काठमाडौं- मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार विकासमा पर्याप्त लगानी आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन्। नेपाल उद्योग परिसंघले बिहीबार आयोजना गरेको चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ को उद्घाटन सत्रका वक्ताहरुले पूर्वाधार विकासबाटै नेपालको आर्थिक समृद्धि सम्भव रहेको धारणा राखेका हुन्। यसका लागि सार्वजनिक निजी साझेदारीलाई थप प्रभावकारी र परिणामूखी बनाउनुपर्ने उनीहरुको भनाइ थियो।
कार्यक्रमको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धिका लागि निजी क्षेत्र महत्वपूर्ण साझेदार भएकोले अनुकूल वातावरण निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे। निजी क्षेत्रलाई विश्वासमा नलिइ आजको युगमा देशले आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने उनको भनाइ थियो। ‘त्यहि बुझेरै हामीले संविधान बनाउँदा र राजनीतिक घोषणापत्रमा पनि यस क्षेत्रको भूमिकालाई महत्व दिएका छौं, ’ उनले भने।
पछिल्लो समय सरकार र निजी क्षेत्रबीच हार्दिक सम्बन्ध बनेको र यसमा नेपाल उद्योग परिसंघको महत्वपूर्ण भूमिका रहेको त्यस्तै उनले सरकारले निजी क्षेत्र र निजी क्षेत्रले सरकारलाई हेर्ने सोंचमा अब परिवर्तन आवश्यक रहेको बताए।
मुलुकमा लगानीको वातावरण बनाउन राज्यको दायित्व बाँकी रहेकोले अब त्यस्ता अधुरा कामहरु अघि बढाइने उनले जानकारी दिए। खासगरी निजी क्षेत्रलाई अझ विश्वासमा लिने र विदेशी लगानी वृद्धि गर्न राज्य गम्भिर अझ हुन आवश्यक रहेको उनको भनाइ थियो।
पूर्वाधार विकासलाई अब भौतिक विकासका रुपमा मात्र नहेरी डिजिटल विकासमा पनि केन्द्रित गर्नुपर्ने उनको सुझाव थियो। मुलुक शान्ति र स्थायित्वको युगमा प्रवेश गरेकोले अब आफ्नो सम्पूर्ण जीवन आर्थिक समृद्धि र सामाजिक न्यायको लागि समर्पण गर्ने उनको प्रतिबद्धता थियो।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पूर्वाधार विकासम देखिएको खाडल कम गर्न कुल गार्हस्थ्य उत्पादनको ८ देखि ९.८५ प्रतिशत लगानी हुनुपर्नेमा अहिले ३ देखि ७ प्रतिशतमात्र लगानी भइरहेको तथ्यांक उनले प्रस्तुत गरे। पुँजीगत खर्च कमजोर हुँदा पूर्वाधार विकासमार्फत हुने आर्थिक वृद्धिको अवसर प्राप्त हुन नसकेको उनको भनाइ थियो।
पूर्वाधार विकासका लागि गुरुयोजना नै तयार गरेर त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बजेटमा उल्लेखित व्यवस्था पूर्ण रुपमा लागु हुनुपर्ने उनको सुझाव थियो। औद्योगिक क्षेत्र निर्माणमा सार्वजनिक निजी साझेदारी(पीपीपी) सफल भएकोले नेपालमा पनि यसको सही कार्यान्वयन आवश्यक रहेको उनको भनाई थियो।
पर्यटन प्रवद्र्धनका लागि अन्तरदेशीय कनेक्टिभिटी र डिजिटल क्षेत्रमा रहेको सम्भावना उपयोगमा जोड दिएका आर्थिक समृद्धि हासिल गर्न सकिने उनले बताए। पर्यटन विकासका लागि सहयोगी नीति तथा कानूनी व्यवस्था भएमा लगानीको समस्या नहुने उनको भनाइ थियो।
एसियाली विकास बैंक(एडीबी)का निजी क्षेत्र सञ्चालन तथा सार्वजनिक-निजी साझेदारीका उपाध्यक्ष अशोक लवासाले पूर्वाधार विकास र आर्थिक वृद्धिका लागि पूर्वाधार सम्मेलन महत्वपूर्ण भएको बताए। पूर्वाधार क्षेत्रले सिर्जना गर्ने अवसरबाट नेपालले धेरै लाभ लिन सक्ने उनको भनाइ थियो।
त्यस्तै उनले एडीबीले पनि नेपालको पूर्वाधार विकासमा बढी जोड दिएर सहकार्य गरिरहेको जानकारी दिए। परिसंघका निवर्तमान अध्यक्ष सतीशकुमार मोरले पूर्वाधार विकासका लागि सरकारले उपयुक्त नीति निर्माणमा ध्यान दिनुपर्ने बताए। अहिले सबै राजनीतिक नेता तथा दलको ध्यान आगामी निर्वाचनमा केन्द्रित भए पनि चुनाव सकिएपछि अर्थतन्त्रमा बढी केन्द्रित हुनुपर्ने उनको सुझाव थियो।
परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण यतिबेला सिंगो विश्व समस्यामा परेको र यसले नेपालको मात्र नभइ अन्य राष्ट्रको समष्टिगत आर्थिक सूचकमा समेत असर परेको बताए। तर चुनौतीका बाबजुद पनि नेपालले राम्रो प्रगति गरिरहेको उनले बताए। देशको दिगो विकासमा पूर्वाधारको अहम् भूमिका रहेको र चौथो शिखर सम्मेलनले त्यही तथ्यलाई जोड दिएको स्पष्ट पारे।
पूर्वाधारमा थप लगानीको खाँचो रहेकोले निजी क्षेत्रलाई थप लगानी गर्न प्रोत्साहन गर्नुपर्ने उनले बताए। जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले प्राकृतिक सौन्दर्य र साँस्कृतिक विविधतायुक्त नेपालसँग धेरै अवसर रहेकोले अब सम्भावनाहरु पुरा गर्न पूर्वाधार विकासको आवश्यकता रहेको बताए।
सरकारले राखेको आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न पनि पूर्वाधारमा लगानी आवश्यक रहेको उनको सुझाव थियो। त्यस्तै उनले सडक मात्र नभएर विमानस्थल र जलविद्युत् आयोजनामा पनि नेपालले ध्यान दिनुपर्ने सुझाव दिए। आजको विश्वमा डिजिटल विकास नै महत्वपूर्ण रहेकोले त्यसका लागि स्थिर नीति आवश्यक रहेको उनले बताए।