काठमाडौं- २०२२ को सात महिनामा ३ लाख २६ हजार ६ सय ६७ विदेशी पर्यटक नेपाल आएका छन्।
यो सख्या जहाज मार्फत नेपाल आएकाहरुको मात्र हो। भारतबाट सडकमार्फत आएका यात्रुहरुको गणना भने भएको छैन। पछिल्लो समय विदेशी पर्यटकहरु नेपाल आउने क्रम बढिरहेको छ।
अध्यागमन विभागका अनुसार अगष्ट २०२२ मा मात्र ४१ हजार ३०४ जना विदेशी नेपाल आएका छन्। २०२२ को जनवरीदेखि अगष्टसम्म ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल आएको विभागको तथ्यांक छ।
कोभिड महामारी अगाडि सन् २०१९ मा अगष्ट महिनामा ९२ हजार ६०४ जना पर्यटक नेपाल आएका थिए। सन् २०२० मा ५८४ जना मात्र नेपाल आएका थिए। २०२१ को अगष्ट महिनामा भने ६ हजार ९३ जना पर्यटक नेपाल आएको तथ्यांक रहेको छ।
कोभिड महामारीपछि भारतीय पर्यटकको आगमनमा उत्साह देखिएको छ। तथ्यांकअनुसार अगष्ट महिनामा मात्र १६ हजार १४७ भारतीय पर्यटक नेपाल आएका छन्। अघिल्लो महिना (जुलाई)मा १७ हजार २९९ जना भारतीय पर्यटक आएका थिए।
अगष्टमा भारतपछि दोस्रो धेरै पर्यटक अमेरिकाबाट ४ हजार ६६ जना पर्यटक आएका छन्। जुलाईमा अमेरिकाबाट ५ हजार २२८ जना पर्यटक नेपाल आएका थिए। बेलायतबाट अगष्टमा २ हजार ८२६, बंगलादेशबाट १ हजार ७५१ र चीनबाट १ हजार २८९ जना पर्यटक नेपाल आएको विभागको तथ्यांक छ।