काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको क्रिकेट प्रतियोगिता 'नेपाल प्रिमियर लिग (एनपीएल २०२४)' को मुख्य प्रायोजक बनेको सिद्धार्थ बैंक प्रायोजनको विषयलाई लिएर विवादमा तानिने देखिएको छ।
एउटै संस्थाका लागि दुई करोड रुपैयाँभन्दा माथिको विज्ञापन प्रायोजन गरेमा राष्ट्र बैंकले बिगोसहित जरिवाना गर्दै आएको छ। यस्तोमा नेपाल राष्ट्र बैंकले तोकेको विज्ञापन गर्न पाइने सीमाभन्दा माथि गएर सिद्धार्थ बैंकले एनपीएलमा मुख्य प्रायोजक बन्ने सम्झौता गरेको छ। जसमा प्रतियोगिताको नाम नै अब 'सिद्धार्थ बैंक एनपीएल' हुनेछ।
सिद्धार्थ बैंक मुख्य प्रायोजक बनेको जानकारी दिन गएको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैंक पाँच वर्षका लागि एनपीएलको मुख्य प्रायोजक रहने जानकारी दिँदै नेपाली खेलकुदमा अहिलेसम्मकै कीर्तिमानी रकममा सम्झौता भएको बताए।
सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियाले पनि सहकार्य गर्ने अवसर दिएकोमा क्यानलाई धन्यवाद दिँदै पाँच वर्षपछि पनि यो सहकार्य जारी रहने प्रतिवद्धता जनाए। क्यान र सिद्धार्थ बैंकले सम्झौता रकम नखुलाए पनि बैंकले क्षमताभन्दा बाहिर गएर प्रायोजन गर्न लागेको देखिएको छ।
अन्य तीन बैंकले पनि एनपीएलको मुख्य प्रायोजक बन्न चासो देखाएको भए पनि सिद्धार्थ बैंकले अप्रत्याशित रकम प्रायोजनको प्रस्ताव गरेसँगै अरू बैंक पछि हटेको बताइएको छ।
बोलकबोल प्रक्रियामा सहभागी भएका एक बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार सिद्धार्थ बैंकले वार्षिक चार करोड रुपैयाँसहित पाँच वर्षमा कुल २० करोड रुपैयाँको मुख्य प्रायोजन बन्न लागेसँगै अन्य बैंक पछि हटेका थिए।
‘सिद्धार्थसहित अन्य चार बैंक पनि एनपीएलको प्रमुख इस्पोन्सर बन्ने टेण्डर प्रक्रियामा थिए। तर सिद्धार्थ बैंकले वार्षिक ४ करोडसहित ५ वर्षमा २० करोडको प्रायोजन प्रस्ताव गरेपछि अन्य बैंक पछि हटेका हुन्’, ती सीईओले बताए।
राष्ट्र बैंक वृत्तमा भने सिद्धार्थ बैंकले एनपीएलको प्रमुख प्रायोजक बन्नका लागि १ अर्ब रुपैयाँसम्मको प्रस्ताव गरेको चर्चा हुने गरेको छ। सिद्धार्थ बैंक मुख्य प्रायोजक बन्नका लागि एनपीएलमा एक अर्ब रुपैयाँ खर्च गर्न लागेको खबर सुनेको राष्ट्र बैंक डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए। यद्यपी राष्ट्र बैंकमा सिद्धार्थ बैंकको प्रस्ताव आइनसकेकाले लागतको विषयमा अहिले नै भन्न नसकिने उनले बताए।
'सञ्चालक समितिले उचित देखेमा कुनै पनि इभेन्टको प्रायोजन वा विज्ञापन गर्न बैंक वित्तीय संस्थाहरूले सक्छन्। यो कुनै नौलो कुरा भएन। सिद्धार्थ बैंकले प्रायोजन गर्न लागेको कुरा जानकारी भए पनि रकमको बारेमा जानकारी छैन। सिद्धार्थ बैंकले यसबारे कुनै पनि प्रस्ताव राष्ट्र बैंकमा पठाएको छैन। बजार हल्लाको पछि लागेर हुँदैन’, मिश्रले बताए।
एनपीएलमा सिद्धार्थ बैंकले अस्वभाविक लगानी गर्न लागेको चर्चा आफूले पनि सुनेको राष्ट्र बैंकका अर्का एक अधिकारीले बताए। अर्थतन्त्र संकटमा रहेकाले बैंकहरू पुँजीकोष तथा नाफाको समस्याबाट गुज्रिरहेको समयमा ठूलो रकम प्रायोजनका लागि दिन अनुचित हुने उनले बताए।
एनपीएलको प्रायोजन गर्ने दायित्व सिद्धार्थ बैंकको मात्रै नभएर देशका ठूला उद्योगी व्यवसायीको समेत भएकाले दुई करोड रुपैयाँभन्दा माथिको प्रायोजन राष्ट्र बैंकको नियमविपरीत भएको ती अधिकारीले बताए।
‘राष्ट्र बैंकले वार्षिक दुई करोड रुपैयाँभन्दा माथिको विज्ञापन गर्ने वित्तीय संस्थाहरूलाई बिगो तथा हर्जनासहित जरिवाना गराउँदै आएको छ। अर्थतन्त्रमा आएको समस्याले बैंक वित्तीय संस्थाहरूको खराब कर्जा बढिरहेको, पुँजीकोषमा दबाब र लगानीकर्तालाई प्रतिफल दिन नसकिरहेको अवस्थामा एउटै प्रायोजनमा कुनै पनि बैंकले दुई करोडभन्दा बढी विज्ञापन दिनु गलत हुन्छ’, ती अधिकारीले भने।
सिद्धार्थ बैंकले भने एनपीएलको मुख्य प्रायोजक बन्न खर्च गर्न लागिएको रकम चर्चा भएजस्तो ठूलो नभएको दाबी गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले एनपीएल आयोजक क्यानले अबको दुई दिनमा रकम सार्वजनिक गर्ने र जुन रकम चर्चा गरिएकोभन्दा निकै न्यून भएको बताए। ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रमुख प्रायोजक बन्न लागेपनि बजारमा चर्चा गरिएजस्तो रकमको प्रायोजन गर्न लागेको होइन। अबको दुई दिनमा आयोजक क्यानले रकम सार्वजनिक गरी नै हाल्छ। जुन हल्ला गरिएकोभन्दा निकै कम छ’, कँडेलले भने।
राहतकोषमा २५ लाख योगदान गर्ने बैंकले एनपीएलमा करौडौँको प्रायोजन
गत असोज ११ र १२ गते गएको बाढीपहिरो र डुबानपछि सिद्धार्थ बैंकले २५ लाख रुपैयाँ दैवी प्रकोप राहत कोषमा जम्मा गरेको थियो।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गत वर्षको नाफाबाट एक प्रतिशत रकम कोषमा योगदान गर्नसक्ने भएपनि बैंकले २५ लाख रुपैयाँमात्रै दिएको थियो।
२५ लाख रुपैयाँ उपलब्ध गराउनसमेत सिद्धार्थसहित अन्य बैंकहरूलाई गभर्नर महाप्रसाद अधिकारीले नै पटक-पटक आग्रह गर्नुपरेको राष्ट्र बैंकका एक अधिकारी बताउँछन्।
‘बाढी पहिरो तथा डुबान प्रभावितलाई सहयोग गर्न बैंकहरूले निकै आनाकानी गरे। बैंकका सीईओहरूलाई नै गभर्नरज्यूले नै फोन गरेर राहत कोषमा रकम योगदान गर्न भन्नुपर्ने अवस्था आयो। सिद्धार्थ बैंकले जम्मा २५ लाख रुपैयाँ दियो। अहिले यति ठूलो रकम एनपीएलको प्रायोजनमा दिने कुरा सुनिँदै छ। राहत कोषमा सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडले डेढ करोड रुपैयाँ दियो। यसमा जम्मा एक अर्ब रुपैयाँ पैसा उठेको छ तर एनपीएलमा यत्रो ठूलो प्रयोजन किन?’ ती अधिकारीले प्रश्न गरे। राष्ट्र बैंकले तोकेको सीमाभन्दा बाहिर गएर विज्ञापन गर्ने काम भएको भए बैंकलाई कारबाही हुने उनले बताए।
बैंकको विस्तार गरिएको शाखाका आधारमा निक्षेप संकलन र कर्जा प्रवाह बढ्ने भएकाले एनपीएलमा गर्न लागिएको प्रायोजनकै आधारमा बैंकको प्रवर्द्धनमा ठूलो टेवा पुग्ने देखिँदैन। मुलुकको अर्थतन्त्रमा लगानीको माहोल नबन्दासम्म विज्ञापनकै भरमा ठूलो मात्रामा कर्जा विस्तार गरेर बैंकको नाफामा उल्लेखीय उभार आउने सम्भावना नभए पनि बैंकले गर्न लागेको प्रायोजनले बैंकको वित्तीय स्थितिमा प्रभाव पार्ने देखिन्छ।
लगानीकर्तालाई लाभांश बाँड्न नसक्ने बैंकको भड्किलो प्रचारबाजी
गत आर्थिक वर्ष ३ अर्ब १ करोड खुद नाफा कमाएपनि सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ३६ करोड ६६ लाख रुपैयाँमात्रै रहेको छ। यस हिसाबमा हेर्ने हो भने यस बैंकले आफ्ना लगानीकर्तालाई प्रतिकित्ता २.६० रुपैयाँमात्रै लाभांश दिनसक्ने क्षमता राख्छ।
गत वर्षमात्रै सिद्धार्थ बैंकले पाकेको तर प्राप्त भइनसकेको ब्याज आम्दानीबापत २२ करोड ७० लाख रुपैयाँ, अल्पकालीन प्रकृतिको कर्जा नोक्सानी व्यवस्थाबापत ४ करोड ६० लाख रुपैयाँ र खराब कर्जाका लागि ५ करोड ६० लाख रुपैयाँ प्रोभिजिनिङ गरेको थियो।
गत वर्ष यस बैंकको खराब कर्जा २.२२ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने बैंकको खराब कर्जा बढेर ३.९१ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा बढेकाले गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा ११ प्रतिशतले घटेको छ।
गत वर्षको पहिलो त्रैमासमा ४३ करोड खुद नाफा गरेकोमा यस वर्षको सोही अवधिमा ३८ करोड २१ लाख रुपैयाँमात्रै नाफा गरेको छ। खराब कर्जा बढेकाले बैंकको गत वर्षको अवितरित नाफासमेत जोडेर बैंकको वितरणयोग्य नाफा २६ करोड ३४ लाख रुपैयाँमात्रै रहेको छ।
अहिलेको अवस्थामा सुधार नभएमा बैंकले यस वर्षको नाफाबाट लगानीकर्तालाई प्रतिफल दिने सम्भावना न्यून छ। लगानीकर्तालाई प्रतिफल नै दिन नसकिरहेको अवस्थामा भड्किलो प्रचारबाजीका लागि असीमित दायित्व सृजना गर्दा बैंकमा जोखिम पर्ने सम्भावनालाई नकार्न सकिँदैन।