बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सत्यमोहन जोशी : जसले सिक्काबारे सोध गरे, उनकै तस्बिर अंकित सिक्का छापियो

आइतबार, असोज ३० २०७९
सत्यमोहन जोशी : जसले सिक्काबारे सोध गरे, उनकै तस्बिर अंकित सिक्का छापियो

उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेको मदन पुरस्कार गुठीले जनाएको छ। 

काठमाडौं- नेपालको भाषा, कला, संस्कृति एवं जातजातिका बारेमा राम्रो दख्खल राख्ने शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुककै अभिभावक गुमेको छ। कुनै विषयमा सोध्नु पर्‍यो वा जान्नु पर्‍यो भने धेरैले उनकै नाम लिन्थे। 

जुम्लाको कला संस्कृतिबारेमा पनि जोशी नै जानकार थिए। मारुनी, सोरठीदेखि लोकगीतका बारेमा पनि जोशीमा उत्तिकै ज्ञान थियो। ललितपुरको नेवार समुदायमा जन्मे पनि उनी स्पष्टसँग नेपाली भाषा बोल्नु हुन्थ्यो भने नेपालको इतिहासका बारेमा अब्बल ज्ञान थियो। नेपालको पहिलो नक्शा बनाउने ऐतिहासिक कामसमेत जोशीले नै सम्पन्न गरेका थिए।
 
कवि लेखनाथ पौड्यालका शब्द ‘आयो टप्प टिप्यो, मिति पुग्यो टारेर टर्दैन त्यो’ मा भने जस्तै जोशी हामीबाट बिदा भए। कर्णाली अञ्चलको भाषा संस्कृतिदेखि देउडासम्मका जानकार जोशीले राज्यको मूलप्रवाहभन्दा बाहिर रहेको क्षेत्र र तहलाई समेत काठमाडौँसँग जोडेका थिए।
 
तीन पटक मदन पुरस्कार पाउनु भएका जोशीको जन्म विसं १९७७ वैशाख ३० गते पाटन दरबार क्षेत्र नजिकैको बखुम्बहालमा भएको थियो। संस्कृतिविद् जोशीले २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक पाएका थिए। एकै जनाले तीन तीन पटक मदन पुरस्कार पाउने मध्येका भाग्यमानी व्यक्तित्वमा रुपमा पनि उनी स्थापित थिए।  

उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेको मदन पुरस्कार गुठीले जनाएको छ। 

पुरातत्व विभागका पहिलो निर्देशकको जिम्मेवारी समेत सम्हालेका जोशीको सम्मानमा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ‘सिक्कामा सत्यमोहन’ प्रकाशित गरेको छ। जोशीको तस्बीर अंकित सिक्काको एकातर्फ उनको तस्बिर र अर्कोतर्फ संसारकै सर्वोच्च शिखर सगरमाथाको चित्र रहेको छ।

कुनै मानिस जीवीत हुँदा आफ्नो तस्बिर अंकित चाँदीको सिक्का प्रकाशन हुने थोरै मानिसमध्ये एक थिए जोशी। उनको सम्मानमा काठमाडौँ विश्वविद्यालयले मनार्थ विद्यावारिधी प्रदान गरेको थियो भने दर्जनौं सम्मान र पुरस्कारसमेत उनले प्राप्त गरेका थिए।  

कुनै एक चिनारीले मात्रै उनलाई चिनाउन सम्भव देखिँदैन। उनले आम नेपालीले नपाएका सम्मान, मान पदवी, नाम र विश्वास पनि उत्तिकै पाए। शताब्दी पूरा गर्दासमेत एक दिन पनि विश्राम नलिनुभएका जोशीको एक सय दुई वर्षको उमेरमा आत्मकथा प्रकाशन भएको थियो। सो कार्यक्रममा उनी आफै उपस्थित थिए। 
 
पत्रकार तथा लेखक गिरिश गिरीले जोशीको आत्मकथा लेखेका छन्। केही न केही सिर्जनात्मक र रचनात्मक काम गरिरहन रुचाउने जोशीको दीर्घ जीवनको पछाडि निरन्तरको सक्रियता र सकारात्मक सोच नै रहेको उनलाई नजिकबाट चिन्नेजान्नेहरू बताउँछन्। नेपाली मुद्राको बारेमा जानकारी दिने उद्देश्यका साथ प्रकाशित उनको पुस्तक ‘नेपाली मुद्रा’ पनि उत्तिकै महत्वपूर्ण छ।
 
राष्ट्रिय समाचार समिति(रासस) को सञ्चालक समिति सदस्यका रुपमा आफ्नो जिम्मेवारी निभाउनु भएका जोशी नेपालको सबै जसो राजनीतिक व्यवस्थाका प्रत्यक्षदर्शी थिए। व्यवस्था बदलियो, राजनीतिक संस्कार र चिन्तन बदलिए पनि उहाँ सधैँ साझा व्यक्तित्वका रुपमा अझ भनौं राष्ट्रिय अभिभावकका रुपमा स्थापित थिए। त्यो गर्विलो इतिहास नेपाली समाजबाट ढलेको छ।
 
नेपालको कला, भाषा, संस्कृति आदिका बारेमा जिज्ञासु भएर खोजी गर्ने, त्यसलाई लिपीबद्ध गर्ने र आमरुपमा प्रकाशन गरेर जानकारी गराउने भएकाले उनको नामका अगाडि सम्मानपूर्वक संस्कृतिविदको विशेषण लागेको हो।
 
जोशीको जीवनमा जुरेली चरिको गहिरो प्रभाव परेको थियो। उनी आफैँले पनि लेखेका थिए, 'मैले बाँच्नका लागि एउटा चरीबाट प्रेरणा पाएँ। त्यो प्रेरणा थियो, सादा जीवन उच्च विचार। चिन्ता नगर्ने, बरू चिन्तन गर्ने र सन्तोषी भएर बाँच्ने।' नेपाली समाजलाई कलाकार अरनिकोको बारेमा जानकारी दिने व्यक्तित्वसमेत जोशी नै थिए भने राजा मानदेवका बारेमा बताउने पनि उनी नै भएको जानकारहरू बताउँछन्। 

दश वर्षको उमेरसम्म नेपाली भाषा समेत राम्ररी बोल्न नजान्ने जोशी आफैंले भने नेपाली भाषाको खोज तथा अनुसन्धानमा आफ्नो जीवन बिताएका छन्। नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संवद्र्धन र विकासमा जीवन पर्यन्त लागि परेका हुनाले उनी साझा व्यक्तित्वका रुपमा मात्रै स्थापित भएनन्, मान सम्मान उनलाई खोज्दै आएको जानकारहरूको भनाइ छ।
 
जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, पद्यमश्री साधना सम्मान, नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ। यस्तै, सरकारले जोशीलाई राष्ट्र गौरव सम्मान दिने घोषणा गरिसकेको छ।

उनका अनुसन्धानात्मक कृति नेपालीमा १० वटा, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भएका छन्। जोशीको सम्मानमा चित्रांकित हुलाक टिकट पनि प्रकाशन गरिएको छ। 

उनको निधनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेता एवं सर्वसधारणले व्यक्त गरेको प्रतिक्रियाका आधारमा पनि जोशी साझा राष्ट्रिय व्यक्तित्वका रुपमा स्थापित थिए भन्ने स्पष्ट भएको छ।

शंकरराज जोशी र राजकुमारी देवीका सुपुत्र जोशीको जीवन साथी भने राधादेवी थिए भने एक छोरा र तीन छोरी छन्। नेपालको कला संस्कृतिको संरक्षणमा सधै राज्य र तिनका निकायलाई घच्घच्याइरहने स्वभावका जोशीले नेपाल र नेपाली समाजका लागि लगाएको गुन चीरपर्यन्तसम्म कायमै रहनेछ। भौतिक रुपमा उनले अन्तिम श्वास लिनु भए पनि उनको अन्तिम इच्छाको रुपमा रहेको ‘चक्रसंवर पौभाचित्र’ को  अभिलेखन कार्य जारी छ। त्यसको काम समेत अन्तिम चरणमा पुगेको छ। रासस


प्रकाशित : आइतबार, असोज ३० २०७९१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend