपले सचेत गराउँछ। जसबाट सामान स्टोरेज हुने समस्या समाधान हुन्छ।’  

प्रविधिका नायक सञ्जय 

गोल्छा परिवारकै सदस्य सञ्जय गोल्छा आईटी क्षेत्रमा भव्यरुपमा नै अघि बढिरहेका छन्। आईटीको बहुआयामिक पक्षहरूलाई उजागर गर्न उनले नियोस्फेयरको स्थापना गरे। नियोस्फेयर आईटी क्षेत्रमा तालिम लिन चाहनेको लागि विशेष अवसर प्रदान गरिरहेको छ। जसमार्फत मल्टिमिडिया, एआई फिल्म मेकीङ, कन्टेन्ट क्रिएसन, बिजनेस प्रमोसनलगायतको तालिम प्रदान गरिरहेका छन्। 

उनको आईटी यात्रा सन् १९९४ देखि नै सुरु हुन्छ। क्यालकुलेटरमा प्रोग्रामिङ गरेका उनले नेपालमा कम्प्युटर भित्रिएसँगै नयाँ सपना देखे। १९८९ मा लन्डनमा स्नातक पढ्न जाँदा कम्प्युटर कोर्ष लिए। आफ्नो कम्प्युटर सिपलाई बिजनेसमा प्रयोग गर्नेबारे उनी चिन्तित बने। नेपाल फर्किएर ‘आईटी नेपाल’ नामको कम्पनी स्थापना गरेर सफ्टवेयर विकास गर्न थाले। 

sanjaya golchha.jpg
सञ्जय गोल्छा।

सुरुमा नोकिया मोबाइलबाट प्रविधिको व्यापार सुरु भयो। केही वर्षमै मोबाइल फोनमा व्यापार वृद्धि भयो। गाउँमा पनि मोबाइल पुर्‍याउने लक्ष्य लिएका उनी सफल भए। गाउँगाउँमा कम्प्युटर र ल्यापटप पुर्‍याउने मात्र होइन आईटी क्षेत्रमा भएको रिभोलुसनका योद्धा हुन् उनी।  

अहिलेको अवस्थामा आईटीसँग सम्बन्धित स्टार्टपको धेरै स्कोप रहेको गोल्छा बताउँछन्। नेपालमै बसेर विदेशी बिजनेस ल्याउन सकिने भएकाले आईटीमा जानकारी राख्न जरुरी रहेको उनको सुझाव छ। आईटी इन्डस्ट्रीजमा इकोसिस्टम बनिसकेको उनको भनाइ छ।

उनी भन्छन्, ‘आईटीभित्र विभिन्न क्षेत्रहरू छन् जसमा एउटै व्यक्ति वा कम्पनीले सबै काम गर्न सक्दैन। त्यसैले धेरैलाई एकैपटक आईटीले अवसर दिएको छ। नयाँ पुस्तामा यसको धेरै सम्भावना रहेको छ।’

बिजनेस हाउसमा डेल्टा 

गोल्छा परिवारको विरासत जुट उद्योगसँग जोडिन्छ। रामलाल गोल्छाले सुरु गरेको जुट उद्योग उनका नाति राजकुमार गोल्छाले सञ्चालन गरिरहेका छन्। राजकुमारले पनि छोरीहरूलाई उद्योगको जिम्मेवारी दिँदै आएका छन्। तीन छोरीमध्ये जेठी छोरी एकता गोल्छा भने आफै उद्यमी बनेकी छिन्। आईटी क्षेत्रमा उनले नयाँ सम्भावना उजागर गरेकी हुन्। 

सन् २०१६ मा एकताले ‘डेल्टा टेक’ स्थापना गरिन्। डेल्टा टेकले ‘डेल्टा सेल्स एप’ निर्माण गरेर भारतका विभिन्न कम्पनीलाई उपलब्ध गराएको छ। पछिल्लो समय व्यापक बन्दै गएको डेल्टा सेल्स एपले उद्योगीलाई व्यवसाय सञ्चालनमा सहयोगी बनेको छ।

Ekata golchha.jpg
एकता गोल्छा।

व्यवसायसँग सम्बन्धित नयाँ सफ्टवेयर डेभलपमेन्टमा पनि डेल्टाले काम गरिरहेको छ। डेल्टा सेल्स एपले उद्योग व्यापारका हरेक गतिविधिलाई रेकर्ड र ट्र्याक गर्ने गर्दछ। 

बजारको पैसा उठाउन, अर्डर गर्न र मार्केटको अवस्थाबारे एपले ट्र्याक गर्छ। बजारको आवश्यकतालाई मध्यनजर गर्दै एपले मुख्यगरी कम्पनीका विभिन्न गतिविधिको ट्रयाकिङ र रेकर्ड राख्ने काम गर्छ।

डिस्ट्रिव्युटर प्यानल, बिक्रेता र बीटूबी ईकमर्स गरी तीनवटा मुख्य फिचर एपका समावेश गरिएको छ। कम्पनीमा काम गर्ने सेल्सम्यान वा म्यानेजर परिवर्तन पछि हुने झन्झट हटाउन एपको रेकर्डबाट विगतका सम्पूर्ण डिटेल पत्ता लगाउन सकिने एकता बताउँछिन्।

प्रकाशित : सोमबार, वैशाख १ २०८२१२:००
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend