मंगलबार, असोज ८ गते २०८१    
images
images

फेसबुक ह्याक गर्दै रकम माग्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ ६ २०७९
images
images
फेसबुक ह्याक गर्दै रकम माग्दै

'फेसबुक ह्याक गरेर साथीभाइलाई पैसा पठाउन भन्ने र सो पैसा अन्यत्र डाइर्भट गरेर छिमेकी मुलुकलगायतबाट निकाल्ने गरेको पाइएको छ।'

images
images

कास्की- पोखरा महानगरपालिका-१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो। ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे।

images
images
images

यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको साथीले भनेपछि तुरुन्तै पठाइदिए। कुराकानीकै क्रममा मोबाइल बैंकिङ एप्स छ वा छैन? इसेवा चलाउनुहुन्छ कि हुँदैन भनेपछि उनले आफ्नो इसेवामा हाल पैसा नभएको जवाफ फर्काए। सोको एक घण्टापछि आचार्यलाई काठमाडौँका एक साथीले 'मैले पठाइदिएको २५ हजार पाउनुभयो?' भनेर भन्नासाथ उनी झसङ्ग भए। यसबीचमा आचार्यले कसैसँग पनि पैसा मागेका थिएनन्। साथीले आफ्नो म्यासेन्जरबाट अनुरोध गरेपछि पैसा पठाइएको बताएपछि उनी आफूलाई प्रयोग गरेर कसैले साथीलाई ठगेको निचोडमा पुगे। मोबाइलमा आएको कोड पठाएलगत्तै आफ्नो फेसबुक नियन्त्रणमा लिएर म्यासेन्जरबाट विभिन्न व्यक्तिसँग पैसा माग गरिएको आचार्यले बताए।

उनले भने, 'मोबाइलमा आएको लिङ्कको कोड दिएलगत्तै मेरो फेसबुक अकाउण्ट ह्याक गरी धेरै जनासँग पैसा मागिएको रहेछ। पछि साथीहरूले फोन गरेर पैसा पठाइदिएको छु भनेपछि मात्र ठगी गरिएको थाहा पाएँ।' आफन्त तथा चिनजानका व्यक्ति तीन जनाबाट ६५ हजार रुपैयाँ ठगी भएको उजुरी लिएर आचार्य आइतबार जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए।

उनीमात्र होइन, शनिबार मात्र पोखरामा एकैदिन छ जना बढी व्यक्ति फेसबुक आइडी ह्याक गरेर ठगिएको निवेदन लिएर प्रहरीकहाँ पुगेका थिए।

images

पोखरा-१८ सराङकोटका सुजन भण्डारीको अवस्था पनि उस्तै थियो। आफ्नो काका नाता पर्ने चेतनाथ भण्डारीको फेसबुक आइडीबाट शनिबार राति ११ बजेतिर इसेवाको पासवर्ड पठाउन भनेपछि उनले आफ्नै काकाले भनेपछि विश्वास गरेर दिए तर काकाको फेसबुक आइडी ह्याक गरिएको उनले भोलिपल्ट बिहान मात्र थाहा पाए।

भण्डारीले इसेवाको पासवर्ड दिएपछि उनको नम्बरमा विभिन्न व्यक्तिबाट एक लाख जम्मा भएको र लगत्तै सो रकम अन्यत्र पठाइएको पाइएको छ। आफन्त, चिनेजानेका व्यक्तिबाट फेसबुक म्यासेन्जरमा अनुरोध भएका आधारमा विश्वासमा परेर रकम पठाउने ठगिने क्रम पोखरामा बढेको हो। यसरी ठगिनेमा सर्वसाधारणमात्र होइन, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मीलगायत समाजका शिक्षित भनिएका व्यक्तिसमेत परेका छन्। विश्वासका आधारमा बुझ्दै नबुझी पैसा दिँदा ठगिने क्रम बढ्दो छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले साइबर अपराधका घटना सचेतनाको अभावमा बढ्दै गएको बताए। प्रविधि र सुविधाको विकाससँगै आर्थिक प्रलोभन र सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने क्रम बढेकाले उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्ममिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बरजस्ता विवरण अरूलाई उपलब्ध गराउन नहुने उनको भनाइ छ।

उनले भने, 'फेसबुक ह्याक गरेर साथीभाइलाई पैसा पठाउन भन्ने र सो पैसा अन्यत्र डाइर्भट गरेर छिमेकी मुलुकलगायतबाट निकाल्ने गरेको पाइएको छ। कसैलाई पैसा पठाउनुभन्दा अघि एकपटक फोन गरेर निश्चित हुनुपर्दछ। फेसबुक, भाइबर, म्यासेन्जरमा आग्रह गरेका आधारमा पैसा दिएका ठगिनुभएको छ।'

साइबर अपराधका घटनाबाट जोगिन व्यक्ति आफैँ सचेत बन्नुपर्ने उनले बताए। प्रनाउ तिवारीले भने 'आफ्ना व्यक्तिगत विवरण, बैंक वित्तीय संस्था र डिजिटल माध्यमका अकाउण्ट र पिन, कोडलगायत विवरण सुरक्षित राख्नुपर्छ।'

ठगी गर्नेले निरक्षर र ज्यालामजदुरी गर्ने व्यक्तिका विवरणका आधारमा नक्कली बैंक खाता र इसेवालगायतका आइडी खोल्ने र जो त्यस्ता घटनामा संलग्न हुन सक्दैनन् उनीहरूका खातामा पैसा गएको देखिने गरेकाले अनुसन्धान जटिल बन्ने गरेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा साइबर अपराधका दुई सय ९७ उजुरी परेका थिए। यसमा पुरुष एक सय २७ र महिला एक सय ७० ठगिएको उजुरी छ। त्यसैगरी गत साउन महिनामा मात्र २९ उजुरी परेका छन्। अनलाइनबाट ठगीका ३३, गाली बेइज्जत र अश्लिल कुराका ३८, फेक आइडी ९६ र सामाजिक सञ्जाल ह्याक गरेर ठगी गरिएका एक सय २६ उजुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, भदौ ६ २०७९०५:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend