काठमाडौं- गत वर्ष टीभीएसको एनटर्क स्कुटरको बिक्रीमा अनौठो रेकर्ड कायम भएको थियो। गत वर्ष टीभीएसको एनटर्क दैनिक १ सय १४ वटाभन्दा बढी बिक्री भएको तथ्यांक थियो। तर यो वर्ष आइपुग्दा उक्त बिक्री ५१ प्रतिशतले गिरावट आइ दैनिक ५६ वटामा सीमित भएको तथ्यांक छ।
आर्थिक वर्ष २०७७/७८ मा जगदम्बा मोटर्सले टीभीएसको एनटर्क स्कुटरमात्र ४१ हजार ८ सय २ वटा बिक्री भएको थियो। यो तथ्यांकका आधारमा टीभीएस एनटर्क स्कुटर दैनिक १ सय १४.५२ वटा बिक्री भएको थियो। यो दैनिक बिक्री हुने दुई पांग्रेको तथ्यांकमा हालसम्मकै सर्वाधिक हो।
तर एनटर्कको उक्त उत्साह एक वर्ष पनि टिक्न सकेन। आव २०७८/७९ मा टीभीएस एनटर्क स्कुटरको २० हजार ५ सय ७७ वटा मात्र बिक्री भएको तथ्यांक छ। यो अघिल्लो वर्षको तुलनामा वार्षिक ५१ प्रतिशतको गिरावट हो।
यद्यपी आव २०७८/७९ मा पनि एनटर्क टीभीएसको सबैभन्दा बढी बिक्री हुने मोडल हो। जगदम्बा मोटर्सले २०७७/७८ मा हासिल गरेको बिक्री संख्या ४१ हजार ८ सय २ वटा अब सहजै भेट्न कठीन हुनेछ।
टीभीएस एनटर्क : दैनिक १ सय १४ वटा बिक्छ
केही वर्ष पहिलेसम्म स्कुटर महिलाले चढ्ने वाहनका रुपमा लिइन्थ्यो। अहिले त्यो मानक परिवर्तन भएर स्कुटर ‘युनिसेक्स’ सवारीका रुपमा स्थापित भइसकेको छ। सहरी क्षेत्रमा स्कुटर प्रयोगकर्ताको संख्या बढ्दै गएपछि सवारी उत्पादकहरूले आकर्षक आवरण, शक्तिशाली इन्जिनयुक्त बनाउन थालेका हुन्।
त्यसैले पछिल्लो समय स्कुटर महिलाले मात्र नभइ सबैले रोज्न थालेका छन्। यसको पुष्टि बाटोमा देखिने प्रयोगकर्ता र बिक्री तथ्यांकले गर्छ। नेपाली उपभोक्ताले दर्जनभन्दा बढी स्कुटर मध्येबाट रोजेर खरिद गर्न सक्छन्। आकर्षक डिजाइनकै कारण टीभीएसको एनटर्क स्कुटर गएको वर्ष उक्त संख्यामा बिक्री भएको हो।
वर्षमा ४१ हजारभन्दा बढी उपभोक्ताले रोजेको टीभीएस एनटर्क स्कुटर पछिल्लो वर्ष आइपुग्दा आधाभन्दा बढीले घटेको छ। ०७७/७८ मा टीभीएसको एनटर्क स्कुटर नेपाली बजारमा ४१ हजार ८ सय २ वटा बिक्री भएको र यो दैनिक औषतमा १ सय १४.५२ वटा बिकेको हो। तर आव ०७८/७९ मा एनटर्क २० हजार ५ सय ७७ अर्थात दैनक औषत ५६.३७ मात्र हो।
यो संख्यामा बिक्रीमा गिरावट आउनुको मुख्य कारण टीभीएस एनटर्कको पर्फमेन्समा गिरावट आउनु र उपभोक्ताले खरिद गर्न छाड्नु वा अन्य ब्रान्डका प्रतिस्पर्धी स्कुटर प्रति उपभोक्ता आकर्षित हुनु नै हो। तथापी अघिल्लो वर्ष जति नेपाली उपभोक्ताले एनटर्क रोजेका थिए, गत वर्ष ठीक आधा उपभोक्ताले भने एनटर्क नै रोजेका छन्।
नेपाली बजारमा टीभीएका मोटरसाइकल तथा स्कुटर शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले बिक्री गर्दै आएको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ७१ हजार १ सय ४२ वटा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दा एनटर्क स्कुटर मात्र ४१ हजार ८ सय २ वटा बेचेको हो।
आर्थिक वर्ष २०७८/७९ मा टीभीएसले कुल ४४ हजार ४ सय मोटरसाइकल तथा स्कुटर बिक्री गर्दा एनटर्क २० हजार ५ सय ७७ वटा बिक्री भएको छ। यद्यपी गत वर्ष पनि टीभीएसको कुल बिक्री संख्यामा एनटर्कको हिस्सा करिब ५० प्रतिशत रहेको तथ्यांक छ।