शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती

images
बिजनेस न्युज
images
दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती

विसं २०७६ यता बर्सातको चार महिना सडक अवरुद्ध हुँदै आएको छ। विसं २०७७ र २०७८ मा पनि बर्सातमा त्यही ठाँउमा चार महिना सडक अवरुद्ध भएको थियो।

images
images

बाजुरा- लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे-मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन।

images
images
images

राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो। अम्कोटमा दसैँअघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ। चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ। सडक डिभिजन कार्यालय साँफेबगर, अछामले गत साउन २३ गते वैकल्पिक सडक खोल्नका लागि काम सुरु गरे पनि त्यो बीचमै रोकिएको छ।

images

सडक भत्किएकै ठाउँबाट सडक खोल्न खोज्दा स्थानीयले काम गर्न रोकेका छन्। अम्कोटमा अवरुद्ध सडक पहिरो हटाउन खोज्दा स्थानीयले अवरोध गरेका हुन्। सडक सञ्चालनमा नआउँदा सदरमुकाम मार्तडीलगायत पूर्वी उत्तरी क्षेत्र, हुम्ला र मुगुका बासिन्दा यातायात सेवाबाट वञ्चित छन्। दसैँ तिहारका लागि घर आवत जावत गर्नेलाई सकस भएको छ।
 
चाडपर्वमा स्थानीय महँगीको मारमा परेका छन्। स्थानीय अर्जुनप्रसाद जैशीका अनुसार वैकल्पिक सडक खुलाउनका लागि जग्गा उपलब्ध गराए पनि उक्त कार्य बीचमै रोकिएपछि सडक खुलाउन नसकिएको हो। उनले सडकमा आएको पहिरो हटाउन झनै जोखिम भएको बताए। 'वैकल्पिक सडक बनाउन जग्गा दियौँ, काम नगरेपछि हाम्रो के लाग्यो', जैशीले गुनासो गरे। 

images

सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख विवश बस्नेतले वैकल्पिक मार्ग खोल्न आठ सय मिटर मात्र बाँकी रहेको बताए। वैकल्पिक सडक खुलाउने क्रममा डोजर बिग्रेका कारण काम नभएको उनको भनाइ छ। सडकमा गएको पहिरो हटाएर यातायात पुनःसञ्चालन गर्न खोज्दा स्थानीयले अवरोध गरेको बस्नेतको आरोप छ। 
 
प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले तत्काल पहिरो गएको ठाउँमा सडक सञ्चालन गर्न पहल भइरहेको बताए। विसं २०७६ यता बर्सातको चार महिना सडक अवरुद्ध हुँदै आएको छ। विसं २०७७ र २०७८ मा पनि बर्सातमा त्यही ठाँउमा चार महिना सडक अवरुद्ध भएको थियो। हिउँदमा सडक विभागले सडक बनाए पनि बर्सातमा पहिराले सडक भासिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बताए ।  

images
images

सडक बन्द भएपछि मार्तडीलगायत बजारमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि हुन थालेको छ। जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई जिल्ला बाहिर लैजान समस्या भएको छ। बूढीगङ्गा नगरपालिकाको अम्कोटस्थित सडक पहिराको उच्च जोखिममा छ। अम्कोटमा २०७७ भदौमा  सडक भासिँदा एक जनाको मृत्यु भएको थियो।

चार वर्षदेखि साँफे-मार्तडी सडक अवरुद्ध हुँदै आएको छ। सडकबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि वास्ता नगरेको नागरिक समाजका अगुवा सन्तोष विकले बताए। अम्कोटको पहिरोबारे भूगर्वविद् आएर माटोको अध्ययन गरिसकेको छ। बर्सातमा पूर्णरुपमा बन्द हुने उक्त ठाउँमा  वैकल्पिक मार्गका लागि पहल गरिनुपर्ने स्थानीयको माग छ। रासस

images

प्रकाशित : बिहीबार , असोज १३ २०७९०४:५४
प्रतिक्रिया दिनुहोस