काठमाडौं- एसियाली विकास बैंकले सार्वजनिक गरेको डिजिटल उद्यमशीलता सूचकमा नेपालको अवस्था सबैभन्दा पुछारमा रहेको छ।
कुनै पनि देशमा उद्यमशीलता फस्टाउनका आवश्यक आधार कस्तो छ? कानूनीदेखि संस्थागत, वित्तदेखि सामाजिक अवस्था, शिक्षा तथा ज्ञानको वातावरणका बारेमा विभिन्न सूचक तथा आधारमा रहेर बैंकले निकालेको सूचकमा नेपालको अवस्था सबैभन्दा कमजोर रहेको छ।
एसियाली अर्थतन्त्रमा सबैभन्दा कमजोर देशका रुपमा नेपालको अवस्थालाई उक्त सूचकमा दर्ज गराइएको छ। युरोपियन कमिसनले विकास गरेको डिजिटल उद्यमशीलता प्रणालीमा रहेर एडीबीले निकालेको विश्व उद्यमशीलता सूचकमा कमजोर रहेको छ।
कूल ११३ देशमा नेपाल १०४ स्थानमा रहेको छ। यो सूचकमा पहिलो सिंगापुर रहेको छ भने दोस्रोमा सयुक्त राज्य अमेरिका छ।
सूचक अनुसार नेपालको डिजिटल उद्दशीलताका आधारशीला सबै कमजोर छन्। सांस्कृतिक तथा अनौपचारिक संस्था, मानव संशाधन र बजार अवस्थामा नेपालको अवस्था निकै कमजोर छ। २१ एसियाली देशको सूचीमा नेपाल सबैभन्दा पुछारमा छ।
कुनै पनि देशको समग्र उद्यमशीलताको वातावरण र त्यसमा डिजिटल उद्यमशीलताको अवस्था पहिचान गर्नका लागि आठवटा आधारशीला र त्यसका १०३ वटा भिन्न सूचक मापन गरेको थियो। सामाजिक र अर्थतन्त्रको डिजिटाइजेसन, पूर्वाधार, सर्वव्यापी पहुँच जस्ता पक्षमा यो सूचकमा समेटिएका छन्।
आठवटा आधारशीलता रहेको सूचकमा प्रत्येक आधारशीलाको डिजिटल भार निर्धारण गरिएको छ। यसमा शून्यदेखि १०० सम्मको अंकभार तोकिएको छ। जसमा जति धेरै अंक त्यति धेरै राम्रो अवस्थाको चित्रण गर्छ। संस्कृति र अनौपचारिक संस्था, औपचारिक संस्था, नियमन र कर, बजार अवस्था र भौतिक पूर्वाधार आधारभूत आधारशीला रहेका छन्। यी प्रत्येक आधारशीलामा डिजिटल भार तोकेर सूचक निकालिएको छ।
त्यस्तै प्रणालीगत फ्रेमवर्कमा जनशक्ति, ज्ञान उत्पादन, वित्त र नेटवर्क तथा सहायता रहेका छन्। यी आठवटा आधारशीलामा नेपाल सबैभन्दा कमजोर रहेको छ। २१ एसियाली देशमा नेपालको अंकभार औसतभन्दा न्यून रहेको छ।
समग्र डिजिटल सूचकका तीनवटा क्षेत्रमा पनि नेपालको अवस्था कमजोर रहेको छ। स्ट्यान्डअप प्रणाली, स्टार्टप प्रणाली र स्केलअप प्रणालीमा नेपाल औसतभन्दा न्यून छ।
नेपालमा डिजिटलमात्र होइन उद्यमशीलताका लागि कुनै पनि भरपर्दो प्रणाली नबनेको उक्त सूचकले प्रष्ट संकेत गर्छ। भरपर्दो कानूनी व्यवस्था, सहच वित्तीय पहुँच, प्रतिस्पर्धी बजार र बलियो पूर्वाधार चाहिन्छ। तर यी कुनै पनि क्षेत्रमा नेपालमा अहिलेसम्म काम नभएको सूचकले देखाएको छ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा आर्थिक सुधार गरियो। तर सोही अनुसार प्रणाली संस्थागत नहुँदा उद्यमशीलता मौलाउने अवस्था नै नआएको अर्थशास्त्री विशाल चालिसे बताउँछन्।
'सन् १९९० पछिका तीन दशकमा राजनीति स्थिर भएन। राजनीति अस्थिर भएपछि नीतिमा स्थिरता हुने कुरै भएन। जब नीतिगत अस्थिरता हुन्छ तब आर्थिक वातावरण अनिश्चित हुन्छ। उद्यमशीलता भनेको दीर्घकालीन प्रक्रिया हो। ठूलो लगानी, सम्भाव्य बजार खोज्नपर्छ। यी सबै जोखिम लिएर कसैले हात हाल्यो भने त्यसले बजार लिन समय लाग्छ। सुरू गर्दा एउटा सरकार र त्यहीअनुसार नीति हुन्छ। अर्को सरकार आउँदा अर्कै नीति आइसक्छ। यस्तो अवस्थामा सिर्जनशीलता मौलाउने कुरै भएन' चालिसेले भने।
राजनीतिक नेतृत्व तथा प्रणाली नै खुला तथा प्रतिस्पर्धी बजार बनाउनेभन्दा पनि आफ्नो लाभ हेर्नेतिर गएको छ। यसले गर्दा नेपालमा खासै उद्यमशीलताका लागि उर्वर वातावरण नबनेको उनको भनाइ छ। यो समस्या अहिलेभन्दा पनि राणाकालदेखि नै आएको चालिसेको भनाइ छ।
स्थिर राजनीतिक व्यवस्था, प्रणालीगत स्थिरता आधारभूत रुपमा कमजोर छ। डिजिटल उद्यमशीलताका लागि आवश्यक चलायमान कनेक्सन, भरपर्दाो बिजुली आवश्यक पर्छन्। आवश्यक जनशक्ति तथा शिक्षामा लगानी झनै कमजोर छ। यो कुरा सूचकले पनि देखाएको छ।
कानून नियम, प्रणाली तथा पूर्वाधारसँगै वित्तीय पहुँचको पनि ठूलो समस्या रहेको राइडसेयरिङ कम्पनी टुटलका संस्थापक शिक्षित भट्टको भनाइ छ। उद्दमशीलका लागि नेपालमा जे हुनुपर्ने त्यही नहुनु नै ठूलो समस्या रहेको उनको भनाइ छ।
'कुनै पनि समस्यामा अवसर हुन्छ। समस्या समाधानका लागि जुन सिर्जनशीलता चाहिन्छ त्यसका लागि उर्वर वातावरण चाहिन्छ। जस्तो हाम्रोमा वित्तीय पहुँच नै छैन। भएपनि यसको गुणस्तरीय पहुँच छैन' उनले भने।
एसिया प्रसानत क्षेत्रमा डिजिटल उद्यमशीलताको अवस्था कमजोर रहेको सूचकले देखाएको छ। प्राय सबै देशले सुधार गर्नुपर्ने एडीबीले औँल्याएको छ। सिंगापुर र दक्षिण कोरिया जस्ता एकाध देश बाहेक अधिकांसको अवस्था निराशाजनक रहेको सूचकले देखाएको छ।