काठमाडौैं- देशभर भारी वर्षाका कारण मुख्य सडकहरु अवरुद्धहुँदा यात्रु समस्यामा परेका छन्। नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका हुन।
विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जाने समस्यामा परेका हुन्।
राजधानीमा नजिक जान सकिए पनि राजधानी बाहिर सवारी साधन चढेर जानुपर्ने स्थानमा जान नसकिने अवस्था उत्पन्न भएको छ। कति नदीमा त बहाव खतराको बिन्दुमा पुगेको सूचना पनि सार्वजनिक भइरहेको छ।
वर्षाका कारण सडकमा आशीर्वाद थाप्न जानेको चहलपहल देखिँदैन।काठमाडौँ उपत्यका बाहिर गएका मानिस विजयादशमीपछि राजधानी आउने गरेकामा वर्षाले रोकिएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय प्रभावले वर्षा भएको जनाएको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको जनाइएको छ। विभागले आज बिहान ६ बजे मौसम पूर्वानुमानको बुलेटिन प्रकाशन गरी यस्तो जानकारी गराएको हो।
अविरल वर्षाका कारण सडक अवरुद्ध
अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। पानी परिरहँदा र बाटो बन्द हुँदा दशैंको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने–जानेहरु समस्यामा परेका छन्।
नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ। यस्तै मकवानपुरको त्रिभुवन राजपथको बागझोर खोला बढेको छ, जसले गर्दा राजपथ हेटौंडा–पालुङ–काठमाडौं सडकखण्ड र भिमफेंदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ। यस्तै ललितपुरको टुकुचेमा पहिरो गएपछि कान्तिलोकपथ पनि अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ।
यसैगरी सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड पनि पहिरोले अवरुद्ध भएको छ। आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक खण्डलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन्। बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत दर्जन बढी सडक बाढी पहिरोका कारण अवरुद्ध भएको छ। कतिपय स्थानमा सडक भासिएको छ।
बेनी–जोमसोम सडकका म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भिर, जलथले, गुइठे भिर, रुप्से झरना र काभ्रेभिरलगायतका स्थानमा सडक अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङ तथा उत्तरी म्याग्दीमा जानेहरु बेनीमा र मुस्ताङबाट बेनी फर्कनेहरु मुस्ताङमा नै रोकिन बाध्य भएका छन्। बेनी–मालढुङ्गा–पोखरा सडक पनि बिचबिचमा अवरुद्ध भएको छ। म्याग्दी र कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ।
निरन्तरको वर्षाका कारण लम्जुङको बेंसीसहर र मनाङको चामे जोड्ने सडक अवरुद्ध भएको छ।मनाङको नासों गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।