आइतबार, जेठ ६ गते २०८१    
images
images

बेमौसमी वर्षाले जलविद्युत्, सडक र कृषिमा क्षति

images
शनिबार, असोज २२ २०७९
images
images
बेमौसमी वर्षाले जलविद्युत्, सडक र कृषिमा क्षति

विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरसिलो बनेको छ।  लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ।

images
images

गलेश्वर-विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरसिलो बनेको छ।  लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ।

images
images
images

वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो आउँदा स्थानीयवासी त्रस्त भएका छन् भने दसैँ मनाउन आफन्तकोमा जाने आउने सर्वसाधारण घरभित्र नै गुम्सिएर बस्न बाध्य भएका छन्। बेमौसमी वर्षापछि आएको बाढीले जिल्लाको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको ३५ किलोवाट क्षमताको इङ्लेखोला लघुजलविद्युत्को मुहान बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको छ। 

images

लघुजलविद्युत् अवरुद्ध भएसँगै गुर्जामा रहेका दुई सय ६५ घरधुरी अन्धकार बनेका छन् । केन्द्रीय विद्युतको पहुँच नपुगेको र लघुजलविद्युत् अवरुद्ध बनेसँगै स्थानीयवासीले रातमा बत्ति बाल्न पाएका छैनन् भने सञ्चार सम्पर्कसमेत विच्छेद भएको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।

images
images

वर्षा रोकिएपछि मात्रै बाढीले पु¥याएको क्षतिको यकिन हुने जनाइएको छ। म्याग्दीमा सडक सञ्जालले नजोडिएको एकमात्रै वडा गुर्जा भौगोलिकरुपमा विकट छ। चार दिनदेखिको वर्षाका कारण जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन्। ठाउँ ठाउँमा खसेको पहिराका कारण जिल्ला सदरमुकाम बेनीदेखि बेनी–दरबाङ र बेनी–जोमसोम सडक अवरुद्ध भएका छन्।

images
images

जिल्लाका लेकाली क्षेत्रमा पहिलोपटक मध्य असोजमै हिमपात भएको छ। अविरल वर्षाका कारण बढेको चिसोसँगै गुर्जा गाउँको नजिकका डाँडामा शुक्रबार दिउँसोदेखि हिमपात भएको हो। असोज महिनामै हिमपात भएको यो पहिलो पटक भएको स्थानीयवासीको भनाइ छ। गाउँ आसपासका डाँडामा हिमपातले सेताम्मे भएको वडाध्यक्ष छन्त्यालले बताए।

‘गाउँ आसपासमा असोज महिनामै हिमपात भएको हामीले थाहा पाउँदासम्मकै पहिलो हो, वर्षा र हिमपातका कारण चिसो अत्यधिक बढेर जनजीवनमा असर पारेको बनाएको छ’, उनले भने ।

ग्रामीण सडक अवरुद्ध

गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दीका सम्पूर्ण ग्रामीण सडक अवरुद्ध भएपछि दसैँमा टीका लगाउन र आशिर्वाद लिन जाने आउनेको विजोग भएको छ। छाता र प्लाष्टिक ओढेर नजिकका आफन्तसँग मात्र टीका लगाएर चित्त बुझाउन बाध्य हुनुपरेको सर्वसाधारणको भनाइ छ। 

ग्रामीण सडक मात्रै होइन राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक, बेनी–दरबाङ सडकलगायत म्याग्दी जोड्ने सबै सडक अवरुद्ध छन्। चार दिनदेखिको अविरल वर्षाले दसैँका टीका लगाउन र आशिर्वाद लिन आफन्तकोमा जाने आउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदल, छाता र प्लाष्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जाने आउने गरेका छन्।

वर्षाका कारण बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ भने म्याग्दीका बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत एक दर्जन बढी सडक बाढी र पहिरोका कारण अवरुद्ध भएका सम्बन्धित स्थानीयतहका जनप्रतिनिधिले बताएका छन्। कतिपय स्थानमा सडक भासिएको छ।

मूल फुटे, खोला बढे, छहरा र झरना देखिए

मध्यअसारको लक्षण असोजको अन्तिम सातामा देखिँदा स्थानीयवासीले अचम्म मानेका छन् । असारमा पानी नपरेर कमिला हिँडेका खोला र खहरे अहिले वारपार गर्नै नसकिने गरी उर्लिएका छन्। असारमा नभएको बाढी र पहिराको त्रास असोजमा खेप्न बाध्य भएको बेनी नगरपालिका–२ का ८९ वर्षीय बेदप्रसाद उपाध्यायले बताए । ‘असारमा मूल नफुटेर रोपाइँ गर्न पानीको हाहाकार भयो, अहिले पन्छाउनै नसकिने गरी पानी परेको छ, मूल फुटेका छन्’, उनले भने।

त्यसैगरी असारमा नदेखिएका झरना र छहरा असोजको अन्तिम साता देखिएका छन्। पाक्ने बेलाको धान खेत पानीले भरिएको छ भने घरभित्र समेत पानी पसेर स्थानीयवासी बस्नै नसक्ने अवस्थामा पुगेका छन्। 

सडकमा चल्दैनन् गाडी, खोलो बग्छ

दसैँको बेला भए पनि म्याग्दीका ग्रामीण सडक सुनसान छन्। सडकमा गाडी चल्ने अवस्था छैन। खोलो बगेर सडक छियाछिया भएकाले मानिस सास्ती खेप्दै पैदलयात्रा गर्न बाध्य छन् । सदरमुकाम बेनी बजारदेखि ग्रामीण भेगमा सञ्चालित सडकको अवस्था अत्यन्त दयनीय बनेको छ। सडकमा भेल बगेको छ भने सडक लच्किएर पैदल हिँड्नसमेत समस्या भएको स्थानीय रामबहादुर विकले बताए।
 
म्याग्दीको सदरमुकाम बेनी बजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात वटा सडकको अवस्था अत्यन्तै नाजुक र जीर्ण भएको छ। बेमौसमी वर्षा, बाढी पहिरो र मर्मतसम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ भने सडकमै पोखरी बन्ने गरेको छ।

पाक्ने बेलाको धान खेतमै ढल्दा किसान चिन्तित

म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौँ हेक्टर जमिनमा गरिएको धानबालीमा क्षति पुगेको छ। असोज १७ गते रातिदेखि अहिलेसम्म अविरलरुपमा भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धानबालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकले जनाएका छन्। 

पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पु¥याएको हो। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर तीन हजार आठ सय ९२ हेक्टर जमिनमा धान खेती हुन्छ । जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगातारको वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनाका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ।    

जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायत ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन्।

रासस
–––


प्रकाशित : शनिबार, असोज २२ २०७९०२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend