मंगलबार, असोज १ गते २०८१    
images
images

काठमाडौं महानगरका ३९ ठाउँमा मापदण्ड विपरीतका संरचनामाथि कारबाही

images
बिहीबार , भदौ ३० २०७९
images
images
काठमाडौं महानगरका ३९ ठाउँमा मापदण्ड विपरीतका संरचनामाथि कारबाही

वेसमेन्ट तथा जमिन तलालाई पार्किङका रुपमा खाली गराइएका ठाउँहरूमध्ये वडा नं. १ दरबारमार्ग २ वटा भवन छन्। यिनीहरू नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन्। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यवसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ। नक्सा स्वीकृत गर्दा पार्किङ र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यवसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो। यसैगरी २० ठाउँका मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू, ओभरल्यापिङ र सेडव्याक हटाएको छ।

images
images
images

‘पार्किङ प्रयोजनका लागि निर्माण भएका संरचनाहरूमा पार्किङ नै गराउनु पर्छ। यसअघि आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग नगर्दा अहिलेको भयावह अवस्था आएको हो। यसलाई वेवास्ता गर्नु भनेको सहरलाई थप विगार्नु हो। यसो भयो भने हाम्रा पुस्ताले हामीलाई राम्रो मान्दैनन्’ काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) कारबाहीका विषयमा भनेका छन्, ‘नक्सा स्वीकृत गर्ने बेलामा व्यक्ति तथा संस्थाले महानगरबाट  सुविधा लिएको तर, आफूले महानगरसँग गरेको कवुलियत तथा सर्त पूरा नगरेकाले कारबाही गर्नुपरेको हो।’

वेसमेन्ट तथा जमिन तलालाई पार्किङका रुपमा खाली गराइएका ठाउँहरूमध्ये वडा नं. १ दरबारमार्ग २ वटा भवन छन्। यिनीहरू नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन्। 

वडा नं. १४ कलंकीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेष्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर हटाउने काम भएको छ। 

images

वडा २६ सामाखुशीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेन्चुरी बैंक परिसरभित्र रहेका अनधिकृत पसलहरू हटाइएका छन्। 

वडा नं. १० बानेश्वरमा पर्ने ५ जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर ५ वटै घरको पार्किङ बनाउने काम भएको छ। यसैगरी अल्फा विटा कम्प्लेक्सको भूमिगत तलामा ताला लगाइएको छ। यही वडाका बर्गर हाउस, यूएफओ, रारा कम्प्लेक्स र जी सपले महानगरको सूचना पालना गर्दै अनधिकृत संरचना र अनधिकृत उपयोग हटाएका छन्। 

वडा नं. २२ सुन्धारास्थित काठमाडौं मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङ्का लागि खाली गरिएको छ। यही वडामा रहेको आरवी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ। बीरा कम्प्लेक्सको भूमिगत तलामा रहेको होलसेल पसल हटाएर गोदाम मापदण्डबमोजिम सञ्चालन गर्ने सहमति गरेको छ। 

वडा नं. २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराएको छ। 

वडा नं. ३ को बसुन्धरा चोकबाट सिर्जनशील मार्गसम्मको करिव ९ सय मिटर जीएलडी (गाइडेड ल्याण्ड डिभलपमेन्ट/निर्देशित जग्गा विकास कार्यक्रम) महानगरले बाटो खोलेको छ।

यस क्रममा झण्डै १ सय घरका अनधिकृत कम्पाउण्ड भत्काएको छ। वडा नं. ४ बालुवाटार विशालनगरस्थित मल्पी स्कूलले सार्वजनिक जग्गा अतिक्रमण गरेर लगाएको जस्ताको बारसहितका संरचना हटाएको छ।

वडा ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका ओभरल्यापिङ् हटाइएको छ। वडा नं. ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनधिकृत संरचना, ओभरल्यापिङ् र विज्ञापनमुलक सामग्री हटाएको छ।

वडा १० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ। वडा १६ को ढुङ्गेधारा, वडा १७ को धोवी चौर, वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाएको छ। वडा १६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरेर ४३ वटा संरचना हटाएको छ। यही वडाको नयाँबजार जग्गा एकीकरण आयोजनाभित्र रहेको जुडो हल वरिपरि विभिन्न व्यवसाय गर्न बनाइएका ६ वटा अनधिकृत टहरा हटाएको छ।

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे कारवाहीका विषयमा जानकारी दिँदै भन्छन्, ‘स्वीकृत मापदण्ड विपरीतका संरचना हटाउन दिएको सूचना अटेर गरेपछि आफैँले भत्काउन जानु परेको छ।’ उनका अनुसार वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि बिशालबजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका सन्तानेश्वर भवानी शंकर मन्दिर, उमा शंकर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना र ओभरल्यापिङ् संरचना हटाइएको छ। 

वडा नं. २६ मा नयाँ बसपार्क मित्रनगरदेखि म्हेपी मन्दिरसम्मका अनधिकृत सेड व्याक, ओभरल्यापिङ्, अनुमति नलिई राखिएका विज्ञापन बोर्ड हटाइएको छ । वडा नं. २९ हनुमान स्थान चिकेन क्युन रेष्टुरेन्टको घर खाली गराएको छ। 

वडा नं. ३२ कोटेश्वर, अरनिको राजमार्ग दायाँबायाँ क्षेत्रमा भएका अनधिकृत संरचना, स्वीकृति नलिइ राखिएका विज्ञापन बोर्ड हटाइएको छ। नरेफाँट क्षेत्रमा माइकिङ्क गरेर सचेत गराएको छ। यस्तै भाटभटेनी सुपर मार्केटको भूमिगत तलालाई पार्किङका लागि खाली गराइएको छ। 


प्रकाशित : बिहीबार , भदौ ३० २०७९०३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend