शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

अमेरिकी केन्द्रीय बैंकका पूर्वअध्यक्ष बर्नान्कीसहित तीनजनालाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

सन् २००८ को वित्तीय संकटका बेला फेडरल रिजर्भको अध्यक्ष रहेका बर्नान्की नै संकटबाट कसरी जोगिने भन्ने विषयमा पुरस्कृत

सोमबार, असोज २४ २०७९
अमेरिकी केन्द्रीय बैंकका पूर्वअध्यक्ष बर्नान्कीसहित तीनजनालाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

लेहम्यान ब्रदर्स नामको लगानी बैंकलाई बचाएको भए सन् २००८ को संकटको गम्भीरता कम हुने नोबेल पुरस्कार बिजेताको तर्क छ। ‘लेहम्यान ब्रदर्श अनपेक्षित रुपमा नढलेको भए सम्भवतः त्यो राम्रो हुने थियो,’ सिकागो विश्वविद्यालयका प्राध्यापक डायमन्डले भने, ‘ मलाई लाग्छ त्यसलाई बचाउन कुनै उपाय निकालिएको भए संसारमा त्यो महामन्दीको प्रभाव कम पर्ने थियो ।’

काठमाडौं- अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भका पूर्वअध्यक्ष बेन बर्नान्कीसहित तीनजना अर्थशास्त्रीले अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्। भर्खरैको महामारी तथा सन् २००८ को महामन्दीजस्ता ठूला विश्वव्यापी संकटलाई कसरी सामना गर्ने भन्ने विषयमा गरेको योगदानका लागि उनीहरूलाई नोबेल पुरस्कार प्रदान गरिएको रोयल स्विडिस एकेडेमीले जनाएको छ।

बर्नान्की सहित डग्लस डायमन्ड र फिलिप डायब्भिगले यो पुरस्कार पाएका हुन्। बैंकहरूमाथिको नियमन तथा सरकारी तथा सार्वजनिक पैसा खर्च गरेर भए पनि डुब्न लागेका ऋणदातालाई सम्हाल्दा कसरी सन् १९३० का जस्ता गहिरा आर्थिक संकटबाट बच्न सकिन्छ भन्ने विषयमा उनीहरूले गरेको अध्ययनका लागि नोबेल पुरस्कार प्रदान गरिएको हो।

‘पछिल्ला दुई ठूला संकटहरू सन् २००८ को महामन्दी तथा कोभिड–१९ का कारण भएको आर्थिक संकटसँग जुध्न खासगरी विश्वभरिका केन्द्रीय बैंक तथा वित्तीय क्षेत्रका नियामकहरूले चालेका कदमहरू यी तीन अर्थशास्त्रीबाट उत्प्रेरित छन्,’ स्विडिस एकेडेमीले भनेको छ। सन् २००८ र २००९ मा संसारका धेरै मुलुकले सरकारी पैसा खर्च गरेर डुब्न लागेका बैंकहरूलाई जोगाए। तर, त्यसबेला धेरै उपभोक्ताले आप्mनो घरबार गुमाउनुपर्‍यो, उनीहरूलाई सहयोग गर्नुको साटो त्यो संकट ल्याउन भूमिका खेल्ने बैंकहरूलाई बचाइएको (बेल आउट गरेको) भनेर तीव्र आलोचना भएको थियो। ‘ती बेल आउटहरूमा समस्या थिए ... तर ती कदमले आम रुपमा समाजलाई लाभ पुगेको छ,’ सिकागो विश्वविद्यालयका प्राध्यापक डायमन्डले स्विडिस एकेडेमीसँगको पत्रकार सम्मेलनमा भने।

लेहम्यान ब्रदर्स नामको लगानी बैंकलाई बचाएको भए सन् २००८ को संकटको गम्भीरता कम हुने उनको तर्क थियो। ‘लेहम्यान ब्रदर्श अनपेक्षित रुपमा नढलेको भए सम्भवतः त्यो राम्रो हुने थियो,’ उनले भने, ‘मलाई लाग्छ त्यसलाई बचाउन कुनै उपाय निकालिएको भए संसारमा त्यो महामन्दीको प्रभाव कम पर्ने थियो।’

सन् २००८ मा लेहम्यान ढल्नु नै सन् १९३० पछिको सबैभन्दा ठूलो वित्तीय उथलपुथलको प्रमुख कारण बनेको थियो। आश्चर्य त के छ भने अहिलेका नोबेल बिजेता बर्नान्की त्यसबेला अमेरिकाको फेडरल रिजर्भका अध्यक्ष थिए।

त्यसबेला लेहम्यानलाई बचाउन कुनै पनि कानुनी व्यवस्था नभएको हाल ब्रुकिङ इन्स्टिच्युटका फेलो रहेका बर्नान्कीले बताए। ‘कानूनको अभावमा त्यसलाई बचाउन नसकिएपछि त्यसपछिको सबैभन्दा राम्रो बाटो भनेको त्यसलाई ढल्न दिएर बृहद् सिस्टेमिक फेलर रोक्न सरकारको वित्तीय स्रोत प्रयोग गर्नु थियो,’ बर्नान्कीले भने।

बैंकप्रतिको विश्वास गुमेका कारण मानिसहरू आत्तिएर पैसा निकाल्न लाइन लागे भने त्यसले वित्तीय संकट गम्भीर बन्ने बर्नान्कीले बताएका छन्। मानिसहरूले बैंक ढलेको देखेका छन्। डायमन्ड र डायब्भिगको अध्ययनले बैंकहरूले बचतकर्ता र ऋणीबीचको तनाव कम गर्न भूमिका खेल्ने देखाएको छ। 


प्रकाशित : सोमबार, असोज २४ २०७९१४:०१
  • सम्बन्धित विषय:

  • # Economist
  • # NobelPrize
  • # Ben Bernanke


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend