काठमाडौं- नेपालको सहरी क्षेत्रबाट उत्पन्न हुने फोहरमैलाको व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ।
केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनबाट फोहरमैला अझै पनि बेवारिसे फाल्ने गरिएको पाइएको छ। फोहरमैला कति निष्कासन हुन्छ, यसमा कस्ता वस्तुहरू समावेश छन् र यी निष्कासित फोहर तथा त्यसमा रहेका वस्तुहरू कहाँ जान्छन्? भन्ने तथ्यांकका आधारमा विभागले गरेको अध्ययनबाट नेपालभरबाट उत्पन्न हुने फोहरमैलाको व्यवस्थापन नभएको पाइएको छ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त वातावरणीय लेखापद्धति सिस्टम अफ इन्भार्मेन्टल इकनोमिक्स अकाउन्टिङ (एसईईए) का आधारमा अध्ययन गरिएको विभागले जानकारी दिएको छ।
विभागको यो अध्ययनअनुसार नेपालमा वार्षिक करिब १० लाख टन फोहर उत्पादन हुन्छ। यसरी उत्पादन भएको मध्ये आधा फोहर पनि ल्यान्डफिल साइटमा पुग्दैन।
अध्ययनअनुसार वार्षिक ३ लाख ८९ हजार ९ सय ८३ टन फोहरमात्र ल्याण्डफिल साइटमा जम्मा हुन्छ। उत्पादन हुने कूल फोहरमध्ये आधाभन्दा धेरै कि बेवारिसे कि त जलाउने गरिएको छ।
विभागको अध्ययनअनुसार ३ लाख १५ हजार ६९ टन फोहर अझै पनि नदी किनार तथा बगरमा फाल्ने गरिएको छ। २२ हजार टन फोहर जलाउने गरिएको छ।
ल्यान्डफिल साइटमा जाने तथा व्यवस्थापन गरिएको फोहरको पुन: प्रयोग नगन्य जस्तो मात्र छ। फोहरमैलाको पुनःचक्रीय उपयोगमा जान सक्ने प्लाष्टिक, धातु, कागज तथा कागजजन्य वस्तुको उपयोग न्यून रहेको तथ्यांक छ। १० लाख फोहरमा जम्मा ८ हजार ६९० टन मात्र पुनःचक्रीय रूपमा उपयोग हुने गरेको छ।
नेपालमा सबैभन्दा धेरै आवासीय क्षेत्रबाट फोहर उत्पन्न हुने गरेको छ। वर्षमा ३ लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट २ लाख ४५ हजार ८ सय ८४ टन व्यापारिक क्षेत्रबाट १ लाख ३ हजार २ सय ४४ टन शैक्षिक संस्थाहरूबाट उत्पन्न हुन्छ।
औद्योगिक फोहरको हिस्सा भने खासै उल्लेखनीय छैन। कूल ९४ हजार ३ सय ९२ टन औद्योगिक क्षेत्रबाट १ लाख १ हजार ५ सय ७ टन स्वास्थ्य सेवा क्षेत्रबाट र ६६ हजार २ सय २० टन अन्य क्षेत्रबाट उत्पन्न गरेको छ।
फोहरमैलाको मात्रा घटाउँदै, त्यसको पुनः प्रयोग तथा चक्रीय उपयोग गर्दै उचित व्यवस्थापन गर्ने भनेर सरकारले बर्सेनि कार्यक्रम बनाएपनि त्यसको कार्यान्वयन फितलो देखिएको छ। यहाँसम्म कि स्थानीय तहले फोहरमैलाको तथ्यांक समेत राख्ने गरेका छैनन्।
जनस्वास्थ्य सुरक्षा तथा जल, वायु एवम्ं भूप्रदुषणको रोकथामलगायत महत्वपूर्ण प्राकृतिक स्रोत साधनमा नकारात्मक प्रभाव पार्ने फोहरमैलाको व्यवस्थापनमा सीप र प्रविधिको अधिकतम परिचालन गर्नुपर्ने अध्ययनको सुझाव रहेको छ।