काठमाडौं- शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको पारीवारिक स्रोतले जानकारी दिएको छ।
मुटु र प्रोष्टेटको समस्यापछि पछिल्लो पटक उनी असोज ७ गतेदेखि अस्पतालमा उपचाररत थिए। रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो।
अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। परीक्षण गर्दा डेङ्गु सङ्क्रमणका साथै छातीमा निमोनियाको सङ्क्रमण, मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कमी भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइएको शनिबार अस्पतालले जनाएको थियो।
पाटन बखुम्बहाल निवासी जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र स्रष्टा हुन्। उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए।
२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो। तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र कानूनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइबराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए।
सँस्कृतिविद जोशीको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो।
२०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका थिए। नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’बाट मानपदवी प्रदान गर्ने निर्णयसमेत गरेको थियो।