बुधबार, मंसिर १२ गते २०८१    
images
images

'सुनकोशी तेस्रो' जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार 

images
बुधबार, भदौ ८ २०७९
images
images
'सुनकोशी तेस्रो' जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधु प्रसाद भेटुवालले ऊर्जा क्षेत्रमा सहकार्यका लागि गठित संयन्त्रका बैठकले बंगलादेशसँगको विद्युत व्यापार र सुनकोशी तेस्रो आयोजनामा लगानीको विषयलाई टुङ्गो लगाउने बताए। 

images
images

काठमाडौं-  काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ ।

images
images
images

बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमान नेतृत्वको  टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले सोमबार आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको छ ।

images

अवलोकन भ्रमणपछि रामेछापको खाँडादेवी गाउँपालिकाको लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोशी तेस्रो लगायतका जलविद्युत आयोजना निर्माण अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताए। आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ ।

images

'दुई देशको लगानीमा पाइलट परियोजनाको रुपमा सुनकोशीलाई अगाडि बढाउन बंगलादेश तयार छ, आयोजनामा लगानीका लागि बंगलादेश इमानदार र गम्भीर छ' उनले भने। 

ऊर्जा क्षेत्रमा आपसी सहयोगका लागि गठित सचिव स्तरीय संयुक्त निर्देशक समिति र सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठकमा सुनकोशी आयोजनाका विषयमा विस्तृत छलफल गरेर ठोस निर्णय गरिने उनले बताए। संयुक्त कार्यदलको बुधबार र निर्देशक समितिको बैठक बिहीबार काठमाडौंमा हुनेछ।

२५ साउन २०७५ मा भएको संयुक्त कार्यदल र  निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत क्षेत्रमा सहकार्यका लागि ५ वटा जलविद्युत आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष गरेको थियो।  बैठकमा पहिलो चरणमा सुनकोशी तेस्रोलाई अगाडि बढाउन आयोजनाको संयुक्त रुपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधु प्रसाद भेटुवालले ऊर्जा क्षेत्रमा सहकार्यका लागि गठित संयन्त्रका बैठकले बंगलादेशसँगको विद्युत व्यापार र सुनकोशी तेस्रो आयोजनामा लगानीको विषयलाई टुङ्गो लगाउने बताए। 

सुनकोशी आयोजना नेपाल र बंगलादेशको लगानीमा निर्माण गरिने विषय प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्ता आयोजना दुई मुलुकबीच सहकार्य गरी निर्माण गरिनु पर्नेमा जोड दिए।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोशी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५ मा आयोजनाको पहिचान गरेको थियो । जाइकाले गरेको अध्ययनलाई सन् २०१४ मा अद्यावधिक गरिएको थियो ।

बीपी राजमार्गको नेपालथोकबाट करिब एक किलोमिटर रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिको सीमानामा पर्ने लुभुघाटमा १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिने छ । आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिन्छ । जसअनुसार, सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिने छ ।

वार्षिक रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युतमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुने छ ।


प्रकाशित : बुधबार, भदौ ८ २०७९०७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend