बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

सचेत बन्दै उपभोक्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १० २०७९
images
images
सचेत बन्दै उपभोक्ता
फाइल तस्बिर

पसलमा आउने ग्राहकले खुला राखिएको खाद्यान्नभन्दा प्याक गरिएको खाद्यान्न किन्नेक्रम बढ्दै गएको व्यापारीको भनाइ छ।

images
images

तनहुँ- केही वर्ष पहिलेसम्म व्यास-६ सिसाघाट निवासी ५६ वर्षीया देवका नागिलालाई दैनिक उपभोग्य खाद्यान्नको गुणस्तरबारे खासै चासो थिएन। जेठो छोरा राजनको निमन्त्रणामा चार महिना अष्ट्रेलिया बसेर आएपछि भने उहाँमा परिवर्तन देखिएको छ। नागिला जस्तै विदेशको देखासिकीले खानपान शैली बदल्ने अहिले गाउँघरमा अधिकांश भेटिने गरेका छन्। 

images
images

कुनै पनि खाद्यान्नको उत्पादन, म्याद समाप्त मिति हेर्ने र खुला स्थानको खाद्यान्न खाँदै नखाने बानी बसालेको नागिलाले बताइन्। 'पहिले मलाई जे पनि खान पाए भइहाल्थ्यो भन्ने लाग्थ्यो', उनले भनिन्, 'परीक्षण गरेर मात्रै खानुपर्ने रहेछ भन्ने अष्ट्रेलियामा पुगेपछि देखियो। त्यसैले अचेल हत्तपत्ति बाहिरको खान्न भने पनि हुन्छ।'

images
images

'अष्ट्रेलियामा सडक किनाराको फलफूलसमेत कसैले नखाने रहेछन्', नागिलाले भनिन्, 'किन नखाएको भनेर छोरालाई सोधेको त जाँचेर खानयोग्य भए मात्र खाने चलन छ रे। तर हाम्रोमा हामीलाई खान पाए भयो। खराब खानेकुराले स्वास्थ्यमा ठूलो हानि गर्ने रहेछ भन्ने कुरा बुझियो।' नेपालमा तरकारी, फलफूल, मिठाइ, खुला मसला जथाभावी राख्ने चलन भएकाले ती खानेकुरा खाँदा सचेत हुन नागिलाले सबैलाई आग्रह गरिन्।

images
images
images

व्यास-२ दमौली निवासी ५१ वर्षीया कृष्णदेवी अधिकारीको दैनिकी पनि फेरिएको छ। खाद्यान्न पसलमा मसला किन्दै गर्दा भेटिएकी अधिकारीले प्याकेटमा अङ्कित उत्पादन र सकिने मिति हेरेर मात्र खाद्यान्न किन्ने गरेको बताइन्। 'सडक पेटीमा खुला ठाउँमा राखेर धुलाम्य भएका खानेकुरा खान्न', उनले भनिन्, 'खानै परे प्याकेटमा राम्रोसँग लेवल हेरेर मात्रै खानेकुरा किन्ने गरेको छु।'

केही वर्ष पहिले छोरा मिलनले बोलाएर अष्ट्रेलिया र छोरी सन्ध्याले बोलाएर अमेरिका घुमेर आएपछि खाद्यान्नमा सचेतना बढेको अधिकारीले बताइन्। 'हामीहरु खानेकुरामा खासै ख्याल गर्दैनौँ', उनले भनिन्, 'जथाभावी खाएपछि शरीरमा असर धेरै हुन्छ भन्ने हेक्का गर्नुपर्ने रहेछ।' क्यान्सर जस्तो खतरनाक रोगको मुख्य कारण पनि जथाभावी विषादी हालेको खानेकुराले गर्दा हुने आफूले थाहा पाएको अधिकारीले बताइन्। तरकारी राम्रोसँग पानीमा पटकपटक धुने गरेर मात्र खाने गरेको उनले जानकारी दिइन्। 
 
पसलमा आउने ग्राहकले खुला राखिएको खाद्यान्नभन्दा प्याक गरिएको खाद्यान्न किन्नेक्रम बढ्दै गएको व्यापारीको भनाइ छ। उपभोक्ता अधिकारको सवालमा स्वयं बिक्रेता सचेत बन्दै गएपछि आफूहरुलेसमेत खुला खाद्यान्न बिक्री कम गर्दै गएको तनहुँ खुद्रा व्यवसायी सङ्घका अध्यक्ष परमेश्वर गुप्ताले बताए। 'ग्राहकले अचेल खुला किन्न छाडेर लेबल भएको सामान किन्ने गर्नुहुन्छ', सङ्घका अध्यक्ष गुप्ताले भने, 'ग्राहकको रोजाइ नै लेबल भएको खाद्यान्नमा पर्न थालेपछि हामीले पनि खुला बिक्रीलाई कम गर्दै गएका छौँ।'

खुला खाद्यान्नलाई आफूहरुले सिसाभित्र राखेर बिक्री गर्ने योजना बनाएको व्यास नगरपालिका-३ दमौलीस्थित गुप्ता किराना पसलका सञ्चालनसमेत रहनुभएका उनले बताए। 

तनहुँको दमौली, दुलेगौँडा, डुम्रे, खैरेनीटार, भिमाद, आँबुखैरेनी जस्ता मुख्य बजारमा करिब ५०० खुद्रा पसल रहेको तनहुँ खुद्रा व्यवसायी सङ्घले जनाएको छ। जिल्लाभरि खाद्यान्न र तरकारी गरी दैनिक करिब ३० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको सङ्घले जनाएको छ। 

युरोपलगायत विदेशमा रहेका आफन्तलाई भेट्न जाँदा देखासिकीले उपभोक्ता सचेतना बढेको आफूले पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख प्रशान्त पोखरेलले बताए। 'प्रायः अनुगमनका क्रममा विदेशमा यस्तो हुने रहेछ भन्ने कुरा उपभोक्ताले भन्नुहुन्छ', पोखरेलले भन्नुभयो, 'उपभोक्ता अधिकार गम्भीर विषय हो भन्ने हेक्का धेरैलाई हुँदै गएको छ।'

तनहुँ, गोरखा, लमजङ, मनाङ र पूर्वी नवरपरासीमा गरिने अनुगमनका क्रममा आफूहरुले लेवलमा उत्पादन र सकिने मिति प्रष्टसँग देखिनेगरी उल्लेख भएका खाद्यान्न मात्र बिक्री गर्न बिक्रेतालाई भन्दै आएको कार्यालय प्रमुख पोखरेलले बताए। आफूहरुले मिठाइ, मसलालगायतका दैनिक उपभोग्य सामग्री खुलारुपमा बिक्री नगर्न र बिक्री गर्नु परे सिसाभित्र राखेर मात्र बिक्री गर्न भनेको उहाँले जानकारी दिए। रासस 


प्रकाशित : सोमबार, असोज १० २०७९०७:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend