काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरेका छन्।
बैठकमा सांसद बिमला विश्वकर्माले महँगी नियन्त्रण गर्न माग गरिन्।
यस्तै बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न पनि सांसदले सरकारसँग माग गरेका छन्।
सांसदहरुले मुलुककका ७२ जिल्लामा डेँङ्गुको सङ्क्रमण देखिएको तर सरकार गम्भीर नभएकामा चिन्ता व्यक्त गर्दै आवश्यक पहलका लागि माग गरेका हुन्। सांसद मीनाकुमारी श्रेष्ठले डेँङ्गुको रोकथाम र नियन्त्रणका लागि पहल गर्न आग्रह गरिन्।
बैठकमा सांसद शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीका सबै जिल्लाका लागि सेटेलाइटका माध्यमबाट उपचार गराउन माग गरे। सांसद शेरबहादुर तामाङले गत वर्षको मेलम्चीमा आएको बाढीबाट प्रभावितलाई अझै उचित राहत नदिइएकामा चिन्ता व्यक्त गरे।
सांसद डा विन्दा पाण्डेले विश्वविद्यालयहरुको समस्याका विषयमा कार्यसूचीमा राखेर छलफल गर्न र सांसद लक्ष्मीकुमारी चौधरीले छाडा चौपायको व्यवस्थापन गर्न माग गरे। रासस