मंगलबार, असोज १ गते २०८१    
images
images

लगानी बोर्डको 'दीगो पूर्वाधार लगानी फोरम' भदौ २९ मा, पाँचसय बढी सहभागी हुने

images
आइतबार, भदौ २६ २०७९
images
images
लगानी बोर्डको 'दीगो पूर्वाधार लगानी फोरम' भदौ २९ मा, पाँचसय बढी सहभागी हुने

लगानी सम्मेलनका लागि बजारीकरणका रुपमा पनि यो सम्मेलन आयोजना हुने बोर्डका उपसचिव रमेश अधिकारीले जानकारी दिए।

images
images

काठमाडौं- लगानी बोर्डले यही भदौ २९ मा काठमाडौंमा 'सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम २०२२' को आयोजना गर्ने भएको छ।यसअघिका लगानी सम्मेलन जस्तो वृहत सम्मेलन भने यो होइन।

images
images
images

दीगो आर्थिक विकासका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धताअनुसारको पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी खोज्ने तथा आकर्षित गर्ने उद्देश्यसहित बोर्डले यस्तो फोरमको आयोजना गर्न लागेको हो। 

यसअघि बोर्डले निजी क्षेत्र आफैले खोजेका वा प्रष्ट लाभ देखिएका, नियमित बजार भएका क्षेत्रमा परियोजना विकास गर्दै लगानी आह्वान गर्दै आएको थियो। अब भने बोर्डले दीगो, जलवायुमैत्री परियोजनामा पनि निजी लगानीको सम्भावना खोज्ने भएको छ। 

लगानी सम्मेलनका लागि बजारीकरणका रुपमा पनि यो सम्मेलन आयोजना हुने बोर्डका उपसचिव रमेश अधिकारीले जानकारी दिए।

images

लगानीकर्ता, प्राज्ञ, व्यावसायिकहरूसहित पाँचसयको सहभागिता हुने अधिकारीले जानकारी दिए। समिटमा लगानीसँग सम्बन्धित नियामक, अभ्यासकर्ता सहभागी हुनेछन्। 

'यो समिटमा लगानीकर्तालाई रिच गर्ने हो। बोर्डसँग १७ सय लगानीकर्ताको रोष्टर छ। यिनिहरूलाई हामी लगानी गर्न आउनुहोस् भनेर आग्रह गर्ने हो। अहिले लगानी गरिरहेकाहरुका लागि अनुभव सेयर पनि हुने छ' उनले भने।

समिटमा  बोर्ड आफ्नै कामकार्यका बारेमा, वित्तीय संस्थाले पनि स्टल राख्नेछन्। 

समिटको क्रममा विभिन्न विषयमा छलफल हुने अधिकारीले बताए।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको, अन्तर मन्त्रालय समन्वय गर्ने जिम्मेवारी बोकेको बोर्ड नेपालको लगानी तथा सार्वजनिक निजी साझेदारी नीति कार्यान्वयन गर्ने मुख्य एजेन्सी हो। यस्तो एजेन्सी भएकै कारणले सरकारले गरेको प्रतिबद्धताअनुसारका पूर्वाधार निर्माण, त्यस्ता पूर्वाधारमा निजी क्षेत्रलाई सहभागी गराउने दायित्व भएकाले यस्तो रणनीतिमा अघि बढेको उनको भनाइ छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने यो फोरमको सहआयोजक नै सयुक्त अधिराज्य बेलायतको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस रहेको छ। 

यो फोरमको मुख्य उद्देश्य भनेकै अहिलेसम्मका पूर्वाधार परियोजनाबाहेक नयाँ खालका परियोजनामा निजी लगानीको खोजी हुने छ। दीगो विकासका लागि भविष्यमुखी आर्थिक पूर्वाधारमा लगानीको खोजीमा बोर्डले छलफल, बहस, नेटवर्किङ जस्ता कुरा समावेश हुनेछन्।

सूचना प्रविधिका लागि पूर्वाधार निर्माण, हरित यातायात, जलवायु अनुकूलित कृषि परियोजना, पर्यटकीय पूर्वाधार यो फोरमका टार्गेट हुनेछन्। त्यस्तै हरित र भविष्यमुखी ऊर्जा, किफायति सहरी पूर्वाधार तथा समग्रमा आधुनिक पूर्वाधारमा लगानीकर्ता, लगानीको स्रोत खोजीमा फोरम केन्द्रीत हुने छ। 

यस्ता लगानीका लागि निजी क्षेत्रलाई आकर्षित गर्नका लागि कस्तो नीतिगत व्यवस्था हुनुपर्छ। नेपालको अहिलेको व्यवस्थामा कस्तो सुधार चाहिन्छ? निजी क्षेत्रकले यस्तोमा लगानी गर्न के कस्ता पूर्वशर्त राख्छ भनेर नीति निर्माताबीचमा अन्तरक्रिया पनि हुने छ। 

समग्रमा यो फोरम नेपालको लगानी प्राथमकितामा नयाँ सम्भावनाको खोजी गर्ने बाटो तय हुने छ। 

लगानी बोर्डले यो फोरमका क्रममा ग्रिन परियोजनाको पाइपलाइनमात्र होइन त्यस्ता परियोजनाको अवधारणा पनि सार्वजनिक गर्ने छ। सम्भावना भएका भविष्यमुखी गेमचेन्जर आयोजनाको शोकेस पनि हुने छ।


प्रकाशित : आइतबार, भदौ २६ २०७९१०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend