शनिबार, वैशाख ८ गते २०८१    
images
images

तिनाउ नदीमा सिग्नेचर पुल निर्माणको तयारी सुरु

images
images
तिनाउ नदीमा सिग्नेचर पुल निर्माणको तयारी सुरु

पुलको डिजाइन तयार पार्ने क्रममा पुलको पूर्वी प्रवेशद्वार नजिकै राधाकृष्ण टोल र विकास पथका बीचमा भूमिगत सडक जोड्ने र पश्चिमतर्फको मार्ग पनि कायमै रहने गरी डिजाइनलाई अन्तिम रूप दिन उपमहानगरले सुझाव दिएको छ। 

images
images

रुपन्देही- बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि तयारी सुरु गरिएको छ। चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक्ट र स्ट्रक्चर डिजाइन तयार भइसकेको छ। आधुनिक पुलको डिजाइन तयार पारेको नेपाली र विदेशी इन्जिनियरहरुको टोलीले आर्किटेक्ट डिजाइनमाथि बुटवलमा छलफल गरेको छ। 

images
images
images

बुटवल उपमहानगरपालिकाको कार्यालयमा विश्व बैंकका प्रतिनिधिले जनप्रतिनिधि र सरोकारवालासँग पुलको आर्किटेक्ट डिजाइन, यसले ओगट्ने क्षेत्र र पार्ने प्रभावका बारेमा छलफल गरेका हुन्।  

images

पुल निर्माणको प्रक्रिया अघि बढाउनका लागि बुटवलमा आएका विश्व बैंकका प्रतिनिधिलाई पुल निर्माणमा उपमहानगर सहकार्य गर्न तयार रहेको र बुटवलको आवश्यकताको विषय रहेको बताइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए। पुल निर्माणका क्रममा आवश्यक पर्ने जग्गा व्यवस्थापन र पुल आसपासको क्षेत्रको बस्तीका बारेमा थप अध्ययन गरेर निर्णय गर्ने जानकारी गराएको उनको भनाइ छ। 

images

पुलको डिजाइन तयार पार्ने क्रममा पुलको पूर्वी प्रवेशद्वार नजिकै राधाकृष्ण टोल र विकास पथका बीचमा भूमिगत सडक जोड्ने र पश्चिमतर्फको मार्ग पनि कायमै रहने गरी डिजाइनलाई अन्तिम रूप दिन उपमहानगरले सुझाव दिएको छ। 

images
images

'यो सामान्य पुलमात्रै हुनेछैन, यसले जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, बुटवलको पुरानो बस्ती, हिन्दू मन्दिर र मुस्लिम मस्जिदका बीचमा समेत मैत्रीभाव राख्ने सन्देश दिने छ', उनले भने, 'यो पुलको वारिपारि चेक ड्याम बनाएर तलाउ बनाइनेछ र नदी किनारमा आरती गर्ने, रात्रिकालीन बजारमा रमाउने गरी झिलीमिली बत्ती लगाइनेछ।' हरियाली बगैँचा, क्याफे र विश्रामस्थलहरु समेत बन्ने हुँदा यसले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने प्रमुख पाण्डे बताए।  

'जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, पुरानो बुटवल, आसपासका धार्मिक र पर्यटकीय स्थलहरुको अवलोकन गर्न पुलले सहयोग गर्ने छ', उनले भने, 'पुल र यहाँका ऐतिहासिक, पुरातात्विक स्थलहरु एकअर्काका सहयोगी बन्नेछन्, यसबाट पर्यटक आकर्षित हुनेछन् र स्थानीयवासीको व्यापार व्यवसायमा लाभ हुनेछ।'
 
सिग्नेचर पुल निर्माणका लागि यसअघि पनि बुटवलमा छलफल भएको थियो। यो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पुल निर्माण कोसेढुंगा सावित हुने उपप्रमुख सावित्रादेवी अर्याल बताए। 'यसले बुटवलको विकासमा ठूलो महत्व राख्ने भएकाले यो योजना सम्पन्न गर्न उपमहानगरको साथ र सहयोग रहन्छ', अर्यालले भने।

विश्व बैंक दक्षिण एसिया सहरी विकास एकाइकी वरिष्ठ सहरी विकास योजनाकार स्टेफनिया अबकेर्ली तिनाउमा बन्ने पुल नेपालकै नमूना र पर्यटकीय स्थलहरुसँग जोडिएकाले यसले स्थानीय बासिन्दा र स्थानीय सरकारलाई लाभ दिलाउने बताउँछन्।  

ऐतिहासिक र पर्यटकीय स्थलहरु जितगढी किल्ला र युद्ध सङ्ग्रहालयमा पर्यटक आउनका लागि पुलले समेत सहयोग पुर्‍याउने उनको विश्वास छ। स्थानीय सरकारका तर्फबाट पुल निर्माणका लागि स्थानीयरूपमा समन्वय गरिदिन बुटवल उपमहानगरपालिकालाई योजनाकार स्टेफनिया अबकेर्लीको आग्रह छ।

सिग्नेचर पुलका लागि भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक्ट डिजाइन तयार पारेको छ। पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको छ। 

विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर पुल डिजाइनका लागि यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णुप्रसाद पौडेलले बजेट विनियोजन गरेका थिए।  

सरकार परिवर्तन भएपछि अर्थमन्त्री जनार्दन शर्माले नौ वटा पुलका लागि विनियोजन भएको रकम काटेर नारायणघाटमा मात्र एउटा सिग्नेचर पुल बनाउने गरी बजेट संशोधन गरेपछि अर्थमन्त्रालयमा तनाव सिर्जना भएको थियो। 

अर्थमन्त्रालयका सचिवहरुले पूर्वअर्थमन्त्री पौडेलकै परिकल्पनाअनुसार सिग्नेचर पुलको बजेट व्यवस्था गरिएकाले बुटवलको पुल नकाट्न आग्रह गरेपछि मन्त्री शर्मा सहमत भएका थिए। सोहीअनुसार सरकारले अहिले चितवनको नारायणी नदी र बुटवलको तिनाउ नदीमा पुल बनाउने तयारी गरेको हो। 

के हो सिग्नेचर ब्रिज (पुल)?

पुलको आधुनिक प्रकार हो, सिग्नेचर ब्रिज। यो अन्य पुलको तुलनामा निकै आकर्षक हुन्छ। अधिकांश सहर नजिकैका नदीहरुमा इन्जिनियरहरुले सिग्नेचर ब्रिज डिजाइन गर्ने गर्छन्। इरासमस ब्रिज, रोटर्डाम ब्रिज, लण्डनको मिलेनियम ब्रिज, अल्मिलिया ब्रिज आदि सिग्नेचर ब्रिजका रूपमा परिचित छन्। 

'यो पुल जहाँपायो त्यहीँ बन्दैन। निश्चित ठाउँमा मात्रै बनाइन्छ', बुटवल उपमहानगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर गौतम रौनियार भने। 

लागतको हिसाबले निकै महँगो मानिने सिग्नेचर ब्रिजको अवधारणा भारतबाट सुरु भएको मानिन्छ। भारतको यमुना नदीमा रहेको वाजिरवाद र पूर्वी दिल्ली जोड्ने यमुना नदीका पुल भारतका पहिला सिग्नेचर पुल हुन्।

सिग्नेचर ब्रिज सिमेट्रिकल आकारमा निर्माण गरिन्छ। त्यसले पुलको सम्पूर्ण भार थाम्ने गर्छ। पछिल्लो समय एसिमेट्रिकल आकारमा पनि सिग्नेचर पुल निर्माण गर्ने प्रचलन छ। सिग्नेचर पुलको डिजाइन निकै जटिल हुने गर्छ। यो ब्रिजको बीचमा पिलर बनाएर पूरै भागलाई तारले धानेको हुन्छ भन्छन्, इन्जिनियर रौनियार।

विदेशतिर बन्ने सिग्नेचर पुलको निर्माणमा उच्च गुणस्तरीय र बाक्लो स्टिल प्रयोग गर्ने गरेको पाइन्छ। आवश्यकता र पुलको डिजाइनअनुसार स्टिल प्रयोग हुन्छ। निर्माणका क्रममा स्टिलसँगै उच्चस्तरको कङ्क्रिट सामग्री प्रयोग गरिन्छ।

सिग्नेचर पुलमा पाइलोन र डेक सबैभन्दा महत्वपूर्ण कम्पोनेन्ट हुन्। सिग्नेचर पुलको सफलतापूर्ण निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण, भूगोल, पुल बन्ने स्थान आदि विषयको अध्ययन तथा अनुसन्धान जरुरी हुन्छ। सिग्नेचर पुल निर्माणमा ठूलो क्रेन आवश्यक पर्छ।

हेर्दा आर्कषक, कलात्मक हुने हुँदा सिग्नेचर पुल अन्य पुलभन्दा फरक खालको हुन्छ। नेपालमा अहिलेसम्म पुरानै शैलीका परम्परागत पुलहरु मात्र बनाइरहेको अवस्थामा बन्ने सिग्नेचर पुलले पर्यटकहरु आकर्षित गर्नेछ।

बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रिजले करिब ३०० मिटर क्षेत्रलाई समेट्ने र सो क्षेत्रलाई सौन्दर्य अभिवृद्धि गर्ने तयारी छ। यो क्षेत्रमा पर्ने जितगढी किल्ला, कृष्ण मन्दिर र मस्जिदलाई समेत समेटेर सौन्दर्य अभिवृद्धि गरिने छ। रासस

images

प्रकाशित : बुधबार, भदौ २९ २०७९१२:१७

प्रतिक्रिया दिनुहोस