काठमाडौं- कसुरजन्य सम्पत्ति तथा साधन अदालतको आदेशबिना १८० दिनभन्दा बढी रोक्का गर्न तथा नियन्त्रणमा लिन नपाइने व्यवस्था गरिएको छ।
सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत यस्तो व्यवस्था गर्न लागेको हो। विधेयक प्रतिनिधिसभामा दर्ता भइसकेको छ।
सरकारले कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ४ मा संशोधन गर्दै अदालतको आदेशबिना १८० दिनभन्दा बढी रोक्का गर्न तथा नियन्त्रणमा लिन नपाइने व्यवस्था गर्न लागेको हो।
सरकारले ऐनको दफा ४ को उपदफा २ पछि २ 'क' थप्दै नयाँ व्यवस्था गर्न लागेको हो। जसमा कुनै सम्पत्ति तथा साधन १८० दिनभन्दा बढी रोक्का वा नियन्त्रणमा लिनु परेमा अदालतबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको हो। यसअघि सम्पत्ति रोक्का तथा नियन्त्रणमा राख्न पाउने विषयमा कानूनमा समय तोकिएको थिएन।