बुधबार, मंसिर १२ गते २०८१    
images
images

अब अवरोध नभए उपत्यकाको फोहर व्यवस्थापन गर्न १० दिन लाग्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ३ २०७९
images
images
अब अवरोध नभए उपत्यकाको फोहर व्यवस्थापन गर्न १० दिन लाग्ने
फाइल तस्बिर

विना अवरोध नियमित फोहर व्यवस्थापन गर्न सकेको अवस्थामा सबै फोहर व्यवस्थापनमा १० दिन लाग्ने।

images
images

काठमाडौं- दुई महिनादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ।  पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन।  

images
images
images

सहरका चोक, गल्लीमा लामो समयदेखि फोहर थुप्रिएको छ। साविक बमोजिम फोहर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा सबै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए। 

images

उनका अनुसार अहिले पनि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा आठ हजार टिप्पर फोहर व्यवस्थापन गर्नुपर्ने छ। विना अवरोध नियमित फोहर व्यवस्थापन गर्न सकेको अवस्थामा सबै फोहर व्यवस्थापनमा सो समय लाग्नेछ। फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चार बुँदे सहमतिपछि बिहीबारबाट साविक बमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो। 

images

पछिल्लो सम्झौताअनुसार फोहरको गाडीबाट लिच्चड चुहाउन पाइने छैन। तर कामपासँग अहिले लिच्चड ट्याङ्क भएको ७५ टिपर छन्। ती टिपरले दैनिक दुई टिप गर्नेछन् भने एक सय ५० वटा लिच्चड ट्याङ्क भएका टिपर भाडामा लिएर प्रयोग गर्ने तयारी रहेको सचिवालय सदस्य लम्सालले बताए।

 सहमतिपछि बिहीबारबाट नै दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहर व्यवस्थापनको काम पनि सुरु भएको छ। उक्त स्थानमा पनि अझै पाँच सय टिपर फोहर रहेको बताइएको छ। लामो समयदेखि उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लान नपाएपछि कामपाले टेकुमा थुपारी प्लािस्टकले छोपेर राखेको थियो। हाल सञ्चालनमा रहेको फोहर बोक्ने टिपरको सङ्ख्यामा वृद्धि गरी केही दिनमा नै दैनिक तीन सय गाडीले फोहर विसर्जनको तयारी रहेको छ। 

अहिले उपत्यकाको विभिन्न स्थानमा अस्तव्यस्त रुपमा रहेको फोहरको विसर्जन हुने वित्तिकै त्यसपछि बञ्चरेडाँडामा लगिने सबै फोहर पूर्ण रुपमा वर्गीकरण भएर मात्रै लाने जनाइएको छ। घरबाट फोहर उठाउँदा स्रोतमै वर्गीकरण गर्ने विषयलाई महत्वका साथ हेर्ने र तोकिएको बारअनुसार फोहरको वर्गीकरण नभए यसअघि भनेझै कारबाही प्रक्रिया अघि बढाइने कामपाले चतावनी दिएको छ।  

लामो समयसम्म रोकिएको फोहर व्यवथापनको लागि नेपाल टिपर तथा ट्रक व्यवसायी समिति र समानान्तर निर्माण सेवालगायत संस्थाले काठमाडौँको फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लानका लागि निःशुल्क सेवा प्रदान गरेका छन्।  

 बिहीबार उक्त समितिले एक हजार आठ सय टिपर फोहर बोकेर ल्याण्डफिल साइट पुगेका थिए। समानान्तर निर्माण सेवाले पनि  पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिपर उपलब्ध गराएको समितिका सचिवालय सदस्य रत्नमणि पाठकले जानकारी दिए। फोहर व्यवस्थापनका लागि अवरोध गर्ने शृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै कामपाका प्रमुख साहले फोहर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा सबैले जोड दिन आवश्यक रहेको बताएका छन्। 

उपत्यकाको फोहर व्यवस्थापनको सवालमा सिसडोल, बञ्चरेडाँडाका स्थानीय बीच पटक पटक सहमति भएको छ। पटकपटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समय समयमा अवरोध गर्दै गर्दा काठमाडौँमा फोहरको डङ्गुर थुप्रने गरेको छ। स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता दीर्घकालिन नभएको भन्दै कामपाले अन्य स्थानमा फोहर व्यवस्थापन स्थान पहिचानको काम भने जारी राखेको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ ३ २०७९१४:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend