काठमाडौं- विद्युतीय सवारीको प्रयोग बढ्दै गएकाले भारतको दिल्ली सरकारले विद्युतीय सवारीको चार्जर र ब्याट्री स्वापिङ स्टेसनको सहज पहुँचका लागि डेटाबेस सिस्टम सार्वजनिक गरेको छ। दिल्ली सरकारले उक्त डेटाबेस ‘स्वीच दिल्ली’ पोर्टलमा सार्वजनिक हो।
यो सिस्टममा दिल्लीमा उपलब्ध सबै विद्युतीय सवारी बिक्रेताहरु उपलब्ध हुनेछन्। दिल्ली सरकारले बनाएर सार्वजनिक गरेको यो प्रणालीमा दिल्ली भित्र बनेका सबै चार्जजिङमा खुला रुपमा आम उपभोक्तालाई पहुँच दिनेछ। हाल दिल्लीमा २ हजार ५ सय चार्जिङ स्टेसन रहेका छन्।
भविष्यमा निर्माण हुने चार्जिङ स्टेसन तथा ब्याट्री स्वापिङ स्टेसनसमेत उक्त डेटा बेसमा समेटिने छ। २०२१ को सुरुवातमा दिल्ली सरकारले बस ट्रान्जिट ओपन डेटाबेस ल्याएको थियो। यो धेरैहदसम्म सफल भएको मान्छि। यस्तै डेटाबेसमा गुगल, ओला। उबरलगायतका कम्पनीहरु चल्दै आएका छन्।
यसरी दिल्ली सरकारले डेटाबेसमा आधारित ईभी चार्जिङ तथा ब्याट्री स्वापिङ स्टेसन बारे एकीकृत रुपमा जानकारी दिँदा उपभोक्तामा रहेको रेन्ज एन्जाइटी समेत न्यून हुन्छ। दिल्लीमा रहेका चार्जिङ स्टेसन बारे मोबाइल एपबाट सहजै रुपमा भेट्न सकिन्छ।
हाल दिल्लीका विभिन्न स्थानमा २५ सयवटा चार्जिङ तथा ब्याट्री स्वापिङ स्टेसन रहेका छन्। यो संख्या २०२५ सम्ममा १० हजारभन्दा बढी हुने अनुमान दिल्ली सरकारका यातायात मन्त्रीले बताएका छन्।
नेपालमा पनि विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ। योसँगै चार्जिङ स्टेसनको आवश्यकता समेत बढ्दै गएको छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ५१ वटा चार्जिङ स्टेसन छिट्टै सञ्चालनमा आउँदै छ। रत्नपार्कमा निर्माण भएको चार्जिङ स्टेसन सञ्चालनमा आइसकेको छ।
निजी क्षेत्रबाट पनि ठूलो संख्यमा चार्जिङ स्टेसन निर्माणको कार तीब्र गतिमा भइरहेको छ। विद्युतीय कार बिक्रेताहरु टाटा, हुन्डाई, एमजी, किया, एमजी, दिगोलगायतले सहरी क्षेत्रका साथै राजमार्गहरुमा समेत चार्जिङ स्टेसन बनाइ रहेका छन्।
नेपाली बजारमा कारमात्र होइन दुई पांग्रेदेखि ठूला बससम्म विद्युतीय आउन थालेका छन्। टाटा, हुन्डाई, किया, एमजीलगायत विद्युती सवारी बिक्रीकर्ताहरु अधिकांशले स्टेसन बनाउने कामलाई विशेष प्राथमिकता दिएका छन्।
हाल नेपाली बजारमा सबैभन्दा धेरै बिक्री भएको विद्युतीय सवारीमा निजी कार हो। त्यसपछि विद्युतीय स्कुटर तथा मोटरसाइकल, विद्युतीय रिक्सा बिक्री हुने गरेको छ। पछिल्लो समय केही कम्पनीले साना कमर्सियल सवारी, पिकअप पनि विद्युतीयमा ल्याउन थालेका छन्। सीमित संख्यामा ठूला विद्युतीय बससमेत सञ्चालन हुँदै आएको छ।
विद्युतीय कारको बिक्री बढेसँगै आयातकर्ता कम्पनीहरुले फास्ट चार्जरको स्थापना पनि बढाउँदै गएको छन्। काठमाडौं वा सहरी क्षेत्रमा मात्रै ईभी चलाउने हो भने घरमा राखिने चार्जरबाट चार्ज गर्दा नै पर्याप्त हुन्छ। तर, हाइवेमा विद्युतीय कार चलाउने हो भने केही सय किलोमिटरमा चार्जिङ स्टेसनको आवश्यकता पर्छ। यसका लागि हाइवेको निश्चित दुरीमा विद्युतीय सवारीको फास्ट चार्जर अनिवार्य हुनुपर्छ। जसले विद्युतीय सवारीको स्वीकार्यता बढाउँछ।
हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सबै स्थानलाई समेट्नेगरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेसन स्थापना गरिसकेको जनाएको छ। घरमै हुने चार्जर वा थोरै क्षमताको चार्जरले धेरै समय लाग्ने भएकाले हाइवेमा कुरेर बसिरहन सम्भव हुँदैन।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले हालसम्म दर्जनौं स्थानमा फास्ट चार्जर जडान गरिसकेको र अन्य स्थानमा बनाउने क्रममा रहेको छ। कम्पनीले काठमाडौं आउने विद्युतीय कारलाई लक्षित गरी धार्के, कुरिनटारमा फास्ट चार्जर स्थापना गरिसकेको छ। उक्त चार्जरले पोखरा तथा नारायणगढबाट काठमाडौं आउने विद्युतीय कार प्रयोगकर्तालाई समेत सहज बनाएको छ।
यसका अलावा पश्चिमतर्फको हाइवे समेट्ने गरी नारायणगढ, पोखरा, हेटौडा र भैरहवामा डीसी फास्ट चार्जर जडान गरिसकेको छ। त्यस्तै सिप्रदीले काठमाडौको बागडोल र रत्नपार्क तथा पूर्वतर्फ मुलकोट र इटहरीमा पनि फास्ट चार्जर जडान गरिसकेको छ। कम्पनीले अन्य ६ स्थानमा डीसी फास्ट चार्जर जडान गरिसकेको जनाएको छ। सिप्रदीले मुख्य हाइवेको १५० किलोमिटरमा यस्तो फास्ट चार्जर जडान गर्ने योजनासहित काम गरिरहेको छ। यसका अलावा देशभरीको ५० भन्दा बढी होटल र सहरहरुमा एसी चार्जर स्थापना गरिसकेको जनाएको छ।
सिप्रदीले आफ्ना ग्राहकहरुका लागि मोबाइल एप्लिकेसनमा आधारित रहेर चार्ज गर्न सकिने तथा चार्जिङ स्टेसन बारे जानकारी लिन सक्ने प्रणालीको विकास गरेको छ। तर अन्य कम्पनीहरुले यस्तो प्रणाली बनाइ सकेका छैनन्।
त्यसैले केन्द्र, प्रदेश तथा स्थानीय सरकारको सक्रियतामा नेपालमा पनि चार्जिङ स्टेसनको एकीकृत डेटाबेस बनाउने हो भने विद्युतीय सवारी उपभोक्तालाई सहज हुने र यसको स्वीकार्यता बढ्नेछ।