काठमाडौं- केएफसीको नयाँ आउटलेट बुटवलमा खुलेको छ।
बुटवल उपमहानगरको सुख्खानगरस्थित भाटभटेनी भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा केएफसीको नयाँ आउटलेट खुलेको हो।
नेपालमा केएफसीको यो चौधौं आउटलेट हो।
पछिल्लो समय केएफसीले काठमाडौं बाहिरका सहरमा पनि आउटलेट विस्तारमा तीव्रता दिएको छ।
नेपाल प्रवेश गरेको एक दशकसम्म उपत्यकामा आउटलेट विस्तार गरिरहेको केएफसी काठमाडौं बाहिर पोखरा र भरतपुरमा मात्र सीमित थियो। तर पछिल्लो समय भने केएफसीले आक्रामक विस्तार गरिरहेको छ।
काठमाडौं बाहिरका मुख्य सहरमा आउटलेट विस्तार गर्ने योजनाअनुसार केएफसी अघि बढेको छ। काठमाडौं बाहिरका सहरमा मान्छेहरूको आयस्रोत बढेको र उच्चमध्यम वर्गको विकास हुँदै गएपछि ठूला होटल तथा रेष्टुरेन्टको विस्तार बढ्दै आएको छ।
स्वदेशी लगानीकै ठूला चेन होटल तथा रेष्टुरेन्टको विस्तार तीव्र भएको बेला बहुराष्ट्रिय ब्रान्ड केएफसीको पनि विस्तार भएको हो। काठमाडौं उपत्यकामा केएफसीका ८ वटा आउटलेट छन्। दरबारमार्ग, थापाथली, बौद्ध, पुल्चोकको लबीमा मल, महाराजगञ्जको भाटभटेनी, ठिमीको भाटभटेनी, कलंकी र नक्सालमा केएफसीका आउटलेट छन्।
पोखराको लेकसाइड र भरतपुरको सिजी ल्यान्डमार्कमा पनि आउटलेट सञ्चालित रहेका छन्।
अमेरिकी ब्रान्ड केएफसी र पिज्जाहटको पहिलो आउटलेट सन् २०१० देखि काठमाडौंमा खुलेको थियो। भारत लगायतका देशहरूमा देवयानी इन्टरनेशनले भारतले केएफसी, पिज्जाहट लगायतका फ्रेन्चाइजीको व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ।
सन् १९३० देखि सुरु भएको केएफसी अहिले संसारकै लोकप्रिय चिकेन रेष्टुरेन्ट चेनका रुपमा रहेको छ। क्रिस्पी,ग्रिल्ड लगायतका कुखुराको मासुका विभिन्न परिकार यसका सिग्नेचर मेन्युमा पर्छन्।
संसारका ११८ देशमा १८ हजार ८७५ केएफसी रेष्टुरेन्ट छन्। सुरुमा नेपाल आउँदा विदेशबाट कुखुरा ल्याउने केएफसीले पछिल्लो समय भने नेपालकै कुखुरा खपत गरिरहेको छ।
नेपालमा केएफसी आएसँगै क्रिस्पीरक्रन्ची चिकेन कल्चर विस्तार भएको छ। चिकेन परिकार केन्द्रित स्थानीय चेन रेष्टुरेन्टहरु पनि विस्तार भइरहेका छन्।
देवयानी इन्टरनेशनल नेपालले सन् २०१० मा केएफसीको दरबारमार्गमा पहिलो आउटलेट खोल्यो। सुरुकै दिनदेखि केएफसीको आउटलेटमा नेपाली उपभोक्ताको भिड लाग्यो। यतिसम्म कि, केएफसीमा उपभोक्ताको बाक्लो भिड लागेपछि दरबारमार्गमै लामो लाइन लाग्न थाल्यो।
सुरुमा केएफसीमा लागेको उपभोक्ताको भिड धेरै दिन नटिक्ने एकथरिको अनुमान थियो। केएफसीको महँगो मेनु र परिकारहरूले नेपाली उपभोक्तालाई तानिरहन नसक्ने बताइन्थ्यो। तर भइदियो अर्कै। केएफसीले सबैखाले उपभोक्तालाई तार्गेट गरेर मेनु बनाएको थियो।
नेपालीले कृस्पि चिकेन राम्रै मन पराएपछि उपभोक्ताको भिड घट्ने कुरै भएन। सुरुमा केएफसीले ब्राजिलबाट कुखुराको मासु आयात गरेर पकाउने गर्थ्यो। तर पछिल्लो समय नेपालमै गुणस्तरीय मासु उत्पादन हुन थालेपछि भ्याली कोल्ड स्टोरबाट ल्याउने गर्छ।
एकचोटी केएफसी पुगेको उपभोक्ता फर्कीफर्की जान थालेपछि देवयानीले आउटलेट विस्तारको योजना बनायो। नेपाल प्रवेश गरेको एक दशकमा केएफसीले १४ शाखा विस्तार गरिसकेको छ।
उपत्यकाबाहिर नयाँ ठाउँमा जाँदा व्यापारमा स्टेन हुन सहज हुने भएकोले भाटभेनीसँग सहकार्य गरेर अगाडि बढेको कम्पनीको भनाइ छ। त्यसो त केएफसी आफै पनि बजार अध्ययन नगर्ने भन्ने होइन। केएफसी आफैले पनि सम्भावित ग्राहक र भविष्यलाई हेरेर मात्र आउटलेट विस्तारको रणनीति बनाउँदै आइरहेको छ।