काभ्रेपलाञ्चोक- विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान बजेट अभावमा तीन वर्षदेखि रोकिएको छ।
बागमती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा वर्षेनी विनियोजन हुने रकम रोकिएका कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान यस वर्ष पनि रोकिने भएको हो।
संरक्षण अभियानअन्तर्गत डिभिजन वन कार्यालय धुलिखेलले तीन वर्षअघि सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो। कार्यालयका अनुसार प्रदेश सरकारले २०७४/०७५ मा रु पाँच लाख तथा त्यसपछिको आर्थिक वर्षमा दुई लाख पठाएको थियो। प्रदेश सरकारबाट तीन वर्षदेखि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको कार्यालयका सूचना अधिकारी गौरव भट्टले बताए।
उनका अनुसार कृषि उत्पादनमासमेत निकै गुणकारी नेपालमा रहेको स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालकको अनुसन्धान/संरक्षण अत्यावश्यक देखिन्छ। 'समग्र बन्यजन्तु सुरक्षाका विषयमा छलफल हुन्छन्, अनौपचारिक रुपमा सालकबारे छलफल भए पनि अनुसन्धान तथा संरक्षणबारे योजना बनेको छैन',उनले भने।
अभियानकै क्रममा सालकको उपयुक्त बासस्थान भएको स्थानीय क्षेत्रमा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा पनि निकै उत्साहित पनि देखिएका थिए। अभियानताका जिल्लाको कुन कुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको थियो।
विसं ०७८ असारमा पनौती नगरपालिका–८ पाल्पाली गाउँमा एउटा सालक भेटिएको थियो। राति ९ बजे स्थानीयको घरको आँगनमा भेटिएको उक्त सालक प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमै छाडिएको थियो। पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पेङ्गोलिन’ थियो। नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पेङ्गोलिन’नै रहेका छन्। सालकको उपयुक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शृङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा तीन वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम गरिएको थियो। जिल्लाको अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला (खपटा) तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता देखिएको छ।
कार्यालय प्रमुख देवीचन्द्र पोखरेलले सालक मानिसका लागि उपयुक्त जनावर भएको बताए। उनका अनुसार सालकले बालीका कमिला र धमिरा खान्छ, पर्यावणलाई जोगाउन मद्दत पुर्याउँछ, मानिसलाई भने आक्रमण गर्दैन। सालकमा १५ सेन्टिमिटर टाढाका किरा स्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ।
पनौतीको बल्थलीस्थित समुदायमा आधारित चोरी–शिकारी नियन्त्रण एकाइका अनुसार स्थानीय आठ वटा सामुदायिक वनमा अध्ययन गर्दा सालकको पूरानाभन्दा नयाँ प्वालको सङ्ख्या कमी देखिँदा सालक लोप हुने अवस्थामा रहेको छ। एकाइले स्थानीय दुई सय पचास स्कुले विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गराएको छ एकाइकै पहलमा काठमाडौं विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए । एकाइले सालक तस्करीविरुद्ध विशेष निगरानी गर्दै आएको छ।
दुर्लभ सालक जिल्लामा कति छ भन्ने कुनै स्पष्ट तथ्याङ्क नभए पनि कालो सालक काभ्रेपलाञ्चोकको खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको उसको बासस्थानबाट देखिएको अनुसन्धानबाट खुलेको छ।
संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनमा रहेको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुनसक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपाल बताउँछन्। विश्वभर एसिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातीका सालक एसियामा मात्रै पाइन्छ। एसियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक रहेका छन्।
सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी हुनेगरेको घटनाक्रमले देखाएको छ। वन संरक्षण ऐन अनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, पाँचदेखि १० लाखसम्म जरिवाना तथा दुवै सजाय हुनसक्ने व्यवस्था छ।
अध्ययन प्रतिवेदनअनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ। प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वभावको जनावर सालक विशेष गरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ। यसको प्राकृतिक प्रजनन पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा सहयोग गरिरहेको छ। रासस