शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

‘गन्तव्य जुगल’ को प्रवर्द्धनमा जुट्दै सिन्धुवासी

images
बिजनेस न्युज
images
‘गन्तव्य जुगल’ को प्रवर्द्धनमा जुट्दै सिन्धुवासी

आर्थिक विकासका लागि पर्यटन क्षेत्रको प्रवर्द्धन र त्यसलाई विस्तारित उद्योगका रुपमा लैजानका लागि पुस्तक महत्वपूर्ण हुने जनाइएको छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक रहेको जुगल हिमालको प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ फोटो पुस्तक ‘गन्तव्य  जुगल’ सोमबार सार्वजनिक भएको छ। एक समारोहमा सभामुख अग्निप्रसाद सापकोटाले त्यस हिमाल र आसपासका क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य समेटिएको पुस्तक सार्वजनिक गरे। 

images
images
images

काठमाडौं उपत्यकाबाट कूल एक सय ५० किलोमिटरको दूरी तय गरेपछि जुगल हिमालको आधार शिविर पुग्न सकिन्छ। सोही हिमालका आरोही मिलन तामाङले पुस्तकको संयोजन एवं लेखन गरेका हुन्। 

images

जुगल गाउँपालिकाले प्रकाशन गरेको पुस्तकमा त्यस हिमाल र आसपासका क्षेत्रका बारेमा सविस्तार जानकारी दिइएको छ। जुगल क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बि.स. २०७५ चैतमा नै सो हिमाल आरोहणको अनुमति दिइएको थियो। 

images

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टको कार्यकालयमा नै सो हिमाल आरोहणको अनुमति दिइएको थियो। आरोहणको अनुमति पाउने वित्तिकै यस पुस्तकका लेखक तमाङलगायतले सफल आरोहण गर्नुभएको थियो। हाल आधार शिविरतर्फ सहज रुपमा पुग्नका लागि बलेफी–कात्तिके–पेम्बाथान सडक निर्माण भइरहेको छ। केही दिन पहिले मात्रै सभामुख सापकोटाले सो सडक निर्माणलाई गति दिन सम्बन्धित निकायलाई आयोजनास्थलमा नै पुगेर निर्देशन दिएका थिए। सभामुख सापकोटाको पहलमा नै सो सडक निर्माण भइरहेको छ। सडक निर्माणका लागि एक अर्ब बराबरको लगानी भएको छ। 

images
images

राजधानी नजिक भएर पनि प्रचारप्रसार हुन नसकेको सो हिमाललाई मूल प्रवाहमा ल्याउने र धेरै धेरै पर्यटक भित्र्याएर आर्थिक समृद्धिको दिशामा ध्यान केन्द्रीत गर्न आफूहरू लागिपरेको पुस्तकका लेखक तामाङको भनाइ छ। 

आर्थिक विकासका लागि पर्यटन क्षेत्रको प्रवर्द्धन र त्यसलाई विस्तारित उद्योगका रुपमा लैजानका लागि पुस्तक महत्वपूर्ण हुने त्यस अवसरमा जानकारी दिइएको थियो। एउटै आधार शिविरबाट आठ वटा हिमाल आरोह गर्न सकिने भएकाले पनि पर्यटकको विशेष आर्कषणमा पर्ने  विश्वास लिइएको छ। 

सभामुख सापकोटाका अनुसार जुगल क्षेत्रको पर्यटन विकासका सम्भावनालाई पुस्तकले अझ विस्तार गरेको तथा आन्तरिक र बाह्य पर्यटकको चासो बढाउनेछ। जुगल गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार जुगल हिमशृङ्खलालगायत यस पालिकाभित्र रहेका अन्य धार्मिक, सांस्कृतिक, प्राकृतिक र अन्य पर्यटकीय क्षेत्रहरूलगायत समग्र क्षेत्रको यर्थाथ चित्रण गर्न पुस्तक महत्वपूर्ण छ। सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये जुगल गाउँपालिका पर्यटन क्षेत्रको विकासका लागि प्रवल सम्भावना रहेको पालिका हो।

नेपालकै विभिन्न पासमध्ये तिलमान पास, धार्मिक र प्राकृतिक महत्व रहेको भैरवकुण्ड क्षेत्र, धार्मिक महत्व रहेको नेपेमासाल यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हुन्। जलस्रोतको धनी रहेको यो गाँउपालिकामा साना तथा ठूला गरी १० वटा जलविद्युत् आयोजना छन्। 

सो हिमशृङ्खलामा कूल छ हजार मिटर माथिका ११ वटा हिमाल छन्। भैरव टाकुरा छ हजार सात सय ८८ मिटर, दोर्जेलाक्पा छ हजार आठ सय ६६, गङछेम्बु छ हजार तीन सय ७८, गुरकर्पो ह्री छ हजार आठ सय ८८ मिटर, ग्याल्चेन पिक छ हजार एक सय ५१ मिटर, लाङशिसा ह्री छ हजार चार सय १२ मिटर उचाईका हिमाल छन्। 

सन् १९४६ मा बेलायती आरोही बिल तिलमानले नेपालको विभिन्न हिमालको अध्ययन तथा आरोहण गर्ने क्रममा यस हिमशृृङ्खलाका पिक र हिकालको आधार क्षेत्र र पाँच पोखरी हुँदै नेपालकै सबैभन्दा लामो पास तिलमान पास यात्रा गरेको इतिहास छ। अत्यत्नै साहसिक र चुनौतीपूर्ण पास भएकाले त्यस स्थानलाई आफ्नै नाम दिएर ‘तिलमान पास’ नामाकरण गरिएको हो। सो बारेमा ‘नेपाल हिमालय’ नाम पुस्तक पनि प्रकाशन भएको छ।

सिन्धु पर्यटन परिषद्को समन्वयमा बागमती प्रदेश र जुगल गाउँपालिकाको आयोजनामा २०७५ साल चैत २६ गते जुगल हिमालका ११ वटा चुचुरामध्ये कूल छ हजार एक सय ५१ मिटर उचाईको ग्याल्जेन पिकको सफल आरोहण गरिएको थियो। सो आरोहण दलमा पुस्तकका लेखक तामाङ, सर्मिला थापा, सुभाष कर्माचार्य, माधव सापकोटा र प्रेम गुरुङ सहभागी थिए। 

आरोहण दलका सदस्य समेत रहेका नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटाका अनुसार सिन्धुपाल्चोक जिल्लाको पर्यटन प्रवर्द्धन गर्दै आर्थिक विकासका लागि पनि जुगल क्षेत्रको प्रचारप्रसार जरुरी रहेको बताए। रासस 

images

प्रकाशित : सोमबार, असोज १० २०७९१०:२३
प्रतिक्रिया दिनुहोस