काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन्।
शनिबारदेखि थाइलेण्डको राजधानी बैंककमा सुरुभएको गैरआवासीय नेपाली संघको एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण र यहाँ अनगिन्ती अवसरहरु भएकाले लगानी र ज्ञान भित्र्याउन आग्रह गरेका हुन्।
'प्रकृतिले हामीलाई संसारकै धनी बनाइदिएको छ। त्यसैले अहिले जहाँ जेसुकै काममा रहेका भए पनि भोलिको सन्ततिका लागि हामीले हाम्रै घर बनाउनुपर्छ। त्यसका लागि हामीले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजी हाम्रै नेपाली आमाका लागि खर्चिनुपर्छ,' उनले भने।
ढकालले संकटमा सबैलाई आफ्नो जन्मस्थानको चिन्ता र चाँसो रहने हुँदा अहिलेदेखि नै नेपालको विकास, सम्मृद्धि र समुन्नतिका लागि काम गर्न आह्वान गरे।
'कोरोना महामारीको पहिलो लहरका बेला हामी अब त संसार नै सखापै हुन्छ कि भन्ने त्रासमा थियौँ। त्यतिबेला विभिन्न कारणले विदेशमा रहेका कैयौँ नेपालीहरु घर फर्किने भनेर नेपाल फर्किनुभएको थियो। ती दृष्टान्तहरु देख्दा सुन्दा लाग्थ्यो हामी अहिले जहाँ जुन रुपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ। आफ्नो जन्मस्थान नै सबैको प्यारो हुने रहेछ,' उनले भने।
गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप तथा पुँजीको ठूलो महत्व रहने बताउदै ढकालले त्यसको केही प्रतिशत भएपनि अहिलेदेखि आफ्नो जन्मस्थानको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरे।
'हामीले जुन सीप वा प्रविधि सिकीरहेका छौँ त्यसलाई पनि हाम्रो देशको विकासमा लगाउँ। संसारको कुनाकाप्चमा पुगेर हामीले प्राप्त गरेको सीप या प्रविधिलाई हाम्रो देशको विकासमा लगाउँ। यसले मुलुकको काचुली फेर्न सघाउ पुर्याउँछ। सम्मृद्धि हासिल गर्न सघाउँछ,' उनले भने।
गैरआवासीय नेपाली र नेपाल उद्योग वाणिज्य महासंघको पारिवारिक सम्बन्ध रहेको बताउँदै ढकालले गैर आवासीय नेपालीहरुले नेपालमा लगानी गर्न चाहेमा महासंघको तर्फबाट सहजीकरण गर्न आफुहरु तयार रहेको बताए।