काठमाडौं- आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात भएको छ। अघिल्लो वर्षको तुलनामा आयातमा २४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। एक वर्षमा ३ खर्ब ८१ अर्ब रुपैयाँको आयात वृद्धि भएको छ।
आयातको वृद्धिदरलाई सरकारले पछिल्लो समय धान्नै नसक्ने भनिरहेको छ। आयातमा उच्च वृद्धि हुने तर विदेशी मुद्रा प्राप्तिका स्रोतमा खासै विस्तार नहुँदा मुलुकको भुक्तानी सन्तुलन निरन्तर ऋणात्मक भइरहेको छ। विदेशी मुद्राको सञ्चितिमा निरन्तर गिरावट हुँदै आएपछि सरकारले बैशाखदेखि निश्चित वस्तुको आयातमा रोक लगाएका थियो। यो प्रतिबन्धलाई भदौसम्म सारिएको छ।
अर्थतन्त्र चलायमान भएकाले माग सिर्जना भएको र सोही कारणले आयातमा वृद्धि भएको तर्क निजी क्षेत्रबाट आइरहेको छ। आयात हुने वस्तुको मात्राभन्दा मूल्यमा उच्च वृद्धि हुँदा त्यसको प्रभाव व्यापारघाटामा देखिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नेपाल आउने वस्तुको प्रति युनिट मूल्य अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले प्रकाशित गरेको इम्पोर्ट भ्यालु प्राइस इन्डेक्समा अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ। अर्थात् अघिल्लो वर्ष सय रुपैयाँमा आउने वस्तु यो वर्ष ११५ रुपैयाँ पुगेको छ।
कोरोना महामारीपछिको अवस्थामा बढेको उत्पादन तथा व्यापार लागत तथा पछिल्लो समय बढेको इन्धनको मूल्यका कारणले गर्दा यस्तो मूल्य सूचकमा वृद्धि भएको साउथ एसिया वाच अन ट्रेड एण्ड इन्भारमेन्टका कार्यकारी निर्देशक पारस खरेलको भनाइ छ।
अघिल्लो वर्षको तुलनामा २०७८/७९ मा २४ प्रतिशतले आयात बढेको छ। यो वृद्धिमा वस्तुको मात्राभन्दा ठूलो कारक मूल्यवृद्धि देखिएको छ। तर कोरोनाकालमा सुसुप्त रहेको माग गएको वर्ष सामान्य हुँदा धेरै देखिएको हुनसक्ने कतिपयको भनाइ छ।
अघिल्लो वर्ष यस्तो मूल्य सूचक जम्मा १.३ प्रतिशतले मात्र बढेको थियो।
आयातको युनिट मूल्यसूचक १५ प्रतिशतले बढ्दा नेपालबाट निर्यात हुने वस्तुको मूल्य सूचक भने जम्मा ९ प्रतिशतले बढेको छ। अर्थात् नेपालबाट बाहिरिनेभन्दा भित्रिने वस्तुको मूल्यवृद्धि उच्च देखिएको छ। अघिल्लो वर्ष भने आयातभन्दा निर्यातको मूल्यसूचकको वृद्धि उच्च थियो।
वस्तु विशेष तथ्यांक हेर्दा कूल आयातमा १५ प्रतिशत पेट्रोलियम पदार्थको हिस्सा छ। कूल आयातमा १५ प्रतिशत हिस्सा ओगट्ने पेट्रोलियम पदार्थकै आयातको वृद्धिदर सबैभन्दा धेरै देखिएको छ।
अघिल्लो वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयात ९० प्रतिशतले बढेको छ। अर्थात अघिल्लो वर्ष १ खर्ब ६० अर्बको पेट्रोलियम पदार्थ आयात भएकोमा गएको वर्ष ३ खर्ब ५ अर्बको आयात भएको छ। अर्थात् कूल १ खर्ब ४४ अर्बको आयात पेट्रोलियम पदार्थबाटै थपिएको छ। आयात बिलमा भएको वृद्धिको कूल ३७ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थकै छ। अर्थात् गएको एक वर्षमा जति आयात वृद्धि भयो त्यसको ३७ प्रतिशत पेट्रोलियम पदार्थबाट थपिएको थियो।
मूल्यमा पेट्रोलियम पदार्थको आयातको वृद्धिदर उच्च देखिएपनि मात्रामा भने उच्च वृद्धि देखिँदैन। विभागको तथ्यांक अनुसार डिजल २ प्रतिशत, पेट्रोल २४ प्रतिशत र खाना पकाउने ग्यासको मात्रा १२ प्रतिशतले मात्र बिक्री भएको छ।
पेट्रोलियम पदार्थको औसत मूल्यमा वृद्धि हुँदा मात्रा भन्दा मूल्यकै कारणले आयातको बिलमा देखिएको छ। गएको एक वर्षमा प्रति युनिट मूल्यमा डिजल ७८, पेट्रोल ७६ र खाना पकाउने ग्यास ६१ प्रतिशतले बढेको छ।
बजारमा सिर्जना भएको मागलेभन्दा पनि अन्तर्राष्ट्रिय मूल्यवृद्धिकै कारणले गर्दा आयातका लागि धेरै रकम बाहिरिएको यो तथ्यांकले देखाउँछ। पेट्रोलियम पदार्थसँगै फलाम, गाडीका पार्टपुर्जा तथा ग्याजेट्सको पनि मूल्यवृद्धि भएको छ। समग्रमा धेरै आयात हुने सामग्रीको मात्राभन्दा पनि मूल्यवृद्धिका कारणले आयातमा उच्च वृद्धि देखिएको छ।
गएको वर्ष व्यापार घाटा २३ प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ। अघिल्लो वर्ष १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँको व्यापार घाटा थियो।
गएको वर्ष कूल वैदेशिक व्यापार २६ प्रतिशतले बढेर २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ बराबरको पुगेको छ। अघिल्लो वर्ष यस्तो आँकडा १६ खर्ब ८० अर्ब रुपैयाँको थियो।