बुधबार, मंसिर १२ गते २०८१    
images
images

प्लाष्टिक विस्थापित गर्दै माटोका सामग्री 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ११ २०७९
images
images
प्लाष्टिक विस्थापित गर्दै माटोका सामग्री 

हस्तकला महासङ्घले तालिम दिएपछि कुमाल समुदायले आधुनिक प्लेट, कप बनाउन सिकेका हुन्। तर उनीहरुले बनाएका सामग्रीको मूल्य भने निर्धारण भएको छैन।

images
images

दाङ- तुलसीपुर उपमहानगरपालिका-७ प्रसेनी निवासी प्रेमबहादुर कुमाल माटोका प्लेट र कप बनाउँदै थिए। कुनै समय माटाका गाग्री बनाउने कुमाल हिजोआज प्लेट, कप बनाउनमै व्यस्त छन्। 'कुनै समय गाग्री, भुर्का, हाँडीको धेरै माग आउँथ्यो, तर अहिले बजारमा प्लाष्टिकका गार्गी आएकाले त्यसको माग छैन', उनले भने, 'बरु अहिले प्लेट र कपको माग बढेको छ।'

images
images
images

अहिले उहाँको दैनिकी त्यही प्लेट र कप बनाउनमै बित्ने गरेको छ। बजारमा मट्का चिया पसल पनि धेरै खुलेकाले मट्का चियाका लागि कपको माग अत्यधिक हुने गरेको उनले बताए। पछिल्लो मागअनुसार प्लेट, कपहरु पुर्‍याउनै गाह्रो हुने गरेको छ। 'माग धेरै आउँछ, कोही होटलले त कोठा दिन्छौँ, यही आएर बनाइदिनुस् पनि भन्ने गर्नुभएको छ', उनले भने, 'तर हामीले माग भएअनुसार पुर्‍याउन गाह्रो हुने गरेको छ।' पछिल्लो समय गमला र माटोबाट घोडाका मूर्ति बनाउन पनि माग आउने गरेको छ।
 
माटाका कप, प्लेटलगायत आधुनिक सामग्रीको माग बढेको भए पनि त्यसअनुसार जनशक्ति नहुँदा समस्या भएको उनको भनाइ थियो। नयाँ पुस्ताले माटोका भाडा बनाउने पेशाप्रति चासो नदिँदा पेशा नै लोप हुने अवस्थामा पुगेको स्थानीय कविराम कुमालले बताए। 'माग धेरै छ, हामी पहिलेदेखि गर्दै आएका बूढापाकाले यो पेशा अँगालिरहेका छौँ, नयाँ पुस्ताले त्यति धेरै चासो नदिएकाले पनि यो पेशा सङ्कट पर्ने हो कि भन्ने चिन्ता छ', उनले भने, 'तर केही नयाँ पुस्ताले भने चासो दिइरहेका छन्।'  

images

माटाका भाडालाई ‘ग्लेजिङ’ गर्ने मेसिन पनि भएकाले त्यहीअनुसार कप बनाएर बजारमा पठाउने गरेकोसमेत उनले बताए। गरिबी निवारण कोषले उक्त सामग्री प्रदान गरेपछि अहिले त्यहाँका कुमाल समुदायलाई सहज भएको छ। करिब ६० परिवार रहेको उक्त कुमालगाउँमा अहिले १०-११ जनाले मात्रै माटाका भाँडा बनाउने गरेका छन्।

images

हस्तकला महासङ्घले तालिम दिएपछि कुमाल समुदायले आधुनिक प्लेट, कप बनाउन सिकेका हुन्। तर उनीहरुले बनाएका सामग्रीको मूल्य भने निर्धारण भएको छैन। 'हामीले बनाएका माटाका भाँडाको मूल्य निर्धारण छैन', कविरामले भने, 'त्यसैले हामीले अहिले अनुमान र बार्गेनिङका आधारमा बिक्री गर्ने गरेका छौँ।' नयाँ युवा युवतीलाई सिकाएर घोराही, तुलसीपुरमा माटाका भाँडा निर्माण गर्ने स्थान र छुट्टै पसल स्थापना गर्नेसमेत तयारी गरेको उनको भनाइ छ। अहिले दैनिक एक जनाले करिब एक सय कप निर्माण गर्दै आएका छन्।  

कुमाल समुदायलाई माटो पाउन पनि उत्तिकै समस्या हुने गरेको छ। अहिले तुलसीपुर-७ स्थित कालोखोलाको मटेराबाट माटो निकाल्ने गरेको भए पनि त्यहाँबाट ल्याउन पटक-पटक विवाद हुने गरेको छ। स्थानीयले त्यहाँबाट माटो निकाल्न नदिने गरेको कुमाल समुदायको गुनासो छ। रासस


प्रकाशित : मंगलबार, असोज ११ २०७९०४:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend