बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

सीजी मोटर्सले नेपाल ल्याएको विद्युतीय कार ब्रान्ड डायुन 'टाट उल्टिएको' घोषणा

गाडी किन्ने सोच बनाएकाहरू पछि हट्दै, भन्सार आइपुगेका गाडी के होला?

images
बुधबार, कात्तिक २८ २०८१
images
images
सीजी मोटर्सले नेपाल ल्याएको विद्युतीय कार ब्रान्ड डायुन 'टाट उल्टिएको' घोषणा

नयाँ सेगमेन्ट अर्थात विद्युतीय सवारी उत्पादन गर्न थालेपछि कम्पनी समस्यामा पर्न थालेको र यही कारण कम्पनी टाट पल्टिने अवस्थामा पुगेको हो।

images
images

काठमाडौं- चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले नेपाल ल्याएको डायुन ब्रान्ड टाट उल्टिएको छ। वित्तीय रुपमा सवारी उत्पादन गर्न तथा कम्पनीको नियमित सञ्चालनमा नै संकट आएपछि कम्पनीले चीनको आधिकारिक निकायमा ‘ब्यांकरप्सी’ (टाट उल्टिएको) फाइल गरेको हो। 

images
images

डायुन ब्रान्ड गएको बैशाखमा सीजी मोटर्सले नेपालमा आधिकारिक बिक्रेताको रुपमा ल्याउने सम्झौता गरेको थियो। डायुनको पहिलो लटका कार भने भदौमा मात्र नेपाल भित्रिएको थियो। त्यसयता सीजी मोटर्सले २६ वटा डायुनको ह्याचब्याक कार 'युइहु' नेपाली बजारमा भित्र्याएको छ। 

images
images

चिनियाँ संस्था नेसनल इन्टरप्राइज ब्यांकरप्सी एन्ड अर्गनाइजेसन केस इन्फमेसन नेटवर्कका अनुसार डायुन अटोमोबाइल कम्पनी लिमिटेड, हुबेइ डायुन अटोमोबाइल र छेन्दु डागुन अटोमोबाइल ग्रुप कम्पनीले ब्यांकरप्सीको आवेदन दिएका हुन्। 

images
images

उल्लेखित तीनवटै कम्पनीका तर्फबाट जियाङसु काइसुन्डा हाइस्पीड रेल्वे ट्रान्समिसन टेक्नोलोजी डेभलपमेन्ट कम्पनी लिमिटेडले ब्यांकरप्सी फाइल गरेको हो। यसबारेको अन्तिम फैसला शान्सी प्रान्तको ‘युनचेङ इन्टरमिडिएट पिपल्स कोर्ट’ले गर्नेछ। उक्त कम्पनी २०१६ को मे महिनामा स्थापना भएको थियो। जसको पुँजी ३ करोड आरएमबी थियो।

हुबेइ डायुन अटोमोबाइल र छेन्दु डायुन अटोमोबाइल ग्रुप कम्पनी लिमिटेड दुवै कम्पनी डायुन अटोमोबाइल कम्पनी लिमिटेड सब ब्रान्ड र पूर्ण स्वामित्वमा रहेको छ। 

छेन्दु डायुन १९९२, हुबेइ डागुन २०१० र डायुन अटोमोबाइल २००७ मा स्थापना भएका कम्पनी हुन्। केही वर्षअघिदेखि कम्पनीले विद्युतीय सवारी उत्पादन सुरु गरेको थियो। पहिलो यो कम्पनीले हेवी कमर्सियल सवारी उत्पादन गर्दै आएको थियो। नयाँ सेगमेन्ट अर्थात विद्युतीय सवारी उत्पादन गर्न थालेपछि कम्पनी समस्यामा पर्न थालेको र यही कारण कम्पनी टाट उल्टिने अवस्थामा पुगेको चिनियाँ सञ्चार माध्यमहरूले लेखेका छन्। 

महँगा र प्रिमियम विद्युतीय कार उत्पादन र लाइनअप धेरै हुँदै गएको र बिक्री बढ्न नसक्दा डागुन कम्पनी आर्थिक संकटमा पर्दै गएको हो। पछिल्लो केही महिनायता डागुनले कर्मचारीहरूलाई नियमित तलबसमेत दिइरहेको छैन। 

डायुन अटोअन्तर्गत विभिन्न तीनवटा उत्पादन प्लान्ट रहेका छन्। त्यसमध्ये विद्युतीय सवारी उत्पादनको एउटा प्लान्ट रहेको छ। सन् २०२३ बाट डायुनको सबब्रान्ड युनहाङका एसयूभी तथा सेडान सेगमेन्टका ४ भन्दा बढी मोडल उत्पादन हुँदै आएको छ। 

विद्युतीय कार बिक्रीमा महत्वकांक्षी योजना बनाएको डायुनले आन्तरिक बजारमा बिक्री बढाउन सकेन। बीवाईडी, चाङगन, फोटोन, चेरीलगायत अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्न नसकेपछि अहिले ब्रान्ड नै संकटमा परेको हो। डायुनले चीनमा आफ्नो बिक्री विस्तार नभएपछि नेपाललगायत अन्तर्राष्ट्रिय बजारको खोजीमा कम्पनी लागेको थियो। 

चीनको शान्सी प्रान्तमा रहेको डायुन ब्रान्डका आईसी तथा ईभी दुवै सेगमेन्टका सवारी उत्पादन हुँदै आएका छ। सीजी मोटर्सले भने डायुन अटोले उत्पादन गरेको विद्युतीय सवारीमात्र नेपाल ल्याउनेगरी सम्झौता गरेको थियो। 

होजोन अटोबाट विद्युतीय सवारी आयात सुरु गरेको सीजी मोटर्सले भ्यान तथा माइक्रोबस र प्यासेन्जर कार गरेर एक दर्जन चिनियाँ ब्रान्ड नेपाल ल्याएको छ। सीजी मोटर्सले नेपाल ल्याएको अर्को ब्रान्ड निटा पनि चीनमा संकटोन्मुख रहेको छ। 

डायुनका कार किन्ने सोच बनाएकाहरू पछि हट्दै

सीजी मोटर्सले डायुनको ह्याचब्याक कारको मूल्य ३१ लाख रुपैयाँ कायम गरेर बिक्री थालेको थियो। हालसम्म सीजी मोटर्सले डायुनको उक्त विद्युतीय कार २६ वटा नेपाल भित्र्याएको छ। 

डायुनको ह्याब्याक विद्युतीय कारमा ३८ किलोवाट पिक पावरको मोटर जडान गरिएको छ। सीजीले कम्प्याक्ट एसयूभी दाबी गरेको यो विद्युतीय कार सामान्य उकालोमा समेत नतानेको हालै टेस्ट ड्राइभमा गएका एक ग्राहकले बताए।

‘मैले अघिल्लो साता टेस्ट ड्राइभ गरेको थिएँ। सोह्रखुट्टेको उकालोमा समेत तान्न कठीन भयो त्यो गाडीलाई। त्यसैले मैले त्यो गाडी नकिन्ने निधो गरेँ,’ ती ग्राहकले भने, ‘अब यो ब्यांकरप्सीको कुरा सुनेपछि त मैले किन्ने त परको कुरा अरुलाई पनि नकिन्न सुझाव दिन्छु।’ 

नेपाल गाडी आउँदा नआउँदै चीनमा कम्पनी संकटमा परेको खबर आएकाले त्यो सोचनीय विषय भएको एक अटोमोबाइल व्यवसायीले बताए। यदी डायुन चीनमा टाट पल्टिएको खबर साँचो हो भने उपभोक्ताले आगामी दिनमा सर्भिस र स्पेयर पार्टस पाउन नसक्ने उनको भनाइ छ। 

‘उत्पादक कम्पनी नै टाट पल्टिन लागेको छ भने त्यसले अब कार उत्पादन गर्दैन। कार उत्पादन नभएपछि त्यसको पार्ट्स बन्ने कुरै भएन,’ ती व्यवसायीले भने, ‘यदी यो सत्य हो भने उपभोक्ताले त्यस्तो कार किन्नै हुन्न र सीजी मोटर्सले बिक्री गर्न पनि हुन्न।’ 

नेपाल भित्रिएको र भन्सार आइपुगेका गाडी के होला?

सीजी मोटर्सले २६ वटा डायुनका कार नेपाल भित्र्याएको छ। कम्पनीले एकैपटक तीन सय वटा कारको एलसी (लेटर अफ क्रेडिट) खोलेको थियो। पहिलो लटमा २ सय वटा कार अडर गरेकोमा २६ वटा नेपाल भित्रिएको र बाँकी १ सय ७४ वटा रसुवागढी भन्सारको पारितिर रहेको छ। 

सीजी मोटर्सले डायुनको आधिकारिक बिक्रेता बन्ने महत्वाकांक्षी योजना पेश गरेको थियो। नेपालबाट डायुनको आधिकारिक बिक्रेता बन्न आधा दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका थिए। अन्य कम्पनीले वार्षिक ३/४ सय वटासम्म कार बिक्री गर्ने योजना प्रस्तुत गरेका थिए। तर सीजी मोटर्सले आधिकारिक बिक्रेता हात पार्न वार्षिक १ हजारभन्दा धेरै कार बिक्री गर्ने दाबी प्रस्तुत गरेको थियो।

‘नम्बर गेम’मा लागेका चिनियाँहरूले सीजी मोटर्सकै प्रस्ताव स्वीकृत गरेर उसैलाई आधिकारिक बिक्रेता नियुक्त गरेको थियो। अब भन्सारमा आइपुगेको कार र नेपाल भित्रिएको डायुनका विद्युतीय कारको अवस्था के हुन्छ भन्नेबारे बिस्तारै खुल्दै जानेछ। 


प्रकाशित : बुधबार, कात्तिक २८ २०८११८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend